१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ११ मंगलबार
  • Tuesday, 23 April, 2024
एन्ड्र्यु ह्वाइटहेड
२०७९ मङ्सिर २३ शुक्रबार ०८:२५:००
Read Time : > 2 मिनेट
दृष्टिकोण प्रिन्ट संस्करण

बेलायती प्रधानमन्त्री सुनक असफल हुने लक्षण देखिँदै

Read Time : > 2 मिनेट
एन्ड्र्यु ह्वाइटहेड
२०७९ मङ्सिर २३ शुक्रबार ०८:२५:००

उसो त ६ सातामै नयाँ प्रधानमन्त्रीको कार्यसम्पादन मूल्यांकन गरिँदैन, तर ऋषि सुनकसँग समयको अभाव छ । बेलायतको आमचुनावनजिक आइसकेको छ । नयाँ आमचुनाव आउन दुई वर्ष मात्र बाँकी छ । र, यदि उनले आफ्नो कार्यसम्पादनमा सुधार ल्याउन सकेनन् भने कन्जरभेटिभ सत्ताच्यूत मात्र नभई भारतको कांग्रेस पार्टीझैँ अपमानजनक हार व्यहोर्न बाध्य हुनेछ । 

त्यसो भए ४२ वर्षमा पनि केटौले गुण नगएको नयाँ केटोले के गरिरहेको छ ? एककोणबाट हेर्ने हो भने अवस्था धेरै खराब छैन । ब्याजदर घट्न थालेको छ, वित्तीय बजार सन्तुष्ट भएको छ र सरकारी आर्थिक नीतिमा केही स्थिरता आएको छ । लिज ट्रसको अराजक एवं अयोग्य सातहप्ते कार्यकालको उदासीनता हट्न थालेको छ । यसका आधारमा सुनकले सत्तामा सहजतासाथ काम गरिरहेको भान हुन्छ ।

उनी ज्ञानी र इमानदार दुवै छन्, जुन हाम्रो देशका प्रधानमन्त्रीका लागि असामान्य मानिन्थ्यो र नकारात्मकताको निरन्तर प्रवाहका बाबजुद पनि उनी सकारात्मक दृष्टिकोण निर्माण गर्न सफल भएका छन् । मुद्रास्फीति पीडादायी १० प्रतिशतभन्दा बढी छ र ज्याला समानदरमा बढिरहेको छैन । नतिजा अधिकांश मानिस गरिब छन्, नर्स, रेलचालक र हुलाक कर्मचारी ज्याला वृद्धिका लागि हडताल गरिरहेका छन् । सरकारी हिसाब मिलानका लागि कर वृद्धि र सार्वजनिक खर्च कटौतीका कारण उनलाई थप लोकप्रिय हुन गाह्रो छ ।

जीविका संकटको गम्भीर समस्याबीच कन्जरभेटिभको स्थिति के हुन्छ भन्न गाह्रो छ । अर्थतन्त्रले दुवै तरिकाले काम गर्छ । यदि अर्थव्यवस्था तपाईंको कार्यकालमा डुब्छ भने तपाईं पनि डुब्नुहुन्छ । तसर्थ, हालसम्म सुनकप्रतिको धारणा पार्टीका हिसाबले पनि राम्रो नभएको मान्नुपर्छ । सन् २०१० मा सत्तामा रजगज गरेदेखि कन्जरभेटिभ हालसम्म लगातार चारपटक निर्वाचित भएको छ । कन्जरभेटिभ दोस्रो भएको छैन । यही वर्षमा दुई प्रधानमन्त्रीलाई सरसर्ती हटाएर पार्टीमा अपदस्थ गर्ने प्रवृत्ति पनि विकसित भएको छ ।

सुनकको सरकारले जीवाश्म इन्धनमा निर्भरता कम गर्न समुद्री किनारमा वायु टर्बाइनलाई बढवा दिन, थप घर निर्माण गर्न अनुमति दिन योजना कानुनलाई सहज बनाउनेजस्ता विभिन्न मुद्दामा पछिल्ला पंक्तिका सांसदको विद्रोेहको सामना गरिरहेको छ । नयाँ प्रधानमन्त्रीमा आफ्नो निर्णयलाई सहजै उल्ट्याउने बानी छ । इजिप्टमा भएको जलवायु परिवर्तन सम्मेलनमा व्यस्तताका कारण भाग लिन नसक्ने निर्णयलाई सांसदले गलत ठहर्‍याएपछि सुनक इजिप्ट गए । उसो त यसलाई राजनीतिक व्यवहारवाद भन्न सकिएला, तर यसले नेताको विश्वसनीयता घटाउँछ ।   

मुद्रास्फीति, हडताल र सुनकको पार्टीको अलोकप्रियता दर्साउने मत सर्वेक्षणले अर्को चुनावमा कन्जरभेटिभको लामो रजगज समाप्त हुन सक्ने संकेत देखिँदै छ

मत सर्वेक्षण राजनीतिक विचारको आँखीझ्याल हो, तर अर्को चुनाव कसले जित्छ भन्ने भविष्यवाणी होइन । तर, हालैका मत सर्वेक्षण सुनकका लागि सुखद छैनन् । उनको सत्तारोहणपछिको सबैभन्दा अनुकूल सर्वेक्षणले कन्जरभेटिभ पार्टीलाई विपक्षी लेबर पार्टीले १४ अंकले पछि पारेको देखाएको छ । सबैभन्दा प्रतिकूल सर्वेक्षणलाई हेर्ने हो भने कन्जरभेटिभ दुई गुणाको आँकडाले पछि परेको छ । यी आँकडाले मध्यावधिको खस्कँदो लोकप्रियताभन्दा पनि प्रतिकूल अवस्था देखाउँछ । बोरिस जोनसनको लापरवाह बदमासी र लिज ट्रसको जानीजानी गरिएको मूर्खताले कन्जरभेटिभको छविमा गम्भीर चोट पुगेको छ ।

गत साता सुनककालको पहिलो संसदीय उपनिर्वाचन भयो । यो चुनाव एक स्थानका लागि थियो, जहाँ कन्जरभेटिभको जित्ने सम्भावना थिएन । सन् १८३२ पछि सो क्षेत्रमा कन्जरभेटिभले सबैभन्दा कम मत प्राप्त गर्‍यो ।कन्जरभेटिभ नेतामाझ आगामी चुनाव जित्ने आफ्नै क्षमतामा विश्वास गुमाउन थालेको स्पष्ट संकेत देखिन थालेको छ । चुनाव आउन अझै दुई वर्ष बाँकी रहे पनि पार्टीले पुरानै उम्मेदवार छनोट गर्नुले यसलाई पुष्टि गरिरहेको छ (सुनकले चाँडै चुनाव गराउन सक्छन्, तर उनका सबै समस्या निमिट्यान्न हुन असम्भव छ) । त्यसबाहेक अहिले धेरै कन्जरभेटिभ सांसदले अर्को कार्यकालका लागि उम्मेदवार नहुने निर्णय गरेका छन् ।

यसमा कपाल पाकिसकेका वरिष्ठ नेता मात्र नभई पार्टीका चर्चित युवा नेता पनि पर्छन् । पूर्वअर्थमन्त्री सजिद जाविद, पूर्वमन्त्री क्लोई स्मिथ, २९ वर्षीय चर्चित कन्जरभेटिभ सांसद डेहेना डेभिसन केही उदाहरण हुन् । चुनावमा प्रतिस्पर्धा नगर्ने निर्णयका पछाडि जेसुकै कारण दिए पनि अधिकांश मानिस यी सांसद चुनावमा पराजित हुने वा विजयी भइहाले पनि लामो समयसम्म प्रतिपक्षमा बस्नुपर्ने डरले प्रतिस्पर्धा नगरिरहेको ठान्छन् ।   

राजनीतिमा केही निश्चित हुँदैन । लेबर पार्टीका नेता केइर स्टार्मरलाई सभ्य र सक्षम नेता मानिन्छ, तर त्यसका साथै उनलाई बढी नै असुरक्षित र सुस्त नेताका रूपमा पनि हेरिन्छ । सुनकले मतदातालाई तमाम कठिनाइका बाबजुद आपूmलाई नै चुन्नका लागि जनता मनाउने गरी चुनावी अभियान चलाउन सक्नेछन् । तर, राजनीतिमा पुस्तान्तरणको स्तरमा राजनीतिक बफादारीमा परिवर्तन आइरहेको देखिँदै छ जहाँ सत्तारूढ पार्टी थकित, बदनाम र सार्वजनिक विश्वासका लागि अयोग्य ठहरिँदै छ ।

यो परिवर्तन भएमा सत्तारूढ पार्टीले आफूलाई लामो समयसम्म पराजित हुनबाट रोक्न सक्नेछैन । त्यसैगरी, सुनक आगामी दुई वर्षसम्म पार्टीका अगुवा रहिरहलान् भन्नेमा पनि शंकै छ । सन् १९९७ को चुनावमा १८ वर्षे कन्जरभेटिभ सत्तालाई पराजित गरेर लेबर पार्टीले १३ वर्ष शासन गरेको राजनीतिक घटनाको पुनरावृत्ति हुने सम्भावना देखिँदै छ । वास्तवमा लोकतन्त्र भनेको यही न हो !  
(ह्वाइटहेड बिबिसीका पूर्वभारतीय संवाददाता हुन् र उनले बेलायती राजनीतिमा पनि रिपोर्टिङ गरेका छन्) 
द वायरबाट