Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
भवानीश्वर गौतम काठमाडाैं
२०७९ मङ्सिर १५ बिहीबार ०६:२५:००
Read Time : > 2 मिनेट
फ्रन्ट पेज प्रिन्ट संस्करण

त्रिविमा व्यवस्थापन संकायको अप्लाइड  कोर्स बिबिएलगायतमै विद्यार्थी पाउन मुस्किल

Read Time : > 2 मिनेट
२०७९ मङ्सिर १५ बिहीबार ०६:२५:००

आंगिक क्याम्पसले समेत विद्यार्थी नपाएपछि पुनः सिम्याटको व्यवस्था

त्रिभुवन विश्वविद्यालयमा सबैभन्दा बढी विद्यार्थीको आकर्षण रहेको बिबिएलगायत अप्लाइड कोर्समा समेत यस वर्ष विद्यार्थी पाउन मुस्किल भएको छ । त्रिविका आंगिक क्याम्पसको समेत कोटा पूरा नहुँदा र निजी क्याम्पसमा भर्ना नै नभएपछि व्यवस्थापन संकायको डिनको कार्यालयले पुनः सिम्याट (प्रवेश परीक्षा)को व्यवस्था गरेको छ । लाखौँ खर्च गरेर पढ्दै आएका यस्ता व्यावहारिक भनिएका कोर्समा समेत विद्यार्थी पाउन मुस्किल भएपछि त्रिविका अधिकारी र कलेज सञ्चालकसमेत चिन्तित भएका छन् । 

यसअघि त्रिविका सेमेस्टर प्रणालीमा सञ्चालन भएका अप्लाइड कोर्स बिबिए, बिएचएम, बिआइएम, बिबिएम, बिटिटिआईजस्ता कोर्समा कोटाअनुसारको भर्ना पाउन समस्या थिएन । आंगिक क्याम्पसमा सस्तो र राम्रो पढाइ हुने भएकाले सबैभन्दा बढी सरकारी क्याम्पसमा भर्नाका लागि दबाब हुन्थ्यो । त्रिवि व्यवस्थापन संकायका डिन प्रा.डा. डिल्लीराज शर्माले यस वर्ष बिबिएबाहेकका विषयमा कोटासमेत पूरा नभएकाले कलेजहरूको आग्रहमा पुनः प्रवेश परीक्षाको व्यवस्था गरेको बताए । डिन शर्माले भने, ‘यस वर्ष अप्लाइड कोर्समा पनि विद्यार्थी कम भए, यसको कारण खोज्नुपर्छ ।’ 

त्रिविको आंगिक पब्लिक युथ क्याम्पस प्रमुख बलराम थापाले बिबिएबाहेकका अरू अप्लाइड कोर्समा कोटा पूरा नभएको बताए । क्याम्पस प्रमुख थापाले विगतमा आंगिक क्याम्पसमा कोटा पूरा भएपछि निजीमा जाने गरेकामा अहिले धेरै समस्या रहेको बताए । दोस्रोपटक हुन लागेको सिम्याटपछि कोटाअनुसार विद्यार्थी आउने अपेक्षा रहेको उनको भनाइ छ । के कारणले यसपटक विद्यार्थी आएनन् भन्ने विषय खोजी गर्न सके आगामी वर्षका लागि सहज हुने उनको भनाइ छ । 

त्रिविमा सबैभन्दा बढी विद्यार्थी अहिले व्यवस्थापन संकायमा अध्ययन गर्छन् । स्नातक तहको वार्षिक प्रणालीको बिबिएसमा मात्र डेढ लाख भर्ना हुने गरेका छन् । बिबिएस सस्तो छ भने बिबिएलगायत अप्लाइड कोर्स मँहगा छन् । आंगिक क्याम्पसमा भर्ना हुने विद्यार्थीले समेत यस्ता प्राइभेट कार्यक्रममा चार–पाँच लाख रुपैयाँ तिर्नुपर्ने अवस्था छ ।

प्रवेश परीक्षामा पास भएकासमेत भर्ना भएनन्
व्यवस्थापन डिन कार्यालयले सञ्चालन गरेको सिम्याट परीक्षामा १० हजार पाँच सयको हाराहारीमा सहभागी भएका थिए । तीमध्ये नौ हजारको हाराहारीमा सिम्याट परीक्षा उत्तीर्ण गरेका थिए । तर, बिबिएबाहेकका विषयमा आंगिक क्याम्पसका कोटासमेत खाली छन् । प्रायः ४४ सिटको कोटामा कतिपय क्याम्पसमा दुई–चारजना मात्र विद्यार्थी भर्ना भएका छन् । यस्ता अप्लाइड कोर्समा पाँच हजारजति कोटा रहेकामा सिम्याट पास भएकासमेत भर्ना भएनन् । ‘यसअघि पास भएका भर्ना भएको भए कोटा पुग्थ्यो, पास भएका पनि भर्ना भएनन्,’ डिन शर्माले भने, ‘पहिले यस्तो हुँदैनथ्यो, विद्यार्थी अर्को विकल्प पर्खेर बसेका पनि हुन सक्छन् ।’

यस वर्ष अघिल्लो वर्षभन्दा कम सहभागी भएका थिए । कक्षा १२ को परीक्षामा कम उत्तीर्ण भएकाले पनि कम सहभागी भएको हुन सक्ने त्रिविका पदाधिकारीको आकलन छ । राष्ट्रिय परीक्षा बोर्डले दिएको ग्रेड वृद्धिको परीक्षाको नतिजा आएसँगै थप विद्यार्थी आउन सक्ने आशा गरेका छन् । दुई विषयमा ग्रेड वृद्धिको परीक्षा दिने मौका पाएका विद्यार्थी झन्डै डेढ लाख छन् । ग्रेड वृद्धि भएर आउने विद्यार्थी भर्ना हुने त्रिविका आंगिक तथा सम्बन्धनप्राप्त कलेजको अपेक्षा छ । त्रिविले २४ मंसिरका लागि दोस्रोपटक सिम्याटको व्यवस्था गरेको छ । 

समीक्षा गर्नुपर्ने वेला आयो : प्रा.डा. डिल्लीराज शर्मा,  डिन, त्रिवि व्यवस्थापन संकाय
त्रिविका आंगिक क्याम्पसमा व्यावहारिक भनिएका कार्यक्रममा समेत विद्यार्थी कम भएपछि यस विषयमा सामूहिक रूपमा छलफलसमेत हुन थालेको छ । केही समयअघि यस्ता कार्यक्रम सञ्चालन गर्ने क्याम्पसका अधिकारीहरूसँगको छलफलमा समीक्षा भएको डिन शर्माले बताए ।

गुणस्तर कायम गर्ने विषयमा चुकेको हो कि भन्ने विषयमा समेत छलफल भएको थियो । ‘हामीले विद्यार्थी उत्पादन गरेका छौँ,’ उनले भने, ‘त्यसपछि विद्यार्थीले पाउने अवसर के हो त्यो हेर्छ । अवसर नदेखेपछि बाहिर पढ्न जाने, वैदेशिक रोजगारीमा जाने पनि देखियो ।’ बाहिर पढ्न जाँदा पढेपछि रोजगारी पाइने, तर नेपालमा के पाइन्छ भन्ने खालको जिज्ञासा विद्यार्थीमा रहेको पाइएको डिन शर्माले बताए । ‘विश्वविद्यालयको कोर्समा कमी–कमजोरी छैन, उत्पादन भएकालाई रोजगारी दिन सकिएन,’ उनले भने, ‘यो समाज र रोजगारी सिर्जना गर्नेसँग जोडिएको विषय बन्यो ।’