मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
फाइल तस्बिर
२०७९ मङ्सिर २२ बिहीबार १५:३५:००
Read Time : < 1 मिनेट
विश्व डिजिटल संस्करण

युक्रेनसँगको लडाइँमा सोचेभन्दा बढी समय लागेको पुटिनको स्वीकारोक्ति

Read Time : < 1 मिनेट
२०७९ मङ्सिर २२ बिहीबार १५:३५:००

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनमा आफ्नो ‘विशेष सैन्य अभियान’मा अपेक्षा गरिएभन्दा बढी समय लागेको स्वीकार गर्दै नयाँ भूभाग कब्जा गर्न सफल भएको र आफ्नो देशको आणविक हतियारले द्वन्द्व बढ्नबाट रोकेको बताएका छन्।

‘निःसन्देह, यो एक लामो प्रक्रिया हुन सक्छ,’ पुटिनले भने। फेब्रुअरी २४ मा रुसको आक्रमणबाट सुरु भएको नौ महिनाभन्दा लामो युद्धले लाखौँलाई आफ्नो घरबाट विस्थापित गरेको छ भने दशौँ हजारको मृत्यु वा घाइते हुनुपरेको छ।

उनले आफूसँग सेना पठाउनुको विकल्प नभएको दाबी गर्दै वर्षौँदेखि पश्चिमा मुलुकले रुसको सुरक्षा मागलाई बेवास्ता गरेको बताए। रुसमा आफ्नो मानव अधिकार परिषद्का सदस्यहरूसँगको टेलिभिजन बैठकमा बोल्दै पुटिनले भूमि अधिग्रहणलाई ‘रुसका लागि महत्वपूर्ण परिणाम’को रूपमा वर्णन गरे।

पुटिनले आणविक अस्त्रसम्बन्धी आफ्नो यसअघिको टिप्पणी ‘द्वन्द्व बढाउने कारक नभई प्रतिरोधको कारक’ भएको दाबी गर्दै पश्चिमाहरूको आलोचनालाई अस्वीकार गरे। ‘हामी पागल भएका छैनौँ। आणविक हतियार के हो भन्नेबारे हामी पूर्ण जानकार छौँ,’ पुटिनले भने, ‘हामीसँग ती हतियार छन् र ती अन्य कुनै पनि आणविक शक्तिको तुलनामा धेरै उन्नत र अत्याधुनिक छन्।’

टेलिभिजनमा प्रसारित आफ्नो टिप्पणीमा उनले आपूर्ति, घाइते सैनिकहरूको उपचारमा समस्या रहेको स्वीकार गरेका छन्। उक्त अवसरमा पुटिनले युक्रेनमा सेनालाई बलियो बनाउन सेप्टेम्बरमा आदेश दिएका तीन लाख जगेडा सैनिक बलको परिचालनबारे छलफल गरेका थिए।