मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
नयाँ पत्रिका काठमाडौं
२०७९ पौष ४ सोमबार १३:२९:००
Read Time : > 1 मिनेट
सप्तरंग डिजिटल संस्करण

सामाजिक मुद्दा उठाउन मानव अधिकार चलचित्र महोत्सव : पाण्डव खत्री [अन्तर्वार्ता]

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ पौष ४ सोमबार १३:२९:००

नेपाल मानव अधिकार अन्तर्राष्ट्रिय चलचित्र महोत्सवको १०औँ संस्करण नेपाल पर्यटन बोर्डमा जारी छ। सामाजिक न्याय र मानव अधिकारलाई प्रश्रय गर्ने उद्देश्यले आइतबारदेखि सुरु महोत्सव ६ पुससम्म चल्नेछ।

चलचित्रकर्मी र मानव अधिकारको क्षेत्रमा क्रियाशील व्यक्तित्वहरूका लागि चलचित्रको माध्यमबाट छलफल तथा अन्तर्क्रिया गर्ने महत्वपूर्ण मञ्च रहेको महोत्सवका निर्देशक पाण्डव खत्री बताउँछन्। फिल्मप्रति चासो राख्ने दर्शकको महोत्सवमा आकर्षण देखिएको बताउने खत्रीसँग नयाँ पत्रिकाले गरेको कुराकानीको सम्पादित अंशः

महोत्सवमा कस्ता चलचित्रले प्राथमिकता पाएका छन् ? 
यसपटक चलचित्र महोत्सवको मुख्य ‘थिम’ जलवायु परिवर्तन पर्यावरणीय न्याय हो । त्यसैले यस महोत्सवमा यही थिमअन्तर्गतका सिनेमा विशेष प्राथमिकतामा परेका छन्। त्यसबाहेक मानव अधिकारसँग सम्बन्धित अन्य सिनेमा पनि छन्, जसमा आप्रवासन र लैंगिक समानताका विषय समेटिएका छन्।

महोत्सवमा कति आवेदन परेका थिए र चलचित्र कसरी छानिए ? 
विश्वभरिबाट झन्डै दुई हजार पाँच सय सिनेमा प्राप्त भएका थिए। ती सिनेमा छनाेट गर्न एक समिति बनाइएको थियो। छनाेट समितिले मानव अधिकारसँग सम्बन्धित र नेपाली परिप्रेक्ष्यसँग मिल्ने विषयका सिनेमा छनाेट गरेको छ। त्यति धेरै सिनेमाबाट ६४ वटा सिनेमा छान्न समितिले निकै मिहिनेत गरेको छ।

अघिल्लो महोत्सव भर्चुअल रूपमा भयो। त्यसवेला कपितय फिल्म सबै दर्शकले हेर्न पाएनन्। यसपटकको तयारी कस्तो छ ? 
कोभिड– १९ को कारण पछिल्ला दुई महोत्सव भौतिक रूपमा गर्न पाइएन । हाम्रो महोत्वस कुरेर बसेका धेरै दर्शकलाई त्यसवेला गरिएको भर्चुअल महोत्सवमा समेट्न सकिएन। त्यसैले यसपटक भौतिक रूपमा महोत्वस आयोजना गर्न पाउँदा निकै उत्साहित भएका छौँ। यसपटक पनि भौतिक रूपमा गर्न पाइने हो कि होइन निश्चित नहुँदा अपेक्षित तयारी हुन सकेन। तर, अन्तिम समयमा भए पनि सम्पूर्ण तयारी गरेर महोत्सव आयोजना गरेका छौँ। विभिन्न १२ देशका फिल्ममेकर यसपटक फेस्टिभलमा आइसक्नुभएको छ। नेपाली सिनेमामेकर र विदेशी सिनेमामेकरबीच नेटवर्किङका लागि पनि यो फेस्टिभल महत्वपूर्ण हुँदै छ।

महोत्सवमा जुरी को–को छन् ?
यसपटक तीन विदेशी जुरी र एक नेपाली जुरीसहितको टोलीले विजेता सिनेमाको छनाेट गर्नेछ। नेपालबाट कान्स फेस्टिभलमा अवार्ड विजेता ‘लोरी’का निर्देशक अभिनाशविक्रम शाह जुरी हुनुहुन्छ। विदेशी जुरीमा इजरायलकी सिनेमाकर्मी र विभिन्न पुरस्कारले सम्मानित पटकथा लेखक ओसरा स्वार्च्ज हुनुहुन्छ। त्यस्तै नेटफिलिक्सको चर्चित सिरिज इन्डियन प्रेडिएटरका लेखक तथा डक्युमेन्ट्री मेकर अनिर्वान भट्टाचार्य र दक्षिण कोरियाकी सिनेमा अभियन्ता सु–ली दिलबर हुनुहुन्छ।

हरेक वर्ष महोत्सव आयोजना गर्न कति सहज छ ?
हामी अहिले १०औँ महोत्सवमा आइसकेका छौँ। विभिन्न बाधा–अड्चनबीच १०औँ महोत्वससम्म पुग्नु सजिलो थिएन। विशेष विधा मानव अधिकारअन्तर्गत महोत्वस हुने भएर हामीलाई थप चुनौती पनि छ। हरेक वर्ष महोत्सवका लागि आर्थिक सहयोग जुटाउनु निकै चुनौती हुन्छ। यसपटक पनि चुनौती प्रसस्तै छन्। अझै पनि आवश्यक आर्थिक सहयोग जुटाउन सकिएको छैन। राज्यले नै यसरी निरन्तर चलिरहेका महोत्सवहरूलाई ग्रहण गरेर राज्यको वार्षिक कार्यक्रममा नै राखे केही सहज हुन्थ्यो होला। निरन्तर १० वर्ष चल्दै आएको महोत्सव जुन अन्तर्राष्ट्रिय रूपमा समेत चर्चित छ, यसलाई राज्यले अपनत्व ग्रहण गर्नुपर्ने हो। महोत्सवलाई निरन्तर अगाडि बढाउन सबै क्षेत्रको सहयोग आवश्यक हुन्छ। जुन अपेक्षित रूपमा पाउन सकिएको छैन।