मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
२०७९ मङ्सिर १६ शुक्रबार १४:५६:००
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

निषेधाज्ञा तोड्दै आन्दोलनमा उत्रिएका स्कुले विद्यार्थीमाथि प्रहरी दमन [भिडियाेसहित]

Read Time : > 1 मिनेट
२०७९ मङ्सिर १६ शुक्रबार १४:५६:००

धनगढीमा जिल्ला प्रशासन कार्यालयले जारी गरेको निषेधाज्ञा तोडेर भइरहेको विद्यार्थीको प्रदर्शनलाई दमन गर्न प्रहरीले लाठीचार्जसँगै अश्रुग्यास प्रहार गरेको छ। चालकलाई कारबाहीको माग गर्दै आन्दोलनमा उत्रिएका स्कुले विद्यार्थीमाथि प्रहरीले लाठीचार्ज गर्नुका साथै अश्रुग्यास प्रहार गरेको हो।

आन्दोलन चर्कँदै गएपछि स्थितिलाई नियन्त्रण लिन ३७ राउण्ड अश्रुग्याँस प्रहार गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक बेदप्रकाश जोशीले बताए । त्यस क्रममा विद्यार्थी र स्थानीय गरी २१ जनालाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ। 

ग्रेडरले किच्दा धनगढीको पञ्चोदय माविमा कक्षा ८ मा अध्ययनरत १५ वर्षीया चेतना साउदको बिहीबार मृत्यु भएको थियो । धनगढी– ५, हसनुपरमा निर्माणाधीन सडकको सतह मिलाउन ग्रेडर ब्याक गर्ने क्रममा किचिएर साइकलयात्री साउदको मृत्यु भएको हो। 

ग्रेडरको ठक्करबाट सामान्य घाइते भएकी उनलाई चालकले ग्रेडर ब्याक गरेर किचेको प्रत्यक्षदर्शीले बताएका छन् । प्रत्यक्षदर्शीका अनुसार ग्रेडरमा ठोक्किएपछि उनी उठ्न खोजेकी थिइन्। तर, चालकले उल्टै ग्रेडर ब्याक गरेर किचेर मारेको एकजना प्रत्यक्षदर्शीले बताए।

चालकले जानीजानी मारेको भन्दै आक्रोशित पञ्चोदय माविका विद्यार्थी आन्दोलनमा उत्रिएका हुन्। उनीहरूले घटनास्थलबाट दिनभरि शव उठाउन दिएका थिएनन्। प्रहरीले बेलुकी शव उठाएको थियो। 

विद्यार्थीको आन्दोलन चर्किएपछि जिल्ला प्रशासन कार्यालयले बिहीबार बेलुकी धनगढीका केही क्षेत्रमा निषेधाज्ञा जारी गरेको थियो । तर, निषेधाज्ञा तोड्दै विद्यार्थी र स्थानीय शुक्रबार बिहानैबाट प्रदर्शनमा उत्रेका थिए ।  

मान्छे मार्ने चालकलाई कारबाहीको माग गर्दै शान्तिपूर्ण रूपमा प्रदर्शन गरिरहेका वेला प्रहरीले लाठीचार्ज र अश्रुग्यास प्रहार गरेको पञ्चोदय माविमा अध्ययनरत एक विद्यार्थीले बताए । ‘हामीलाई न्याय चाहिएको हो । जानाजान गाडी ब्याक गरेर मान्छे मार्ने हत्यारालाई कडा कारबाही हुनुपर्छ भनेर हामी शान्तिपूर्ण रूपमा प्रदर्शन गर्दै थियौँ,’ कक्षा ९ मा अध्ययनरत एक विद्यार्थीले भने, ‘प्रहरीले उल्टै लाठीजार्च र अश्रुग्यास हानेर हामीलाई दबाउन खोजियाे।’