१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
२०७९ पौष ४ सोमबार ०९:१२:००
Read Time : > 3 मिनेट
विश्व प्रिन्ट संस्करण

ताइवानमा न्यून जन्मदरका कारण सैन्य भर्तीमै समस्या 

Read Time : > 3 मिनेट
२०७९ पौष ४ सोमबार ०९:१२:००

चीनको आक्रमणको त्रास बढ्दै गएको समयमा ताइवानले भर्तीयोग्य युवाको संख्यामा कमी साक्षात्कार गरेको छ  

ताइवान अहिले आफ्नो रक्षा योजनामा एउटा गम्भीर छिद्रको साक्षात्कार गरिरहेको छ र त्यो लगातार फराकिलो हुँदै छ । यो समस्या सैन्य बजेटमा वृद्धि वा थप हतियार खरिदबाट समाधान गर्न सकिने समस्या होइन । दुई करोड ३५ लाख जनसंख्या भएको ताइवानले आफ्नो सैन्य लक्ष्य पूरा गर्न पर्याप्त सैनिक भर्तीका लागि युवाहरूको बढ्दो अभावको सामना गर्न थालेको छ । ताइवानको गृह मन्त्रालयका अनुसार यो समस्याको मूल कारण नै यहाँको न्यून जन्मदर हो ।

ताइवानको गृह मन्त्रालयले पहिलोपटक सन् २०२० मा जनसंख्या घट्न थालेको चेतावनी दिएको थियो । जनसंख्यामा आएको कमीलाई मध्यनजर गर्दै उसले सन् २०२२ को सैन्य भर्ती दशककै न्यून हुन सक्ने र युवाको संख्यामा निरन्तर गिरावटले भविष्यमा गम्भीर चुनौती खडा गर्न सक्ने पनि चेतावनी दिएको थियो ।

चीनको कुनै पनि सम्भावित आक्रमणलाई रोक्न आफ्नो सेनालाई बलियो बनाउने प्रयास गरिरहेको ताइवानका लागि यो राम्रो खबर होइन । चिनियाँ सत्तारूढ कम्युनिस्ट पार्टीले ताइवानलाई आवश्यक परे बल प्रयोग गरेरै भए पनि मुख्य भूमिसँग एकीकरण गराइछाड्ने दृढता व्यक्त गरिरहेको सन्दर्भमा न्यून जन्मदर ताइवानका लागि थप समस्या बनेको छ । 

ताइवानको राष्ट्रिय विकास परिषद्को नयाँ प्रतिवेदनले सन् २०३५ मा भर्तीयोग्य जनसंख्या सन् २०२१ को भन्दा २० हजार कम हुने प्रक्षेपण गरेको छ । ताइवानको सबैभन्दा कम जन्मदर दर्ज भएको सन् २०२१ मा एक लाख ५३ हजार आठ सय २० बच्चा जन्मिएका थिए । सन् २०३५ सम्ममा ताइवानले विश्वकै कम जन्मदरको दक्षिण कोरियाको कीर्तिमानीलाई उछिन्ने पनि प्रतिवेदनमा उल्लेख छ ।

न्यून जन्मदरको प्रक्षेपणले नागरिकले दिनुपर्ने अनिवार्य सैन्य सेवाको अवधि बढाउने बहसलाई बढाएको छ । ताइवानमा सम्पूर्ण योग्य पुरुषले जगेडा सैनिकका रूपमा चार महिनाको सैन्य तालिम पूरा गर्छन् । अहिले ताइवानसँग व्यावसायिक सेनाको संख्या एक लाख ६२ हजार छ । प्रतिवेदनअनुसार यो रक्षा मन्त्रालयले अपेक्षा गरेभन्दा सात हजार कम हो । 

सन् २०१८ यता ताइवान अनिवार्य सैन्य सेवा अवधि र भर्ती संख्या दुवै कटौतीको प्रयासमा थियो । यसर्थ, अनिवार्य सैन्य सेवाको अवधिमा परिवर्तन ताइवानको ठूलो युटर्न हुनेछ । बुधबार रक्षामन्त्री चियु कुओ–चेङले यसबारेका योजना केही दिनमै सार्वजनिक गरिने बताएका छन् । ताइवानिज पब्लिक ओपिनियन फाउन्डेसनले गत मार्चमा गरेको एउटा सर्वेक्षणमा अधिकांश ताइवानीले सेवा अवधि बढाउने प्रस्तावमा सहमति जनाएका थिए । सहभागीमध्ये ७६ प्रतिशतले अनिवार्य सैन्य सेवाको अवधि एक वर्ष बढाउनु उचित हुने बताएका थिए भने १७ प्रतिशतले वृद्धिको विरोध गरेका थिए ।

ताइवानको इन्स्टिच्युट फर नेसनल डिफेन्स एन्ड सेक्युरिटी रिसर्चका निर्देशक सु जु–युन सन् २०१६ अघिसम्म सेनामा (व्यावसायिक वा जगेडाका रूपमा) भर्तीयोग्य युवाहरूको संख्या करिब एक लाख १० हजार हुने गथ्र्याे । त्यसयता यो संख्या हरेक वर्ष घट्दै गएको छ । सन् २०२५ सम्ममा यो संख्या घटेर ७४ हजारभन्दा कम हुने उनको भनाइ छ ।

उनका अनुसार अर्काे दशकसम्ममा ताइवानी सैन्य भर्तीका लागि उपलब्ध युवाहरूको संख्या एकतिहाइले घट्न सक्छ । ‘यो हाम्रा लागि राष्ट्रिय सुरक्षाकै विषय हो’, उनी भन्छन्, ‘भर्नायोग्य युवाको संख्या घट्दो छ । हामी चीनबाट बढ्दो रूपमा खतराको सामना गरिरहेका छौँ । त्यसैले, अहिले हामीलाई थप हातहतियार र सैन्यबल चाहिएको छ ।’

समस्या भर्तीमा मात्र होइन
घट्दो जन्मदरले सैन्य भर्तीमा मात्रै अभाव सिर्जना गरेको छैन । युवा जनसंख्यामा गिरावटले यो टापुको रक्षाको मुख्य स्तम्भका रूपमा रहेको ताइवानको अर्थव्यवस्थाको दीर्घकालीन प्रदर्शनलाई समेत खतरामा पार्न सक्छ । लन्डन आधारित सेन्टर फर इकोनोमिक्स एन्ड बिजनेस रिसर्चका अनुसार ताइवान विश्वको २१औँ ठूलो अर्थतन्त्र हो । ताइवानको जिडिपी गत वर्ष ६ खर्ब ६८ अर्ब ५१ करोड डलर थियो । ताइवानको अर्थतन्त्रमा सेमिकन्डक्टर आपूर्तिको भूमिका मुख्य छ । ताइवानी सेमिकन्डक्टर ज्वायन्ट टिएसएमसी विश्व अर्थतन्त्रका साथै चीनसमेतका लागि उत्तिकै मूल्यवान् मानिन्छ । टिएसएमसीलाई बेइजिङको सम्भावित आक्रमणविरुद्ध सिलिकन सिल्ड (रक्षाकवच)का रूपमा लिने गरिन्छ ।

यसका कारण ताइवानलाई पश्चिमको निकै ठूलो साथ र भरोसा मिलेको छ । ली जनसंख्याको स्तर कुल गार्हस्थ्य उत्पादनसँग घनिष्ठ रूपले गाँसिएको हुन्छ भन्छन् । जनसंख्या दुई लाखले घट्दा जिडिपीमा ०.४ प्रतिशले गिरावट आउन सक्ने उनको बुझाइ छ । ताइवान सरकारले नागरिकहरूलाई धेरै बच्चा जन्माउन प्रेरित गर्न थुप्रै उपाय लगाइरहेको छ, तर सफलता अपेक्षित छैन । उसले अविभावकलाई पहिलो बच्चाका निम्ति मासिक १६१ डलर भत्ता दिन्छ भने प्रत्येक थप बच्चाका लागि भत्ता बढाउँदै लग्ने विधि अपनाएको छ । गत वर्षदेखि गर्भवती महिलाले प्रसूति जाँचका लागि थप सात दिन बिदा पाउन थालेका छन् । सैन्यबाहेकका क्षेत्रमा श्रम आपूर्तिका निम्ति आप्रवासी कामदारलाई प्रोत्साहन गरिरहेको छ । गत वर्ष ताइवानमा आप्रवासी कामदारको संख्या ६ लाख ७० हजार थियो । 

के यो ताइवानकै मात्र समस्या हो ? 
ताइवानको न्यून जन्मदर जनसंख्यालाई स्थिर राख्न चाहिने २.१ को दरभन्दा निकै कम अर्थात् ०.९८ छ । यद्यपि, यो दक्षिण कोरियाको जति न्यून पनि होइन । आफ्नै पूर्ववर्ती कीर्तिमानी तोड्दै दक्षिण कोरियाको औसत प्रजननदर नोभेम्बरबाट ०.७९ मा झरेको छ । जापानको ताइवानको भन्दा केही बढी १.३ र चीनको १.१५ रहेको छ । 

तर, ताइवानको आकार र चुनौतीका हिसाबले यो दर उसका लागि निकै गम्भीर सैन्य समस्याका रूपमा देखा पर्न थालेको छ । अमेरिकी सभामुख न्यान्सी पेलोसीले अगस्टमा ताइवान भ्रमण गरेपछि चीन थप आक्रामक भएको छ । उनको भ्रमण लगत्तै चीनले यो टापुलाई घेर्दै अभूतपूर्व सैन्य अभ्यास नै गरेको थियो । अक्टोबरमा भएको चिनियाँ कम्युनिस्ट पार्टीको अधिवेशनमा राष्ट्रपति सी जिनपिङले एकीकरण अनिवार्य भएको र यसका लागि सबै विकल्प खुला राखेको बताए । त्यसयता चिनियाँ सैन्य विमानहरूले ताइवानको हवाई क्षेत्र अतिक्रमण गर्ने क्रम निकै बढेको छ । ताइवानी वायुसेनाका पूर्वउपकमान्डर चाङ यान–तिङ अभूतपूर्व खतराको सामना गरिरहेको समयमा झर्दाे जन्मदरले परिस्थितिलाई थप गम्भीर बनाएकोे बताउँछन् ।

– सिएनएन