मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
कमलराज भट्ट काठमाडाैं
२०७९ मङ्सिर १५ बिहीबार ०६:०७:००
Read Time : > 2 मिनेट
फ्रन्ट पेज प्रिन्ट संस्करण

भाडाकै भवनमा संसद्, यसरी गरिँदै छ तयारी

Read Time : > 2 मिनेट
कमलराज भट्ट, काठमाडाैं
२०७९ मङ्सिर १५ बिहीबार ०६:०७:००

- संसद्को नयाँ भवन ७० प्रतिशत मात्रै तयार
- नयाँ दललाई कार्यालय खोजिँदै

मतगणनाको अन्तिम नतिजा आउँदै गर्दा संसद् सचिवालयले संसद् भवन मर्मतसम्भारलगायतका काम थालेको छ । संविधानको धारा ९३ मा प्रतिनिधिसभाका लागि भएको निर्वाचनको अन्तिम परिणाम घोषणा भएको मितिले ३० दिनभित्र राष्ट्रपतिले संघीय संसद्को अधिवेशन आह्वान गर्ने व्यवस्था छ । सचिवालयले निर्वाचन आयोगबाट मतपरिणाम प्राप्त भएपछि राष्ट्रपतिबाट औपचारिक रूपमा अधिवेशन आह्वान हुने जनाएको छ । ‘यति समय नै भन्न सकिँदैन । आयोगले निर्वाचन परिणाम उपलब्ध गराउने समयमा निर्भर रहन्छ,’ सचिवालयका सहायक प्रवक्ता दशरथ धमलाले भने । तस्बिर : अमुल थापा/नयाँ पत्रिका

प्रतिनिधिसभा तथा प्रदेश सभा सदस्यका लागि ४ मंसिरमा भएको निर्वाचनको मतगणना अन्तिम चरणमा छ । प्रतिनिधिसभाका एक सय ६१ निर्वाचन क्षेत्रको परिणाम आइसकेको छ । विवादित दोलखामा आज (बिहीबार) मतदान हुँदै छ भने स्याङ्जा २ र बाजुरामा ढिलो गरी मतगणना प्रारम्भ भइसकेको छ । समानुपातिक र प्रदेश सभातर्फ पनि गणना अन्तिम चरणमा छ । 

निर्वाचन आयोग प्रतिवेदन लेखनसहित अन्तिम परिणामको तयारीमा लागेका वेला संघीय संसद् सचिवालय पनि आवश्यक तयारीमा जुटेको छ । अबको एक महिनापछि आउने नवनिर्वाचित प्रतिनिधिसभा सदस्यलाई स्वागत गर्न सचिवालयले भवनको मर्मत–सम्भारदेखि बैठक सञ्चालनको गृहकार्य थालेको हो । भाडामा सञ्चालन भइरहेको नयाँ बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको भवनमा प्राविधिक कामहरू भइरहेको संसद् बताए । 

‘प्रतिनिधिसभा र राष्ट्रिय सभाको अधिवेशन छिटै आह्वान हुँदै छ । अधिवेशन सुरु भएपछि बैठकलाई सहज ढंगबाट सञ्चालनका लागि आवश्यक तयारी, पूर्वाधारहरूको व्यवस्थापनलगायत कामहरू गर्दै छौँ,’ धमलाले भने, ‘प्राविधिक दृष्टिकोणले हाम्रा प्रविधि, इक्विपमेन्ट्स परीक्षण गर्ने, भवनमा आएको समस्या हल गर्ने तथा आवश्यक मर्मत–सम्भारको काम भइरहेको छ ।’ 

उनका अनुसार माइकहरूको परीक्षण, साउन्ड सिस्टमको परीक्षण, सेक्युरिटी गेटको इक्विपमेन्ट, डिभाइसहरूको परीक्षण भइरहेको छ । कम्प्युटर मर्मत–सम्भार, कम्युनिकेसनका लाइनिङ प्रणालीहरू पनि परीक्षण भइरहेको छ । ‘संसद् सञ्चालनका लागि आवश्यक पर्ने सम्पूर्ण यसप्रकारका प्राविधिक पक्षहरूको परीक्षण र मर्मत–सम्भार गरिँदै छ,’ धमलाले भने । आवश्यकताअनुसार रंगरोगन तथा सरसफाइ पनि भइरहेको छ । 

परिणाम प्राप्त भएर अधिवेशन आह्वान भएपछि दललाई सिट विभाजन तथा एजेन्डा तय गरिने उनले बताए । ‘कुन–कुन दललाई कसरी व्यवस्थापन गर्ने, सभामा कहाँ राख्ने भन्ने तयारी अर्काे चरणमा हुन्छ,’ उनले भने । 

नयाँ दललाई कार्यालय खोजिँदै
यो निर्वाचनबाट संसद्मा प्रतिनिधित्व गर्ने दलको संख्या बढेसँगै सचिवालयले कार्यालय व्यवस्थापनको तयारीसमेत गरेको छ । ‘नयाँ दल आएपछि जुन–जुन दललाई संसदीय दलका रूपमा हामीले कार्यालय उपलब्ध गराउनुपर्छ, संसदीय दलका लागि आवश्यक पर्ने पदाधिकारीको कार्यकक्ष, बैठक कक्षहरू अहिले हामीसँग भइरहेको संरचनाले धान्दैन,’ धमलाले भने, ‘थप भौतिक संरचना बनाउन सकिएको छैन । संसद् भवन पनि भाडामा लिएर चलाइरहेका छौँ । संघीय संसद्को आफ्नै भवन निर्माणाधीन छ । भएकै संरचनाबाट काम चलाउनुपर्ने अवस्था छ । तर, आउँदै गरेका सबै दललाई पुग्ने ठाउँ छैन । सम्भावित ठाउँ खोजिरहेका छौँ । सरकारसँग समन्वय गरेर प्राप्त गर्ने कोसिस गर्छाैँ । जसरी पनि व्यवस्था गर्छाैँ,’ सहायक प्रवक्ता धमलाले भने । ०७४ को चुनावबाट पाँचवटा पार्टी राष्ट्रिय दल बनेकोमा यसपालि कम्तीमा सातवटा पार्टी राष्ट्रिय दल बन्दै छन् । पाँचजना स्वतन्त्र सांसद छन् । यसपटक राष्ट्रिय स्वतन्त्र पार्टी, राप्रपा, जनमत पार्टी राष्ट्रिय दलमा थपिएका छन् । उनीहरूका लागि आवश्यक कार्यालय व्यवस्थापनमा सचिवालय लागेको छ । 

संसद्को नयाँ भवन ७० प्रतिशत मात्रै तयार
तीन वर्षभित्र निर्माण सम्पन्न गरेर नयाँ संसद् सञ्चालन गर्ने उद्देश्यसहित १ असोज ०७६ मा सिंहदरबारस्थित पुतली बगैँचामा संघीय संसद् बनाउन सुरु गरे पनि अहिलेसम्म करिब ७० प्रतिशत मात्रै काम सम्पन्न भएको छ । काम सम्पन्न नभएपछि नयाँ संसद् बानेश्वरस्थित भाडाकै भवनमा सञ्चालन हुने भएको छ । संसद् सञ्चालनका लागि संसद् सचिवालयले अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रसँग भाडा सम्झौता नवीकरण गरेको छ । सचिवालयले वार्षिक १५ करोड भाडा तिरेर बानेश्वरमा संसद् सञ्चालन गर्दै आएको छ । 

‘६ महिना थप गरिएको समय चैतमा पनि नयाँ संसद् भवन तयार हुने अवस्था देखिँदैन । जतिसक्दो चाँडो सम्पन्न भइदिए सहज हुन्थ्यो । हामीले पटक–पटक निरीक्षण, निर्देशन र सहजीकरण गरिरहेका छौँ,’ सहायक प्रवक्ता धमलाले भने । सहरी विशेष भवन निर्माण आयोजना समन्वय कार्यालयका अनुसार संसद्को आफ्नै भवन बनिसक्न अझै एक वर्ष लाग्ने अनुमान छ । 

कुन सरकारले सिफारिस गर्छ ?
संविधान निर्माणपछि पहिलो प्रतिनिधिसभाको अधिवेशन सिफारिस नयाँ सरकारले गरेको अभ्यास छ । ०७४ मा तत्कालीन प्रधानमन्त्री केपी ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले अधिवेशन आह्वान गरेकी थिइन् । ‘विगतको अभ्यास हेर्दा अधिवेशन सिफारिस नयाँ सरकारबाट हुन्छ । तर, कानुनी रूपमा भने प्रस्ट केही तोकिएको छैन,’ सहायक प्रवक्ता धमलाले भने ।