१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
२०७९ मङ्सिर २६ सोमबार ०७:२०:००
Read Time : > 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

छोटी भन्सार सञ्चालन नहुँदा नाकाबाट बढ्यो चोरी–तस्करी 

Read Time : > 1 मिनेट
२०७९ मङ्सिर २६ सोमबार ०७:२०:००

विगत लामो समयदेखि छोटी भन्सार कार्यालय सञ्चालन नहुँदा रौतहटको विभिन्न नाकाबाट चोरी–तस्करी बढेको छ । सुरक्षाको कारण देखाई माओवादी द्वन्द्वकालमा विस्थापित बनेको छोटी भन्सार कार्यालय सञ्चालनमा नआउँदा तस्करी कार्य बढेको हो । १५ वर्षदेखि बन्द रहेको छोटी भन्सार नाकाबाट तस्करी बढेको छ ।

माओवादी द्वन्द्वकालमा सुरक्षाको कारण देखाउँदै रामपुरखाप, औरैया, ब्रह्मपुरी र मठिया छोटी भन्सार कार्यालय गौर भन्सार कार्यालयमा मर्ज गरिएको थियो । सुरक्षा थ्रेट बढेपछि विस्थापित छोटी भन्सारमध्ये बंकुल छोटी भन्सार पछि मात्र सञ्चालनमा ल्याइएको गौर भन्सार कार्यालय रौतहटले जनाएको छ । बाँकी चारवटा छोटी भन्सार हालसम्म बन्द रहेको छ । छोटी भन्सार कार्यालयको भवनमा अहिले सशस्त्र प्रहरीको बेसक्याम्प स्थापना गरिएको छ । सशस्त्र प्रहरीको बेसक्याम्प गरिए पनि उक्त नाकाबाट तस्करी नियन्त्रण हुन सकेको छैन । व्यापारीले बन्द रहेको नाकाबाट राजस्व तिर्न खोजे पनि सदरमुकाम आउने झन्झटका कारण बाध्य भएर चोरबाटो भएर मालसमान भित्र्याउने गरेका छन् ।

मठिया र रामपुरखाप छोटी भन्सारबाट दैनिक भारतबाट नेपाल निकासी हुने राँगा तथा पाडापाडी सुरक्षाकर्मीकै मिलेमतोमा नेपालको विभिन्न स्थानसम्म पुग्ने गरेको पाइएको छ । भन्सार तिरेर ल्याउन खोजे पनि सदरमुकाम नै धाउनुपर्ने अवस्था तथा दिनभरिको झन्झटिलो र समय लाग्ने गरेका कारण सुरक्षाकर्मीकै मिलेमतोमा सजिलै नेपाल भित्र्याउने गरेको नाम उल्लेख नगर्ने सर्तमा एक व्यवसायीले बताए । छोटी भन्सार कार्यालय बन्द रहँदा खाद्यान्न, लत्ताकपडा, इलेक्ट्रोनिक्सका समानलगायतका वस्तुहरूको तस्करी कार्य निकै फस्टाएको छ । सीमानाकामा खटिएका सुरक्षाकर्मीहरूसमेत तस्करहरूसँग साठँगाँठ गरी अवैध रूपमा भित्रिएको मालसमानलाई सजिलै नेपाल प्रवेश गराउन मद्दत पुर्‍याउँदै आएका छन् । सीमानाका क्षेत्रमा रहेको अधिकांश बजारमा भारतीय सामानको बिक्री वितरणका कारण नेपाली व्यवसायीहरूसमेत चिन्तित बन्न थालेका छन् ।

यता, बन्द रहेको यी छोटी भन्सार कार्यालय सञ्चालनमा आए तस्करी झनै बढ्ने गौर भन्सार कार्यालयका सूचना अधिकारी रेवतीराम रोक्काले बताए । उनले भने, ‘विभागको पनि राणनीति रहेको छ । सानो भन्सार नाका खुलाएर अझ तस्करी बढ्ने देखिएको छ । यस्ता भन्सार कार्यालय बिस्तारै बन्द गर्ने हो ।’ अन्य स्थानमा पनि छोटी भन्सार कार्यालय बन्द रहेकोसमेत सूचना अधिकारी रोक्काको भनाइ छ ।

भारतीको बैरगनिया बजार हुँदै नेपाल भित्रिने सामानको गौर भन्सारले राजस्व लिने गरेको छ । गौर नाकाबाट समेत झोलेपोके तस्करी हुन्छ । तस्करी बढेपछि राजस्व प्रभावित बनेको गौर भन्सार कार्यालयका प्रमुख वासु नेपाल स्विकार्छन् । चुहावट रोक्न नसकेर मासिक लक्ष्यअनुसारको राजस्वसमेत असुली गर्न नसकेको उनले जानकारी दिए ।

छोटी भन्सार कार्यालय सञ्चालनमा नआएर राजस्व नघटेको कार्यालय प्रमुख नेपाल बताउँछन् । जिल्लामा तस्करी बढ्न थालेपछि राजस्व असुलीमा प्रभाव परेको उनको भनाइ छ । यता जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी उपरीक्षक वीरबहादुर बुढामगरले खुला सीमा भएकाले पारिबाट चोरनाका हुँदै सानोतिनो सामान भित्रिने गरेको बताए । तर, राजस्व प्रभावित हुने खालको कुनै पनि वस्तु नियन्त्रणमा लिन्छौँ, एसपी मगरले भने ।