मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
कमलराज भट्ट काठमाडौं
२०७९ मङ्सिर २६ सोमबार २३:३७:००
Read Time : > 4 मिनेट
समाचार डिजिटल संस्करण

समानुपातिक अन्तिम सूची : कसको नाम काटियो, को थपिए ? 

Read Time : > 4 मिनेट
कमलराज भट्ट, काठमाडौं
२०७९ मङ्सिर २६ सोमबार २३:३७:००

समावेशी समूह र प्राथमिकता क्रम मिचेर बन्दसूचीबाट नामावली सिफारिस गरेका दलहरूले समानुपातिक सूची सच्याएर पेश गरेका छन् । 

प्रतिनिधिसभा तथा प्रदेशसभाको ४ मंसिरमा सम्पन्न निर्वाचनमा प्राप्त मतका आधारमा निर्धारण भएको सिट संख्याअनुसार २४ मंसिरको अबेर रातिसम्म बन्दसूचीबाट उम्मेदवारको नामावली सिफारिस गरेका दलहरूमध्ये पाँच दलको समानुपातिक सूची त्रुटिपूर्ण थियो । निर्वाचन आयोगले सच्याउन सोमबारसम्मको समय दिएको थियो । 

पाँचमध्ये चार दलले सच्याएर नामावली सूची पेश गरेको आयोगको समानुपातिकतर्फका प्रवक्ता गुरु वाग्लेले जानकारी दिए । उनकाअनुसार एमालेले पुरानै नामावलीलाई मान्यता दिनुपर्ने भन्दै आयोगलाई पत्र लेखेको छ । 

एमालेको पत्रमा निर्णय लिने जिम्मा समानुपातिकतर्फका मुख्य निर्वाचन अधिकृत एवं आयोगका सचिव गोकर्णमणी दुवाडीलाई दिएको छ ।

कांग्रेस
कांग्रेसको मधेश प्रदेश सभा सदस्यका लागि बुझाएको नामावलीमा त्रुटि थियो ।  मधेशी पुरुष समूहको पहिलो क्रममा रहेको उम्मेदवारलाई पन्छाएर दोस्रो नम्बरको नाम सिफारिस गरेको थियो । 

पहिलो क्रमकै उम्मेदवार राखेर पठाउनुपर्ने आयोगको पत्रपछि कांग्रेसले यसअघि सिफारिसमा परेका दोस्रो क्रमका राकेशकुमार सिंहको नाम हटाएर मधेशी पुरुषतर्फ एक नम्बरमा रहेका कुमर कान्त झाको नाम समावेश गरेर नामावली पेश गरेको छ । अन्य नामावली यथावत् छ । 

एमाले 
आयोगकाअनुसार एमालेको नामावलीमा दुईटा प्रदेशमा त्रुटि थियो । तर एमालेले पत्र पठाएर आफूले बुझाएको नामावलीमा कुनै त्रुटि नभएको दाबी गरेको छ । पठाएको उम्मेदवारको सिफारिसमा कुनै परिवर्तन नगरी यथावत् गर्न माग गरेको छ । 

आयोगकाअनुसार प्रदेश १ मा एमालेले आदिवासी जनजाति महिलातर्फ प्राथमिकता क्रम मिचेको थियो । जनजातिभित्र अल्पसंख्यकको पहिलो नम्बरमा रहेकी सृजना दनुवारको नाम राखेको एमालेले २ नम्बरमा रहेकी यशोदा कायस्थलाई पन्छाउँदै  तीन नम्बरमा रहेकी लहरू माया जिसी (याक्खा)को नाम सिफारिस गरेको थियो । 

यसमा एमालेले यशोदा कायस्थ अल्पसंख्यक नभई पहाडी नेवार कायस्थ भएको जिकिर गर्दै अल्पसंख्यक प्रतिनिधित्व गराउन कायस्थभन्दा तल्लो क्रममा रहेकी  जिसीलाई सिफारिस गरेको जवाफ दिएको छ । 

आयोगकाअनुसार मधेश प्रदेशमा अल्पसंख्यक कोटा र कलस्टर प्राथमिकताक्रम मिचेको एमालेले यसमा परिवर्तन गर्नु कानुनसम्मत नहुने जिकिर गरेको छ । 

मधेश प्रदेशसभामा समानुपातिकबाट दुई जना अल्पसंख्यकको नाम सिफारिस गर्नुपर्ने एमालेले मधेशी महिला समूहबाट क्रम मिचेर नाम पठाएको छ । 

बन्दसूचीअनुसार मधेशी महिलातर्फ क्रम संख्या एकमा पल्टीदेवी यादव, दुई नम्बरमा फुलोकुमारी देवी, तीन नम्बरमा विनादेवी शर्मा (अल्पसंख्यक), चार नम्बरमा शिला यादव थिइन् । 

एमालेले दुईजना अल्पसंख्यक पु¥याउनुपर्नेमा एकजनामात्रै पु¥याएको थियो । दोस्रो पु¥याउन शिलाको ठाउँमा अल्पसंख्यकको दुई नम्बरमा रहेकी राजपती देवी जैसवाल (मारवाडी)लाई ल्याउनुपथ्र्याे । 

यसमा एमालेले मधेशी महिलाको दुई नम्बरमा रहेकी फुलोकुमारी देवी अल्पसंख्यक धोवी समुदायभित्र पर्ने र बन्दसूचीमा अल्पसंख्यक लेख्न छुटेको जिकिर गर्दै कानुनअनुसार फुलोकुमारी अल्पसंख्यक नै भएकाले उनको नाम सिफारिस गरेकाले मान्यता दिन माग गरेको छ । 

मधेश प्रदेशमै मुस्लिम कलस्टरमा प्राथमिकता क्रम मिचेको एमालेले पार्टीको नीति विपरीत दलले समर्थन नगरेको उम्मेदवार (प्रभु साह)को पक्षमा प्रचार गरी पार्टी परित्याग गरेको र केन्द्रीय सचिवालय बैठकले निष्काशन गरेको क्रम संख्या एकमा रहेकी जैनव खातुनलाई पन्छाएर दोस्रो क्रममा रहेकी नजिमा खातुनको नाम सिफारिस गरेको जवाफ दिँदै सूची सच्याउन अस्विकार गरेको छ । 

जैनवलाई दलबाटै निष्कासन गरिसकेकाले आयोगले दोस्रो नम्बरमा रहेकी नाजिमालाई निर्वाचित गर्नुको विकल्प नभएको जिकिर गरेको छ । 

कुनै उम्मेदवार निर्वाचित भइसकेपछि त्यसमा निर्णय गर्ने अधिकार सर्वाेच्चको संवैधानिक इजलासलाई रहेको भन्दै एमालेले निर्वाचित हुनुअगावै पार्टीको बन्दसूचीबाट उक्त उम्मेदवार(जैनव)को नाम हटाई त्योभन्दा पछिल्लो क्रमको व्यक्तिलाई निर्वाचित घोषित गरिदिनुपर्ने प्रदेशसभा सदस्य निर्वाचन ऐनको दफा ३१ (४) अनुसार नाजिमालाई निर्वाचित गर्नु संवैधानिक र कानुनअनुरुप हुने दाबी गरेको छ । 

यसैकारण आफूले पठाएको निर्वाचित उम्मेदवारको सिफारिसमा कुनै परिवर्तन नगरी यथावत् प्रमाणित गर्नुपर्ने एमालेको माग छ । 

एमालेलाई आज पत्र पठाइने 
एमालेले त्रुटिपूर्ण समानुपातिक नामावली सच्याउन अस्विकार गरेपछि आयोगले आज एमालेलाई पुनः सच्याउन ताकेता गर्दै चिठ्ठी लेख्ने भएको छ । 

निर्वाचन कानुनमा बन्दसूची क्रम मिचेर पठाउन सक्ने व्यवस्था नभएको, निर्वाचित हुनुअगावै हेरफेर गर्न नपाइने भएकाले आयोग एमालेको तर्कसँग सहमत हुन नसकेको हो । यसको औचापरिक निर्णय आज आयोगले गर्नेछ । 

बन्दसूची सच्याउन दलहरूलाई पटक पटक मौका दिएको, निर्वाचन कानुनमा क्रम मिचेर पठाउन सक्ने व्यवस्था नभएकाले पुन सच्याएर पठाउन पत्राचार गरिने एक आयुक्तले बताए । 

‘बढीमा एक दिन वा निश्चित घण्टाभित्र सच्याएर बुझाउन अनुरोध गर्छाैं,’ उनले भने, ‘सच्याएर नल्याएसम्म त्यस दलको नमिलेको प्रदेशको उम्मेदवार निर्वाचित भएको घोषणा गरिँदैन ।’ 

समानुपातिक कार्यालयका सहायक निर्वाचन अधिकृत यज्ञप्रसाद भट्टराईले एमालेबाट आएको जवाफका सम्बन्धमा अध्ययन भइरहेको बताए । ‘के गर्ने भन्ने विषयमा भोलि निर्णय हुन्छ,’ उनले भने । 

माओवादी केन्द्र
दुइवटा प्रदेशमा त्रुटि गरेको माओवादीले सच्याएर नामावली पठाएको छ । बागमती प्रदेशमा माओवादीले आदिवासी जनजाति महिलातर्फ क्रम संख्या एकमा रहेकी उर्मिलाकुमारी लामा, तीनमा रहेकी सुष्पा भुजेल (अल्पंख्यक) र सात नम्बरमा रहेकी डोल्मा थामी (अल्पसंख्यक)को नाम सिफारिस गरेको थियो । 

सिट बाँडफाँडअनुसार बागमतीमा माओवादीले एक जनामात्र अल्पसंख्यक प्रतिनिधित्व गराउनुपर्ने थियो । दुई जना अल्पसंख्यक प्रतिनिधित्व गराउने नाममा दुई नम्बरमा रहेकी भुवनकेशरी श्रेष्ठलाई पन्छाएर माओवादीले सात नम्बरबाट थामीलाई छानेर त्रुटि गरेको थियो । 

आयोगको पत्रपछि माओवादीले थामीको नाम हटाएर प्राथमिकता क्रमअनुसार श्रेष्ठकै नाम समावेश गरेर नामावली बुझाएको छ । 

लुम्बिनी प्रदेशमा खसआर्यमा एक सिट पाएको माओवादीले प्राथमिकताक्रम मिचेर पुरुषबाट दोस्रो नम्बरमा रहेका भक्तिप्रसाद आचार्यको नाम सिफारिस गरेको थियो । पुरुषबाटै सिफारिस गर्दा एक नम्बरमा रहेका निमकान्त पाण्डेको नाम सिफारिस गर्नुपथ्र्याे । 

त्रुटि सच्याउँदा पाण्डेलाई सिफारिस गर्नुपर्ने भएपछि माओवादीले खसआर्यबाट महिला पठाएको छ । यसअघि सिफारिस गरिएका भक्तिप्रसादको नाम हटाएर खसआर्य महिलाको एक नम्बरमा रहेकी मिना बुढामगरलाई सिफारिस गरेको छ । 

चार सिट पाएको लुम्बिनीमा माओवादीले दुई महिला पु¥याउनुपर्ने भए पनि खसआर्यबाट मिनालाई पठाएर तीनवटा महिला पु¥याएको छ । बढीभन्दा बढी महिला सहभागिता हुनुपर्ने मर्मअनुसार आयोगले समावेशी समूह र प्राथमिकता क्रम मिलाएर तीन महिला सिफारिस गरेको माओवादीको सूचीलाई मान्यता दिएको हो ।

जसपा 
मधेश प्रदेशमा ७ सिट प्राप्त गरेको जसपाले १० जना उम्मेदवारको नाम सिफारिस गरेको थियो । आवश्यकताभन्दा बढी उम्मेदवारको नाम पठाएको जसपाले सोमबार अबेर साँझसम्म सच्याएर नामावली बुझाएको छ । 

मधेशी पुरुषमा मनीषकुमार सुमन (अल्पसंख्यक), मधेशी महिलामा विन्दुकुमारी यादव, किरणकुमारी शाह, शोभा देवी (अल्पसंख्यक), दलित महिलामा ललिता दास, मुस्लिम महिलामा शाहिदा खातुन र जानजाति महिलामा ममतदेवी मण्डलको नाम सिफारिस गरेको छ ।

दुई अल्पसंख्यकसमेत कम्तिमा ६ महिलासहित ७ जना पठाउनुपर्ने जसपाले प्रारम्भिक नामावलीमा सिफारिस गरेको दलितबाट चन्देश्वर सदा (पुरुष), मुस्लिममा मो. युसुफ अली (पुरुष), मधेशीमा मञ्जिलाकुमारी यादवको नाम हटाएको छ । 

नागरिक उन्मुक्ति पार्टी
तीनवटा प्रदेशमा त्रुटि गरेको नागरिक उन्मुक्ति पार्टीले नामावली सच्याएर पठाएको छ । 
मधेश प्रदेश सभामा मधेशी समूहको महिला पठाउनुपर्नेमा पुरुष पठाएको नाउपाले रामचन्द्र चौधरीको नाम हटाएर उर्मिलादेवी सिंहको नाम समावेश गरेको छ । 

यसविरुद्ध पर्साकी नाउपाकी नेतृ उर्मिलादेवी नुनियाले समानुपातिक मुख्य निर्वाचन अधिकृत एवं आयोगका सचिव गोकर्णमणी दुवाडीलाई निवेदन दिएकी छन् । 

निवेदनमा नाउपाले सिफारिस गरेकी उम्मेदवार उर्मिलादेवी सिंह मधेशी महिला नभई आदिवासी भएको र मधेशी भनेर झुटो विवरण पेश गरेकाले उम्मेदवारी रद्ध गर्न माग गरिएको छ । 

मुख्य निर्वाचन अधिकृत दुवाडीले यो विषय अदालतले हेर्ने जवाफ दिएका छन् । लुम्बिनी प्रदेशमा खसआर्यबाट सिफारिस गर्नुपर्ने नाम थारु कलस्टरबाट पठाएको नाउपाले नोरीकुमारी चौधरीको नाम हटाएर नरमाया ढकाललाई सिफारिस गरेको छ ।

सुदूरपश्चिममा खसआर्यबाट दुईजना महिलाको नाम पठाउनुपर्नेमा खसआर्य पुरुष दामोदर पण्डित र थारु महिला सुनिता चौधरीको नाम सिफारिस गरेको नाउपाले पण्डित र चौधरीको नाम हटाएर समावेशी समूहअनुसार टीका थापा र इन्दिरा गिरीको नाम सिफारिस गरेको छ ।