मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ५ बुधबार
  • Wednesday, 17 April, 2024
शिवहरि घिमिरे काठमाडाैं
२०७९ पौष ५ मंगलबार ०८:०८:००
Read Time : > 1 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

महानगरमा थपिए निजी कम्पनीमार्फत नगर प्रहरी 

Read Time : > 1 मिनेट
शिवहरि घिमिरे, काठमाडाैं
२०७९ पौष ५ मंगलबार ०८:०८:००

मासिक २० हजार सात सय तलब, १३ हजार पोसाक भत्ता, रासन तथा आवास

काठमाडौं महानगरपालिकामा कार्यरत नगर प्रहरी संख्या वृद्धि गरिएको छ । महानगरपालिकाले निजी सेक्युरिटी कम्पनी ‘युनिक सेक्युरिटी’मार्फत एक सय ६२ जना नगर प्रहरी अस्थायी रूपमा थप गरेको हो । 

सक्रिय जनशक्ति थप गरेका हौँ : राजुनाथ पाण्डे, नगर प्रहरी प्रमुख, कामपा 
हामीले महानगरको सुरक्षामा आवश्यक सुरक्षाकर्मी निजी कम्पनीमार्फत थप गरेका छौँ । सयजना कम्पनीले पठाइसकेको छ । बाँकी ६२ जना तोकिएको मापदण्डअनुसार अझै पठाएको छैन । महानगरमा खट्न सक्ने जनशक्ति हामीले माग गरेका हौँ ।

नगर प्रहरी संख्या कम भएकाले महानगरभित्र काम गर्न कठिन भएपछि महानगर प्रमुख बालेन्द्र साहले हाललाई अस्थायी रूपमा नगर प्रहरी थप गरेका हुन् । भूपू सेना तथा प्रहरीलाई निजी कम्पनीमार्फत नगर प्रहरीका रूपमा राखिएको महानगरका नगर प्रहरी प्रमुख एसपी राजुनाथ पाण्डेले जानकारी दिए । उनका अनुसार सयजना कम्पनीले पठाइसकेको र उनीहरूलाई फिल्डमा समेत खटाउन थालिएको छ । ६२ जना भने कम्पनीले अझै नपठाएको पाण्डेले बताए । ‘माग र मापदण्डअनुसार कम्पनीले केही संख्यामा नगर प्रहरी पठायो, तर ६२ जना अझै पठाउन बाँकी छ,’ उनले भने, ‘तोकेअनुसारको मापदण्डभित्र नरहेका व्यक्ति पठाउन खोजेपछि हामीले केहीलाई फर्काएका पनि छौँ ।’ 

नेपाल प्रहरी, सशस्त्र प्रहरी र सेनालका भूतपूर्व सुरक्षाकर्मीलाई सेक्युरिटीका रूपमा पठाउन सेक्युरिटी कम्पनी र महानगरबीच सहमति भएको थियो । सहमतिअनुसार पुरुषको हकमा ४० वर्ष नकटेको र महिलाको हकमा ४५ वर्ष नकटेको तोकिएको छ । तर, कम्पनीले सयजना मागअनुसार पठाए पनि अन्य तोकिएभन्दा फरक पठाउन खोजेपछि रोकेको नगर प्रहरी प्रमुख पाण्डेको भनाइ छ । 

नगर प्रहरीका लागि तलब तथा अन्य सेवा–सुविधा महानगरले नै उपलब्ध गराउनेछ । उनीहरूले नगर प्रहरी जवानलाई दिइनेसरह तलब सुविधा पाउनेछन् । महानगरले उनीहरूलाई मासिक २० हजार सात सय तलब, वार्षिक १३ हजार पोसाक भत्ता र रासन तथा आवास दिने सम्झौता गरेको छ । उनीहरूलाई दिने यो तलब सुविधा सामान्य सेक्युरिटीलाई दिने भन्दा धेरै हो ।

तीन सय ३३ पुग्दै नगर प्रहरी

काठमाडौं महानगरमा हाल स्थायी नगर प्रहरी एक सय ७१ जना छन् । यसमध्ये पनि सक्रिय रूपमा खट्न सक्ने निकै कम छन् । यही कारण महानगरले एक सय ६२ जना अस्थायी नगर प्रहरी थप्न लागेको हो । यो पक्रिया पूरा भएपछि नगर प्रहरी संख्या तीन सय ३३ पुग्नेछ ।

काठमाडौं महानगरअन्तर्गतको प्रहरी विभिन्न चार युनिटमा विभाजित छ । टेकु, मीनभवन, बागदरबार, कपनबाट नगर प्रहरीले क्षेत्रअनुसार काम गर्छ । क्षेत्र छुट्याएर नगर प्रहरी परिचालन गर्दा संख्या निकै कम भएको भन्दै अस्थायी रूपमा तत्कालका लागि नयाँ प्रहरी भर्ना गरिएको हो । नगर प्रहरीका रूपमा राखिएका सेक्युरिटीलाई अन्य नगर प्रहरीसरह नै खटाइनेछ । खासगरी काठमाडौं महानगरभित्र रहेका भित्री गल्लीहरू र चोकमा नगर प्रहरी परिचालन गर्न संख्या अपुग भएपछि महानगरले तत्कालका लागि निजी कम्पनीमार्फत नगर प्र्रहरी थप गरेको हो ।  

गत वैशाखमा भएको स्थानीय निर्वाचनमा निर्वाचित कामपाका मेयर साहले नगर प्रहरी र उसको भूमिका सच्याउन कमान्डर चेन्ज गरेका थिए । यसअघिका नेतृत्व डिएसपी धनपति सापकोटालाई हटाएर उनीसँगै भर्ना भएका डिएसपी राजुनाथ पाण्डेलाई एसपीमा बढुवा गरेर नगर प्रहरीको जिम्मा दिएका थिए । पाण्डेले नेतृत्व सम्हालेपछि नगर प्रहरीले थप कडाइ गर्न थालेको थियो ।