मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
काठमाडौंको धरहरापरिसरमा रहेको ऐतिहासिक सुन्धारा । फाइल तस्बिर
शिवहरि घिमिरे काठमाडाैं
२०७९ मङ्सिर २९ बिहीबार ०८:३८:००
Read Time : > 2 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

सुन्धारा पुनर्निर्माण विवादमा : परम्परागत संरचना मासेर पुनर्निर्माण गर्न नदिने मेयर साहको चेतावनी

Read Time : > 2 मिनेट
शिवहरि घिमिरे, काठमाडाैं
२०७९ मङ्सिर २९ बिहीबार ०८:३८:००

काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले सुन्धाराको पुरानो संरचना भत्काउने विषयमा आपत्ति जनाएका छन् । करिब चार सय वर्ष पुरानो इतिहास बोकेको सुन्धाराको परम्परागत संरचना धमाधम भत्काउन थालेपछि सोमबार बिहान संकटा क्लबद्वारा आयोजित पत्रकार सम्मेलनमा साहले आपत्ति जनाएका हुन् । उनले सुन्धाराको पुरानो संरचना कुनै पनि हालतमा भत्काउन नदिने बताए । धरहरा निर्माणको जिम्मा पाएको कम्पनीले सुन्धाराको मुखसहित भुइँमा बिछ्याएका पुराना ढुंगा निकाल्ने गरी पुनर्निर्माण थालेपछि स्थानीय, सम्पदाप्रेमी, जनप्रतिनिधिलगायतले विरोध जनाएका हुन् ।

सुन्धाराको ऐतिहासिक संरचना नष्ट पार्नुहुँदैन : बालेन्द्र साह मेयर, काठमाडौं महानगर
काठमाडौंको सुन्धारा नेपाली कला–संस्कृतिको उत्कृष्ट नमुना हो । यसको ऐतिहासिकता नष्ट पार्नुहुँदैन । बरु, यसलाई संरक्षण गर्नुपर्छ ।

पुनर्निर्माणका नाममा सुन्धाराको मौलिकता नै मासिने काम भइरहेको भन्दै मेयर साहले निर्माण कम्पनीलाई तुरुन्तै काम रोक्न निर्देशन दिएका छन् । सुन्धारालाई जीवितै राखेर धरहरा आसपासमा बगैँचा बनाउने भनिए पनि निर्माणाधीन संरचनाले सुन्धारालाई नै नष्ट गर्ने उनको भनाइ छ । ‘कला, संस्कृतिको नमुना सुन्धाराका संरचना भत्काउन हुँदैन,’ उनले भने, ‘यसलाई बरु संरक्षण गर्न आवश्यक छ ।’ 

नेपाली मौलिक कला–संस्कृतिको नमुनाका रूपमा सुन्धारा रहेकाले यसको संरचना जोगाउनुपर्ने मेयर साहको भनाइ छ । पुनर्निर्माणका नाममा ऐतिहासिक संरचना भत्काएर ध्वस्त पार्न महानगरले अनुमति नदिने उनले बताए । रमण कन्स्ट्रक्सन कम्पनीले सुन्धारा क्षेत्रको पुनर्निर्माण गरिरहेको छ । धरहरा निर्माण नसकिँदै सुन्धारा पुनर्निर्माण थालेपछि स्थानीय र महानगरले विरोध जनाउँदै आएका छन् । कम्पनीले सुन्धारा रहेको ठाउँभन्दा पछाडि ठूलो खाडल बनाएर एक लाख लिटर पानी अट्ने ट्यांकी निर्माण सुरु गरेको छ । यही ट्यांकीको पानी सुन्धारामा खसाल्ने ठेकेदारको योजना छ । तर, सो क्रममा सुन्धाराको ऐतिहासिक संरचनामा क्षति पुग्ने र कृत्रिम ढंगले सुन्धारामा पानी खसाल्न नदिने भन्दै विरोध भइरहेको हो ।

स्थानीय भन्छन्– कंक्रिटका भवन बनाउनेले सम्पदा क्षेत्र बनाउँदैनन् 

वसन्तपुरका स्थानीय तथा सम्पदाप्रेमी गणपतिलाल श्रेष्ठले कंक्रिटका भवन बनाउने ठेकेदार कम्पनीलाई नै ऐतिहासिक सम्पदा पुनर्निर्माण गर्न दिँदा सुन्धाराको मौलिकता नष्ट हुन लागेको दुखेसो गरे । यद्यपि, ठेकेदार कम्पनीलाई सुन्धारा पुनर्निर्माण गर्न नदिने उनले बताए । ‘सुन्धारा यस क्षेत्रको ऐतिहासिक संरचना हो, ठेकेदार कम्पनीले बनाउने नै हो भने पनि स्थानीयको रोहबरमा पुनर्निर्माण गर्नुपर्छ, ऐतिहासिक मौलिकता भत्काउन पाइँदैन ।’ 

बाहिरी आकृति राम्रो बनाउँदा सम्पदा कसरी नष्ट हुन्छ ? : सञ्जय नकर्मी प्रोजेक्ट म्यानेजर, रमण कन्स्ट्रक्सन
सुन्धारा मर्मतको जिम्मा हामीले ठेक्कामै पाएका हौँ । ठेक्काअनुसार बाहिरी आकृति राम्रो बनाउनु कसरी गलत हुन्छ ? ठेक्का सम्झौता गर्दा पनि पुरानै प्रणालीबाट पानी ल्याउने भनेका छैनौँ । कुनै रिजर्भ ट्यांकी बनाएर त्यसको पानी धारामा खसाल्ने सम्झौता भएको हो ।

०७२ सालमा गएको भूकम्पले सुन्धाराको बाहिरी संरचनामा क्षति पुगेको थियो । पर्खाल र भुइँमा बिछ्याएका ढुंगा भूकम्पले चर्किएका थिए । त्यसलाई मर्मत–सम्भार गरेर सुन्धारामा पानी खसाल्नेसहितको योजना अघि सार्न स्थानीयले काठमाडौं महानगरपालिकालाई ध्यानाकर्षण गराएका थिए । तर, तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको पालामा धरहराको योजनाभित्र सुन्धारालाई पनि समेटेर पुनर्निर्माण गर्नेगरी ठेकेदार कम्पनीलाई जिम्मा दिइएको थियो । सुन्धाराको बाहिरी भाग भीमसेन थापाका पालामा बनेको थियो भने त्यसमा ल्याइएको पानी प्रणाली करिब चार सय वर्ष पुरानो रहेको जानकारहरूको भनाइ छ ।

उपत्यकाका तीन जिल्लाका धारामध्ये काठमाडौंको सुन्धारा सबैभन्दा महत्वपूर्ण मानिन्छ । किनकि, यहाँ एकै ठाउँमा पाँचवटा सुनका धारा थिए । तर, अहिले तीनवटा मात्रै सुनका धारा छन् । करिब २० वर्षअघि चोरिएका दुईवटा सुन्धारा अझै भेटिएका छैनन् । 

पानी निकासबारे पनि विवाद
यसअघि सुन्धाराबाट खेर गएको पानी ढलमा पठाउने विषयमा विवाद भएपछि स्थानीयले पुनर्निर्माण रोकेका थिए । तर, स्थानीयको विरोधका बाबजुद ठेकेदार कम्पनीले पुनर्निर्माण अघि बढाएको थियो । स्थानीयले परम्परागत बाटोबाटै पानी निकास गर्न माग राखेका थिए । तर, ठेकेदार कम्पनीले सुन्धाराबाट बगेको पानीको निकास ढलमा जोडिदिने जनाउँदै काम सुरु गरेको थियो ।

निर्माण कम्पनीका प्रोजेक्टर म्यानेजर सञ्जय नकर्मीले भने सुन्धाराको पुरानो निकास टुकुचा खोलामा जोडेकाले पुरानै प्रणालीमा जोड्न नसकिने बताए । उनले भने, ‘टुकुचामा जोड्न २७ फिट गहिरो खन्नुपर्छ, त्यो सम्भव छैन, हामीले वसन्तपुर क्षेत्रमा एउटा पुरानो पाइप भेटेका छौँ, त्यसैमा जोड्ने भनेका छौँ ।’ तर, ठेकेदार कम्पनीले पानीको निकासलाई गलत प्रणालीमा जोड्न थालेको भन्दै स्थानीयले विरोध गर्दै आइरहेका छन् ।