मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
२०७९ मङ्सिर २० मंगलबार १९:५३:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

हेटौँडा अस्पतालमा मिर्गौला प्रत्यारोपण सेवा थपिने

Read Time : < 1 मिनेट
२०७९ मङ्सिर २० मंगलबार १९:५३:००

मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गतको हेटौँडा अस्पतालमा मिर्गौला प्रत्यारोपणसम्बन्धी सेवा थपिने भएको छ । यसका लागि मंगलबार सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र भक्तपुर र हेटौँडा अस्पतालबीच सम्झौता भएको छ । 

सम्झौतापत्रमा सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रका कार्यकारी निर्देशक डा. पुष्करचन्द्र श्रेष्ठ, मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा. विश्वराज जोशी र अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. रामचन्द्र सापकोटाले हस्ताक्षर गरे ।

बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डे, स्वास्थ्यमन्त्री नीमा लामालगायतको उपस्थितिमा सम्झौतापत्रमा हस्ताक्षर भएको हो । 

अब मिर्गौला प्रत्यारोपण र डायलायसिस सेवा विस्तारको काम तत्काल अघि बढाइने भएको छ । सम्झौताअनुसार यसै आर्थिक वर्षभित्र हेटौँडा अस्पतालमा मिर्गौला प्रत्यारोपण केन्द्र स्थापना हुनेछ । 

यस्तै, बागमती प्रदेशअन्तर्गत विभिन्न अस्पतालमा डायलायसिस सेवा विस्तार गर्ने, अस्पतालको आवश्यकता पहिचान गरी दुवै पक्षको समझदारीमा विस्तृत कार्य योजनामा सम्झौता गर्ने सहमति पनि भएको छ । 

मिर्गौला प्रत्यारोपण केन्द्र स्थापनाका लागि बागमती प्रदेश सरकारले यस वर्ष ८ करोड रुपैयाँ बजेटसमेत विनियोजन गरेको थियो । 

सम्झौतापछि प्रदेशका मुख्यमन्त्री पाण्डेले बागमती प्रदेशको राजधानी हेटौँडा रहेको अस्पताललाई सुविधा सम्पन्न बनाउन प्रदेश सरकार प्रतिबद्ध रहेको बताए । उनले प्रदेशकै राजधानी भएकाले हेटौँडामा सुविधा सम्पन्न सरकारी अस्पताल आवश्यक रहेको उल्लेख गरे ।