मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
शिवहरि घिमिरे बाली (इन्डोनेसिया)
२०७९ मङ्सिर १७ शनिबार ०६:२४:००
Read Time : > 1 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

एपिक्याट सम्मेलन : सुर्तीजन्य पदार्थ नियन्त्रणमा एसिया प्रशान्त क्षेत्रका मेयरहरू एकजुट

Read Time : > 1 मिनेट
शिवहरि घिमिरे, बाली (इन्डोनेसिया)
२०७९ मङ्सिर १७ शनिबार ०६:२४:००

इन्डोनेसियाको बालीमा जारी एसिया प्यासिफिक सिटिज अलाइन्स फर टोबाको कन्ट्रोल एन्ड ननकम्युनिकेबल डिजिज (एपिक्याट)को सातौँ शिखर सम्मेलनमा सहभागी एसिया प्रशान्त क्षेत्रका मेयरहरू सुर्तीजन्य पदार्थ रोकथाम र नियन्त्रणमा एकजुट देखिएका छन् । बिहीबार सुरु भएको सम्मेलनमा नेपालसहित भारत, सिंगापुर, फिलिपिन्स, मलेसिया, इन्डोनेसिया, कम्बोडियालगायत १२ देशका ८२ सहरका नगरप्रमुखहरू तथा अधिकारीहरू सहभागी छन् । 

नेपालबाट ललितपुर र भरतपुर महानगरलाई निमन्त्रणा गरिए पनि भरतपुर महानगरका प्रतिनिधि मात्रै सम्मेलनमा सहभागी छन् । भरतपुर महानगरपालिकाका स्वास्थ्य शाखा प्रमुख दीपक सुवेदी, भरतपुर महानगरपालिका–७ का वडाध्यक्ष राजेन्द्रमणि काफ्ले र सञ्चारकर्मीहरू सम्मेलनमा सहभागी छन् । सुर्तीजन्य पदार्थ सेवन तथा नसर्ने रोगको रोकथाम र प्रकोपलाई प्रमुख मुद्दाका रूपमा सम्मेलनमा अघि सारिएको छ । एसिया प्रशान्त क्षेत्रका देशहरूको सहभागितासहित एपिक्याटले हरेक वर्ष फरक–फरक देशका सहरमा सम्मेलन आयोजना गर्दै आएको छ । कोरोना संक्रमणका कारण पाँच र छैटौँ सम्मेलन भर्चुअल माध्ययबाट गरिए पनि यस वर्षदेखि प्रत्यक्ष सहभागितामा आयोेजना गरिएको हो ।  

सम्मेलनको दोस्रो दिन दिन शुक्रबार आगामी एजेन्डा र सुर्तीजन्य पदार्थको बिक्री–वितरण रोकथाममा कसरी सहकार्य गर्ने भन्नेबारे विभिन्न देशका मेयर तथा स्वास्थ्यकर्मीबीच छलफल भएको छ । त्यस्तै, सम्मेलनको पहिलो दिन बिहीबार धूम्रपानरहित वातावरण निर्माणका लागि सुर्तीजन्य पदार्थको विज्ञापन र प्रचारप्रसार बन्द गर्ने, इ–सिगे्रट सेवन र बिक्रीमा रोक लगाउने, चेतावनीमूलक सन्देशसहितको प्याकिजिङ कार्यान्वयन गर्नेसहित पाँचबुँदे घोषणापत्र जारी गरिएको थियो ।

सम्मेलनमा सहभागी मेयर तथा स्वास्थ्य अधिकारीहरूले महानगर, नगर तथा विभिन्न सहरका कार्यालय, विद्यालय तथा सार्वजनिक स्थानमा सुर्तीजन्य पदार्थ प्रयोग निषेध गर्नेबारे छलफल गरेका छन् । बालीस्थित बोगरका नगर प्रमुख डा. बिमा आर्या सुगियारटाले सुर्र्तीजन्य पदार्थको नियन्त्रणका लागि राजनीतिक प्रतिबद्धता नै मुख्य विषय रहेको बताए । सुर्तीजन्य पदार्थको कर बढाउने, प्रयोगकर्ता  घटाउने, विज्ञापन तथा जनचेतनामूलक कार्यक्रम आयोजना गर्ने, उद्योगहरूलाई निरुत्साहित गर्नेजस्ता कार्यक्रम आवश्यक रहेको उनले बताए । ‘टोबाको फ्री जेनेरेसनका लागि युवाहरूमा उत्प्रेरणा र यसको हानिबारे जनचेतना दिन जरुरी छ,’ उनले भने, ‘स्थानीय सरकारहरूले पनि सुर्तीजन्य पदार्थ बिक्री–वितरण तथा रोकथामबारे चासो दिनुपर्छ ।’ 

बालीका नगरप्रमुख गुस्टी एनगुराह जया नेगाराले सुर्तीजन्य पदार्थ रोकथाममा लागेको बताए । सन् ०२४ सम्म सुर्तीजन्य पदार्थको सेवन गर्ने युवाहरूको संख्या ९ दशमलव ४ बाट ८ दशमलव ४ प्रतिशतमा झार्ने लक्ष्य रहेको उनको भनाइ छ । सम्मेलनमा रिपब्लिक अफ इन्डोनेसियाका स्वास्थ्यमन्त्री बुडी गुनाडी सादिकिनले सुर्तीजन्य पदार्थको बिक्री–वितरणमा रोक लगाइएको जानकारी गराए ।