मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
२०७९ मङ्सिर १६ शुक्रबार १०:२१:००
Read Time : < 1 मिनेट
खेलकुद प्रिन्ट संस्करण

कम उमेरमा ह्याट्रिक गर्ने पेले

Read Time : < 1 मिनेट
२०७९ मङ्सिर १६ शुक्रबार १०:२१:००

ब्राजिलियन फुटबल मात्र नभएर विश्वकै जिउँदो लिजेन्ड पेले स्वास्थ्यको खराबीका कारण बिहीबार अस्पताल भर्ना भएका छन् । ८२ वर्षीय पेलेको श्वासप्रश्वासमा समस्या आएपछि अस्पताल पुगेका हुन् । पेलेको अवस्था सार्वजनिक भएको छैन । लामो समयदेखि पेलेको स्वास्थ्य त्यति राम्रो छैन । यसै कारण यसपटक कतार विश्वकपमा पेले नदेखिएका हुन् ।

 ब्राजिलियन टोलीलाई हौसला प्रदान गर्न अक्सर उनी रंगशालामै पुगेर विश्वकप हेर्थे । कतारमा चलिरहेको विश्वकपमा पेलेको प्रसंग जोडिनु एउटै कारण छ । विश्वकपको कुरा गरिरहँदा पेलेको रेकर्ड पनि आउँछ । सम्भवतः पेलेले विश्वकपमा राखेका कतिपय रेकर्ड तोडिन मुस्किल नै पर्छ । तीन विश्वकप उपाधि उचाल्ने पेले एक मात्र खेलाडी हुन् । 

ब्राजिलले सर्वाधिक पाँचपटक विश्वकप ट्रफी चुमेको छ । यसमध्ये तीनवटा विश्वकप ट्रफी ब्राजिलले उचाल्दा पेलेको योगदान सर्वाधिक रह्यो । सन् १९५८ को विश्वकप फाइनलमा ब्राजिलले स्विडेनको सामना गरेको थियो । फाइनल स्पर्धामा पेलेले जादुगरी प्रदर्शन गरे । उनले स्विडेनको पोस्टमा एक गोल गरे । 

विश्वकप इतिहासको फाइनलमा गोल गर्ने उनी सबैभन्दा युवा खेलाडी हुन् । सोही प्रतियोगितामा पेलेले फ्रान्सविरुद्धको खेलमा ह्याट्रिक गरेका थिए । विश्वकपमा यो पनि एक रेकर्डकै रूपमा रहेको छ । विश्वकपमा सबैभन्दा युवा खेलाडीका रूपमा ह्याट्रिक लगाउने रेकर्ड पेलेले राखेका छन् । त्यसवेला उनको उमेर १७ वर्ष दुई सय ४४ दिन थियो । यसैगरी, विश्वकपमा युवा खेलाडीका रूपमा गोल गर्ने रेकर्ड पनि उनकै नाममा छ ।