१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
दीपक भट्ट रामेछाप
२०७९ मङ्सिर १४ बुधबार १७:५२:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

रामेछापमा राष्ट्रिय परिचयपत्र बनाउने अभियान वडास्तरबाट सुरु

Read Time : < 1 मिनेट
दीपक भट्ट, रामेछाप
२०७९ मङ्सिर १४ बुधबार १७:५२:००

रामेछापमा राष्ट्रिय परिचयपत्र बनाउने अभियान बुधबारबाट सुरु भएको छ। यो अभियान मन्थली नगरपालिकाका १४ वटै वडामा एकसाथ सुरु गरिएको हो। 

परिचयपत्र बनाउन केन्द्रमा खटिएर आएका कर्मचारी टोलीले १४ वटा वडामा पुगी उक्त अभियान एकै साथ सुरु गरेका हुन्। उनीहरूले सबै वडा कार्यालयमा पुगेर नागरिकको विवरण भर्ने, फोटो खिचाउनेलगायतका कामको थालनी गरे। यसअघि जिल्ला प्रशासन कार्यालय रामेछापबाट राष्ट्रिय परिचयपत्रको विवरण भर्ने काम गरिन्थ्यो। 

जिल्ला प्रशासन कार्यालयमा थालनी भएदेखि हालसम्म जिल्लामा २१ हजार ५ सय जनाले राष्ट्रिय परिचयपत्रका लागि फोटो खिचाउने र व्यक्तिगत विवरण फाराम भरेका छन्।

विवरण भरेका सबै नागरिकको परिचयपत्र अहिलेसम्म जिल्लामा आइनसकेको रामेछापका प्रमुख जिल्ला अधिकारी शोभाखर रेग्मीले जानकारी दिए।

उनले भने– 'यसअघि प्रशासन कार्यालयमा आएर राष्ट्रिय परिचयपत्रका लागि विवरण भरिसकेकाको चाडै नै परिचयपत्र आउनेछ। कार्यालयमा विवरण भरेकाबाहेकका सबै नागरिकहरूको परिचयपत्रको लागि अहिले वडास्तरमा कर्मचारीसहित विवरण भर्ने टोली परिचालन गरिएको छ।

जिल्लाका वडास्तरमा खटिएका टोलीले वडास्तरमा र आवश्यकताअनुसार अन्य स्थानमासमेत बसेर नागरिकता प्रमाणपत्र प्राप्त गरिसकेका सबै नागरिकको राष्ट्रिय परिचयपत्रको लागि विवरण भर्नेछन्। 

जिल्लाको ८ वटा स्थानीय तहका ६४ वडामा करिब ३ महिनामा विवरण भरी सक्ने लक्ष्य जिल्ला प्रशासन कार्यालय रामेछापले लिएको छ। यो कार्यक्रम जिल्ला प्रशासन कार्यालयमा पनि चालू रहनेछ। गाउँका नागरिक नागरिकता बनाउन सदरमुकाम आउने भएकाले उक्त कार्य कार्यालयमा पनि जारी रहनेछ। वडास्तरमा राष्ट्रिय परिचयपत्र बनाउने टोली पुगेसँगै परिचयपत्रको लागि फाराम भर्ने नागरिकको भिड लागेको छ। 

जिल्ला प्रशासन कार्यालय रामेछापले स्थानीय तहका सबै जनप्रतिनिधिहरूलाई राष्ट्रिय परिचयपत्र बनाउन आएका टोलीलाई सूचना सम्प्रेषण र अन्य सहयोग गरिदिन आग्रह गरेको छ। जिल्लामा राष्ट्रिय परिचयपपत्र बनाउनेको संख्या करिब २ लाख हाराहारी हुन सक्ने अनुमान पनि सो कार्यालयले गरेको छ।