मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
२०७९ मङ्सिर १५ बिहीबार १०:२८:००
Read Time : > 2 मिनेट
दृष्टिकोण प्रिन्ट संस्करण

चीनमा बिस्तारै हट्नेछ जिरो कोभिड नीति

जिरो कोभिडबाट चीन रातारात मुक्त हुनेछैन, बरु चीनको आर्थिक सुधार र खुलापनझैँ जिरो कोभिड नीति क्रमिक एवं नियन्त्रित ढंगले बिस्तारै हट्नेछ

Read Time : > 2 मिनेट
२०७९ मङ्सिर १५ बिहीबार १०:२८:००

चीनको सिन्जियाङ प्रान्तको एक आवासीय संरचनामा भएको घातक आगलागीको प्रतिक्रियामा चिनियाँ प्रदर्शनकारी सडकमा उत्रेका छन् । धेरै आगलागी कोभिड–१९ लकडाउनका कारण भएको ठान्छन् । प्रदर्शनकारी कठोर लकडाउन अन्त्यको माग गरिरहेका छन् । समयतालिका निश्चित नभए पनि राष्ट्रपति सी जिनपिङ प्रशासनले विरोध प्रदर्शनअघि नै खर्चिलो जिरो कोभिड (शून्य कोभिड) नीतिलाई उल्ट्याउने तयारी गरिरहेको थियो । तर, यो प्रक्रिया सोचेजस्तो सजिलो छैन ।

जिरो कोभिडलाई चीनले त्याग्दा जनस्वास्थ्य जोखिम बढ्नेछ । त्यसमाथि विशेषतः वृद्ध कोभिड खोपदर निकै कम भएको अवस्थामा जोखिम बढ्नेछ । जिरो कोभिड उल्ट्याउने प्रक्रियामा कसरी परिचालन एवं बन्दोबस्ती गर्ने भन्नेमा ध्यान नपुगेको अवस्थाले चुनौती बढ्नेछ ।

घना जनसंख्या भएको स्थानमा संक्रमणको लहरले चिकित्सा स्रोतको मागमा अकस्मात् अत्यधिक बढोत्तरी हुन सक्छ, जसले जनस्वास्थ्य प्रणालीलाई पंगु बनाउन सक्छ । यसअघि चीनले हङकङको दुर्भाग्यपूर्ण अनुभवबाट पाठ सिकेको छ । सरकारले लकडाउन खुकुलो बनाएपछिको अवस्थामा यदि स्वास्थ्य आवश्यकता तुरुन्तै पूर्ति गर्न सक्दैन भने मृत्युदर विशेषतः वृद्धमाझ बढ्न सक्छ ।

सम्भवतः यस्तो सम्भावित विपत्तिबाट जोगिन विभिन्न राष्ट्रले महामारी–नियन्त्रण उपायलाई बिस्तारै खुकुलो बनाएका थिए । यस सन्दर्भमा बलियो केन्द्रीकृत नियन्त्रण भएको चीनका लागि अस्थायी मात्र नभई भौगोलिक रूपमा पनि बिस्तारै महामारी नियन्त्रणका उपाय अवलम्बन गर्न सहज छ ।

विगत ४० वर्षमा भएको चीनको आर्थिक सुधार र खुलापनबाट पाठ सिक्न सकिन्छ । अकस्मात सम्पूर्ण अर्थतन्त्रलाई वैदेशिक व्यापारका लागि खोल्नुको सट्टा चीनले आफ्ना चार मुख्य सहरमा विशेष आर्थिक क्षेत्र स्थापना गर्‍यो । लगत्तै १४ अन्य तटीय सहर पहुँचयोग्य भए । त्यसपछि यसले बिस्तारै देशका बाँकी भागमा अहिले–प्रमाणित पद्धति लागू गर्‍यो ।
व्यावहारिक हिसाबले यो प्रगतिशील दृष्टिकोणले स्पष्ट फाइदा गरेको छ । केन्द्र सरकार व्यवस्थापन गर्न पनि सफल भयो । त्यसबाहेक प्रयोग गर्न, ज्ञान हासिल गर्न र तथ्यांक संकलन गर्न सक्षम पनि भयो, जसले आत्मविश्वास बढायो र परिवर्तनलाई निर्देशित गर्‍यो । यससँगै चीन आफ्ना प्रयासलाई सहयोग गर्न देशभरबाट प्रतिभा उत्पादन गर्न पनि सक्षम भयो । 

जिरो कोभिडबाट बाहिर निस्किँदा चीनले उल्लिखित दृष्टिकोण अपनाउन सक्छ, अर्थात् उच्च जोखिममा एवं राम्रो स्रोत भएका गुआन्झाउजस्ता सहरमा ‘विशेष स्वास्थ्य क्षेत्र’ निर्माण गर्न सक्छ । त्यस्ता क्षेत्रका जनताले महामारी प्रतिबन्धमा राहत पाउनेछन् तर अन्य सहर र क्षेत्रमा हुने आवागमनमा केही सीमितता भने सामना गर्नुपर्नेछ ।

महामारी प्रतिबन्धलाई खुलाउनुअघि चिनियाँ सरकारले यी क्षेत्रमा प्रतिबन्ध खुकुलो बनाउँदा पर्ने प्रभावका तथ्यांकबारे जानकारी लिन सकिन्छ । यदि ‘विशेष स्वास्थ्य क्षेत्र’मध्ये कुनै एकमा पनि स्वास्थ्य संकट निम्तिन्छ भने यसलाई नियन्त्रण गर्न सकिनेछ, किनभने जिरो कोभिड नीति लागू भएका क्षेत्रबाट महत्वपूर्ण चिकित्सा आपूर्ति र कर्मचारी आपूर्ति गर्न सकिनेछ । चीनसँग यस प्रकारको स्रोत संकलनको अनुभव छ । वर्षको सुरुवातमा सांघाईको लकडाउनका समयमा १५ विभिन्न चिनियाँ प्रान्तबाट ३८ हजारभन्दा बढी स्वास्थ्यकर्मी सहयोगका लागि सहरमा भित्रिएका थिए । यद्यपि, शून्य–कोभिडबाट उम्कनका लागि गम्भीर अग्रिम योजनासाथ स्रोत संकलन धेरै ठूलो मात्रामा सञ्चालन गर्न आवश्यक छ ।

स्रोतलाई उप–राष्ट्रियस्तरमा जम्मा गरिनुपर्छ । एउटा क्षेत्रमा भएको अपुग मागका अवस्थालाई छिमेकी क्षेत्रबाट आपूर्ति गर्नुपर्छ । यो उपायले यातायातलाई छिटो र सस्तो बनाउँदै तुलनात्मक रूपमा छोटो दूरीमा स्रोत पु¥याउन सजिलो हुनेछ ।
तर, यो उपायमा उल्लेखनीय सीमितता छन् । ‘विशेष स्वास्थ्य क्षेत्र’नजिकका क्षेत्र आर्थिक रूपले बलियो छ र पर्याप्त मात्रा र संख्यामा चिकित्सकीय सामग्री र पर्याप्त जनशक्ति छ भने यो उपाय सफल नै रहला, तर यदि यसो हुँदैन भने आपूर्ति गर्ने छिमेकी क्षेत्रमै अभाव निम्तिने खतरा हुन सक्छ । 

यसको विकल्पमा क्षेत्रीय स्रोत संकलनको योजना ल्याउन सकिन्छ, जसलाई राष्ट्रियस्तरको स्रोत संकलनले भने सहयोग गर्नुपर्छ । यसो गर्दा लामो दूरीमा पनि चिकित्सकीय सामग्री र पर्याप्त जनशक्ति पठाउन सकिन्छ ।

यो बृहत् कार्यका लागि केन्द्र सरकार र सबै तहका उपराष्ट्रिय सरकारले योजना निर्माण र समन्वय गर्न आवश्यक छ । स्थानीय सरकारले ‘अनावश्यक’ चिकित्सा स्रोत पहिचान गरी स्रोत ‘संकलन’मा योगदान गर्छ भने पनि स्थानीय सेवाको गुणस्तरमा खासै गिरावट आउनेछैन । केन्द्र सरकारले विभिन्न क्षेत्रका स्रोत निर्बाध रूपमा सहयोग गर्न सुनिश्चित गर्न मानकीय परिचालन प्रक्रिया निर्माण गर्नुपर्छ ।

त्यसैगरी केन्द्र सरकारले क्षेत्रीय केन्द्रमा ढुवानीका लागि चिकित्सा स्रोत राख्न एक वा धेरै केन्द्रीकृत वितरण केन्द्र सिर्जना गर्न सक्छ । केन्द्र सरकारले मागअनुसार विशेष स्वास्थ्यकर्मीको टोलीलाई विशेष स्वास्थ्य क्षेत्रमा खटाउन पनि सक्छ । सौभाग्यवश चीनको उच्च केन्द्रीकृत राजनीतिक प्रणाली यस्ता ठूला र जटिल प्रयास अनुकूल छ ।

विरोध प्रदर्शन चर्किंदै गए पनि जिरो कोभिडबाट चीन रातारात मुक्त हुनेछैन, बरु चीनको आर्थिक सुधार र खुलापनझैँ जिरो कोभिड नीति क्रमिक एवं नियन्त्रित ढंगले बिस्तारै हट्दै जानेछ । तर, यसका लागि चीनका नेता चार दशकअघिको तुलनामा तीव्र ढंगले अघि बढ्नुपर्छ । चीनसँग सावधानीपूर्वक तयार गरिएको परिचालन रणनीतिका साथ जिरो कोभिड नीतिलाई हटाउन सक्ने राम्रो मौका छ ।

(याङ लन्डन बिजनेस स्कुलका सह–प्राध्यापक हुन्, झाङ युनिभर्सिटी अफ हङकङमा कानुनकी सह–प्राध्यापक हुन्) प्रोजेक्ट सिन्डिकेटबाट