मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
२०७९ मङ्सिर १४ बुधबार १८:४७:००
Read Time : < 1 मिनेट
विश्व डिजिटल संस्करण

हतियार आपूर्तिमा ढिलाइ नगर्न नाटोलाई युक्रेनको आग्रह

Read Time : < 1 मिनेट
२०७९ मङ्सिर १४ बुधबार १८:४७:००

युक्रेनले देशमा शिशिरयाम प्रारम्भ भएको बताउँदै उत्तर एटलान्टिक सन्धि संगठन (नाटो) र उसका सहयोगी राष्ट्रलाई यथाशक्य चाँडो हतियार आपूर्ति गर्न आग्रह गरेको छ। रुसी आक्रमणबाट आहत युक्रेनले समग्र सहायताको प्रक्रियालाई द्रुत गतिमा टुंग्याउन अनुरोध पनि गरेको छ। 

युक्रेनका विदेशमन्त्री दिमिट्रो कुलेबाले बुखारेस्टमा नाटोका विदेशमन्त्रीको जारी बैठकमा शीघ्र सहायता परिचालनका लागि आह्वान गर्दै क्षेप्यास्त्र आक्रमणबाट अवरुद्ध भएको देशको विद्युत् आपूर्ति प्रणाली तत्काल पुनःस्थापना गर्न अत्यावश्यक भएको बताए। 

त्यसका निम्ति पनि उनले नाटोलाई मद्दत गर्न अनुरोध गरेकाे अल जजिराले जनाएको छ। विदेशमन्त्री कुलेबाले आफ्नो देशको हवाई सुरक्षा प्रणालीलगायत पूर्वाधारको रक्षा गर्न बाह्य सहायता अपरिहार्य भएको बताएका थिए। 

दशौँ महिनामा प्रवेश गरेको रुस–युक्रेन द्वन्द्वले युरोपलाई स्तब्ध पारेको छ। युरोपेली संघ र उसका सदस्य राष्ट्रले युद्धको विभीषिकाबाट बच्न देश छाडेर भागेका युक्रेनीप्रति ऐक्यबद्धता जनाएका छन्। 

पोल्यान्ड सरकारले युक्रेनी शरणार्थीलाई अस्थायी रूपमा खाना र आवासको व्यवस्था गरेको छ। यद्यपि, पोल्यान्डले चार महिनादेखि भोजन र आवास पाइरहेका युक्रेनीलाई लामो समयसम्म आतिथ्यता प्रदान गर्न नसकिने बताउँदै आएको छ। 

क्रेमलिनको सेनाले गरेको दश महिनाको निरन्तरको दमनले आवासीय भवन, सार्वजनिक भवन र ऊर्जा प्रवाहका सञ्जाल ध्वस्त भएका छन्। विश्व बैंकले युक्रेनमा हालसम्म तीन खर्ब ५० अर्ब डलर क्षति भएको अनुमान गरेको छ। युक्रेन युद्ध तत्काल अन्त्य हुनुपर्ने तथा त्यसका निम्ति वार्ता र कूटनीतिको बाटोमा सम्बद्ध पक्ष अग्रसर हुनुपर्नेमा नाटोसहितका पश्चिमा राष्ट्रले जोड दिँदै आएका छन्।