मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०७९ पौष ६ बुधबार १८:०१:००
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

‘हत्या आरोपी’ रिहाइ हुने आशंकामा अदालत घेराउ गर्दै नाराबाजी 

Read Time : > 1 मिनेट
२०७९ पौष ६ बुधबार १८:०१:००

हत्याको आरोपमा पक्राउ परेकालाई अदालतले रिहाइ गर्न खोजेको भन्दै पीडित परिवारसहित स्थानीयवासीले जिल्ला अदालत सिराहा घेराउ गरी नाराबाजी गरेका छन्।

गत मंसिर ९ मा सिराहाको बरियारपट्टी गाउँपालिका– १ नरगीका श्यामदेव यादवका ३० वर्षीय रामशंकर यादवको कुटपिटबाट मृत्यु भएको थियो।

त्यस घटनामा संलग्न रहेका बरियारपट्टी गाउँपालिका– १ नरगीका अजय साह र बडहरीका दीप यादवलाई जिल्ला अदालत सिराहाले छाड्न लागेको भन्दै पीडित परिवार र स्थानीय गाउँलेले अदालत घेराउसँगै दुई घन्टासम्म नाराबाजी गरेका छन्। 

 

अदालतको मुख्य गेटमा धर्ना बस्दै उनीहरूले चर्को नाराबाजीसहित हत्यारालाई रिहा गर्न नहुने र पीडित परिवारले न्याय पाउनुपर्ने माग गरेका छन्।

न्याय नदिए र दोषीलाई रिहा गरे आफूहरू त्यसको विरोधमा उत्रिने भन्दै स्थानीय गाउँलेले अदालतअगाडि धर्ना र प्रदर्शन गरेका छन्। 

प्रहरी प्रशासनले आर्थिक लाभ लिएर दोषीलाई उन्मुक्ति दिन सक्ने भन्दै खबरदारी गर्न आफूहरू प्रदर्शनमा उत्रिएको मृतकका बुबा श्यामदेव यादवले बताए। 

जिल्ला अदालत सिराहाका श्रेस्तेदार जगदीश भट्टाराईले ज्यानसम्बन्धी कसुरमा थुनछेक बहस सुरु भएको र आवश्यक प्रमाणका आधारमा धरौटी, साधारण तारेख वा पुर्पक्षका लागि कारागार पठाइने बताएका छन्।

जिल्ला अदालत सिराहाको इजलास नम्बर २ मा न्यायाधीश लीलाराज अधिकारीले आवश्यक प्रमाणका आधारमा आदेश गर्ने श्रेस्तेदार भट्टराईले बताए।

कसरी भयो घटना ?

मंसिर ४ मा प्रतिनिधिसभा तथा प्रदेश सभाको निर्वाचन सकिएर मतगणना जारी रहेको थियो। मंसिर ९ मा हत्या आरोपमा पक्राउ परेका दीपु यादवका भाइ डम्बर यादवले खाजा खान मृतक यादवलाई फोन गरी बोलाएका थिए। दुवैजना मोटरसाइकलमा नवराजपुर गाउँपालिका–  ५ सुन्दरपुरमा रहेको एक होटेलमा पुगेर खाजासँगै मदिरा सेवन गरेका थिए। 

त्यसपछि डम्बर यादवले आफूलाई घर छाडिदिन भनेपछि मृतक यादवले बडहरीस्थित डम्बरको घर पुग्यो। त्यहाँबाट पुनः डम्बरले नेपाल–भारत सीमाछेउमा रहेको आफ्नो मदिरा पसलमा जान आग्रह गरेका थिए। 

सीमाछेउका मदिरा पसल यादवका दाजु दीपु र नरगीका अजय साहको संयुक्त लगानीमा सञ्चालनमा छ। त्यहीँ पसलमा मदिरा सेवनकै क्रममा मृतक यादवलाई निर्घाट कुटपिट गरिएको थियो। 

त्यसपछि नरगीमा रहेको आफ्नो नयाँ घरमा ल्याएर पुनः कुटपिट गरेपछि उनको मृत्यु भएको थियो। त्यस घटनालाई मोटरसाइकल दुर्घटनामा परिणत गर्न यादवले भरपूर कोसिस गरेका छन्। स्थानीयका दबाबपछि प्रहरी त्यस घटनामा संलग्न रहेको भन्दै अजय र दीपुलाई पक्राउ गरेको छ। 

दीपुको ‘रेडर्क’ पराधिक प्रवृत्तिकाे

प्रहरी र स्थानीय अनुसार हत्या आरोपमा पक्राउ परेका ४६ वर्षिय दीपु यादवको रेकर्ड खराब छ। सीमामा मदिरा पसल र गोदाम राखेको उनले नेपालबाट ठूलो परिमाणमा मदिरा भारत तस्करी गर्दै आएका छन्। 

स्थानीय नेपाल प्रहरी, सशस्त्र प्रहरी र भारतीय एसएसबीलाई पनि आर्थिक प्रलोभनमा राख्दै निर्वाध रूपमा मदिराको तस्करी गर्दै आएको स्थानीय अगुवा अशोक यादवको भनाइ छ।

१० वर्षअघि आफ्नै श्रीमती फूलोदेवीको पनि हत्या गरेको स्थानीयवासीको भनाइ छ। श्रीमतीलाई कुटपिट गरी हत्या गरी झुन्ड्याएको र स्थानीय प्रहरीलाई मोटो रकम दिई घटना लुकाएको स्थानीयवासीले बताएका छन्। 

यस्तै गाउँका एक दलित समुदाय सुकदेव सदायको छोरा रामदेव सदायको पनि कुटपिट गरी हत्या गर्दै झुन्ड्याएका थिए। आफ्नै श्रीमतीसँग अवैध सम्बन्ध रहेको जानकारी पाएपछि गुनासो गरेका सदायलाई उनले कुटपिट गरी हत्या गरेका थिए। त्यस घटनालाई पनि यादवले ढाकछोप गर्न सफल भएका थिए। 

त्यसपछि आफ्नै भारतीय मदिरा कारोबारका साझेदार एकजनालाई हत्या गरी सीमाछेउकै सरस्वती नदीमा शव फालिएको थियो। हत्या गरी शव तीन दिन आफ्नै कोठामा राखेर गत वर्षको इन्द्रपूजामा नदीमा शव फालेको स्थानीयवासीले बताएका छन्।

तस्बिर : सुरेन्द्रकुमार कामती/ नयाँ पत्रिका