Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
एजेन्सी दोहा
२०७९ पौष ४ सोमबार ०७:२२:००
Read Time : > 2 मिनेट
खेलकुद प्रिन्ट संस्करण

अर्जेन्टिनालाई तेस्रोपटक विश्वकप

Read Time : > 2 मिनेट
एजेन्सी दोहा
२०७९ पौष ४ सोमबार ०७:२२:००

अर्जेन्टिनाले साबिक विजेता फ्रान्सलाई टाइब्रेकरमा ४–२ ले पराजित गर्दै कतार फिफा विश्वकप २०२२ को उपाधि जितेको छ । सन् १९८६ पछि अर्जेन्टिनाले विश्वकप ट्रफी उचालेको हो । दोहाको लुसेन रंगशालामा भएको फाइनल खेलको निर्धारित ९० मिनेट र अतिरिक्त ३० मिनेटको प्रतिस्पर्धाको खेल ३–३ को बराबरीमा सकिएको थियो । टाइब्रेकरमा अर्जेन्टिनी गोलरक्षक मार्टिनेजले किंग्स्ले कोमान र ओरेलिन चुआमेनीको पेनाल्टी छेकेका थिए । फाइनल खेल रोमाञ्चक र नाटकीय रूपमा सम्पन्न भयो । 

फ्रान्सका युवा स्ट्राइकर केलियन एम्बाप्पेले फाइनलमा ह्याट्रिक गरे । विश्वकप फुटबलको फाइनलमा ह्याट्रिक गर्ने एम्बाप्पे दोस्रो खेलाडी हुन् । यसअघि सन् १९६६ को फाइनलमा पश्चिम जर्मनीलाई ४–२ ले हराउँदा इंग्ल्यान्डका जिओफ हुट्र्सले ह्याट्रिक गरेका थिए । हुट्र्सको हयाट्रिकको ५२ वर्षपछि एम्बाप्पेले ह्याट्रिक लगाएका हुन् । रोमाञ्चक फाइनलमा अर्जेन्टिनी कप्तान लियोनल मेसी र फ्रान्सका एम्बाप्पे छाएका थिए । फ्रान्सले खेल टाइब्रकेरसम्म धकेल्न एम्बाप्पेकै योगदान अधिक रह्यो । 

अर्जेन्टिनाले तीनपटकसम्मको अग्रता लिँदा पनि एम्बाप्पले नै तीनैपटक बराबरी गोल फर्काएका थिए । प्रतिस्पर्धामा केवल दुई मिनेटको अन्तरमा एम्बाप्पले दुई गोल फर्काउँदै फ्रान्सलाई २–२ को बराबरीमा ल्याउँदै उपाधिको आशा जीवितै बनाए । यसअघि खेलको ७९औँ मिनेटसम्म अर्जेन्टिना २–० को बलियो स्थितिमा थियो । खेलको ८०औँ मिनेटमा एम्बाप्पेले पेनाल्टीमा गोल गर्दै फ्रान्सलाई २–१ को गोलअन्तरमा ल्याए । 

निकोलस अ‍ोटामेन्डीले डिबक्सभित्र फ्रान्सका रान्डाल कोलो मुआनीलाई लडाएका थिए । एम्बाप्पेले अर्जेन्टिनी गोलरक्षक एमिलियानो मार्टिनेज डाइभ गरेकै दिशामा गोल गरे । त्यसको एक मिनेटभित्र नै फ्रान्सले काउन्टर एट्याक्ट गर्‍यो । एम्बाप्पेले डिबक्सभित्रबाट बायाँ खुट्टाले दोस्रो बारमा उत्कृष्ट गोल गर्दै फ्रान्सलाई २–२ को बराबरीमा ल्याए । उनले थुरामको उत्कृष्ट क्रसमा बराबरी गोल फर्काए । 

भव्य रूपमा कतार विश्वकप समापन

पहिलोपटक मध्यपूर्वी एसियाली राष्ट्र कतारले आयोजना गरेको २२औँ संस्करणको विश्वकप २०२२ भव्य रूपमा समापन भएको छ । कतारले आइतबार विश्वकपको समापनसँगै राष्ट्रिय दिवस पनि मनायो ।

लुसेल रंगशालामा फ्रान्स र अर्जेन्टिनाबीचको उपाधि भिडन्तअघि समापन कार्यक्रम आयोजना भएको थियो । लगभग ४ मंसिरमा आयोजक कतार र इक्वेडरबीचको खेलसँगै विश्वकप सुरु भएको थियो । एक महिनासम्म चलेको फुटबलको महाकुम्भ मेलाको समापन डेभिडो र इसाले ‘कतार विश्वकपको हैया हैया’ गीतमा प्रस्तुति गरे । यसैगरी, ओजुना र जिम्सले प्रस्तुति दिए ।

सांस्कृतिक कार्यक्रममा क्यानेडियन गायिका तथा नायिका नोरा फतेहीले समेत प्रस्तुति दिइन् । ४ मंसिरमा अल बायत रंगशालामा विश्वकपको उद्घाटन भएको थियो । त्यसवेला फ्रान्सका लिजेन्ड मार्सेल डिसैलीले विश्वकप ट्रफी सार्वजनिक गरेका थिए । एसियाली क्षेत्रमा यो दोस्रोपटक विश्वकप आयोजना भएको हो । यसअघि सन् २००२ मा दक्षिण कोरिया र जापानले संयुक्त रूपमा विश्वकप आयोजना गरेका थिए । सो विश्वकपमा ब्राजिलले कीर्तिमानी रूपमा पाँचौँपटक विश्वकप ट्रफी उचाल्यो । 

सन् २०१० मा कतारले विश्वकप आयोजना गर्न अधिकार प्राप्त गरेको थियो । तत्कालीन फिफा अध्यक्ष सेप ब्लाटरले निकै विवादास्पद रूपमा कतारलाई विश्वकप आयोजक राष्ट्रको घोषणा गरेका थिए । विश्वकपका लागि कतारले २ खर्ब २० अर्ब अमेरिकी डलर खर्च गरेको थियो । विश्वकपको उद्घाटन समारोहमा कोरियाली ब्यान्ड बिटिएस स्टार जोङ कुकले प्रस्तुति दिएका थिए । 

एम्बाप्पेको ह्याट्रिक

अर्जेन्टिनाले पहिलो हाफमा कप्तान मेसी र एन्जल डी मारियाको गोलमा २–० को अग्रता लिएको थियो । खेलको २३अ‍ौँ मिनेटमा मेसीले गोल गर्दै अर्जेन्टिनालाई १–० को अग्रता दिलाए । डिबक्सभित्र अ‍ोस्मान डेम्बेलेले डी मारियालाई लडाएपछि पोल्यान्डका रेफ्रीले अर्जेन्टिनालाई पेनाल्टी प्रहार गर्न अवसर दिए । मेसीले फ्रान्सका कप्तान तथा गोलरक्षक ह्युगो लोरिसलाई गलत दिशामा डाइभ गराउँदै गोल गरे ।

खेलको ३६अ‍ौँ मिनेटमा डी मारियाले अर्जेन्टिनालाई २–० को स्थितिमा राखे । म्याक एलेक्सिसले काउन्टर एट्याक्टमा अनमार्कमा रहेका डी मारियालाई सटिक पास दिए । डी मारियाले दोस्रो बारमा त्यतिकै राम्रो गोल गरे । निर्धारित ९० मिनेट २–२ को बराबरीमा सकिएपछि खेल अतिरिक्त समयमा लम्बिएको थियो ।

मेसीले अतिरिक्त समयको १०८औँ मिनेटमा गोल गर्दै अर्जेन्टिनालाई ३–२ को अग्रता दिलाउँदै पुनः उपाधितर्फ लम्काए । तर, खेलको ११८औँ मिनेटमा फ्रान्सले पेनाल्टी प्रहार गर्ने अवसर पायो । एम्बाप्पले सहजै गोल गर्दै फ्रान्सलाई ३–३ को बराबरीमा पुर्‍याए । यही पेनाल्टी गोल नै उनको ह्याट्रिकका रूपमा रह्यो ।