मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७९ मङ्सिर १४ बुधबार ०७:११:००
Read Time : > 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

अर्थतन्त्र जोगाउन महासंघको अपिल

यथास्थितिमा उद्योग–व्यवसाय चलाउन नसक्ने महासंघको ठहर, अर्थतन्त्र सुधारमा नलागे मुलुक गम्भीर दुर्घटनामा जाने चेतावनी

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ मङ्सिर १४ बुधबार ०७:११:००

नेपाल उद्योग वाणिज्य महासंघले देशको अर्थतन्त्रलाई दुर्घटनाबाट जोगाउन सरकारसँग आग्रह गरेको छ । अर्थतन्त्र दुर्घटनाउन्मुख रहेको भन्दै महासंघले मंगलबार पत्रकार सम्मेलन गर्दैै वित्तीय र मौद्रिक उपकरण प्रयोग गरेर अर्थतन्त्रलाई जोगाउन आग्रह गरेको हो । अन्तर्राष्ट्रियस्तरमा इन्धनलगायत कच्चा पदार्थमा भएको मूल्यवृद्धि र नियामकीय अपरिपक्वताका कारण अर्थतन्त्रका समस्या जटिल बन्दै गएको महासंघका अध्यक्ष शेखर गोल्छाले बताए । 

 समस्या सुधारका लागि दुई उपाय
महासंघले अर्थतन्त्रमा देखिएका समस्या सुधारका लागि दुईवटा उपाय सुझाएको छ । नेपाल राष्ट्र बैंकले ०७९ कात्तिकदेखि लागू गरेको चालू पुँजी मार्गदर्शन, २०७९ को व्यवस्थाले मुलुकको उद्यम–व्यवसायमा प्रतिकूल असर पारेको भन्दै त्यसलाई दुई वर्ष स्थगन गर्न महासंघको सुझाव छ ।

तत्काल बजारमा तरलता प्रवाह गर्ने र ब्याजदर घटाउने उपाय सरकार र केन्द्रीय बैंकले पहिल्याउनुपर्नेसमेत महासंघको सुझाव छ । ‘पहिलो, चालू पुँजी मार्गदर्शन, २०७९ को कार्यान्वयन कम्तीमा दुई वर्ष स्थगन गर्नुपर्ने हाम्रो जोडदार माग छ । दुई वर्षसम्म मार्गदर्शनमा निजी क्षेत्रलाई प्रभाव पार्ने व्यवस्थाको सुधारको पहल पनि जारी राख्नुपर्छ । ती सुधार गर्नुपर्ने विषय हामीले केन्द्रीय बैंकमा बुझाइसकेका छौँ,’ उनले भने, ‘दोस्रो, हाम्रो सुझाव, तरलता व्यवस्थापन एवं ब्याजदर स्थायित्व हो । स्प्रेडदर घटाउने नीति कार्यान्वयन गर्दै बैंकको आधारदर घटाउने, ब्याजदर घटाउने र तरलता बढाउने उपाय अपनाउनुपर्छ ।’

 आन्दोलनको चेतावनी 
महासंघले अवस्थामा सुधार नभए आन्दोलनका कार्यक्रम घोषणा गर्ने चेतावनीसमेत दिएको छ । ‘यथास्थितिमा रह्यौँ भने व्यवसाय सञ्चालन गर्न सक्ने अवस्था छैन ।

मुलुकमा सम्पत्ति निर्माण गर्ने निजी क्षेत्रका गतिविधि
संकुचित हुँदा सबैतिर नराम्रो असर परेको तर्फ  सबैले हेक्का राख्न जरुरी छ,’ गोल्छाले भने, ‘उद्यम–व्यवसाय चलाउनै नसक्ने अवस्था आएको हुँदा निजी क्षेत्र बाध्य भएर आन्दोलित भएको हो । यो हाम्रो रहर होइन बाध्यता हो । निजी क्षेत्र चलायमान हुने गरी सुधारका कार्यक्रम आउन सकेनन् भने हामी आर्थिक स्थायित्वका लागि थप कार्यक्रम घोषणा गर्न बाध्य हुनेछाैँ ।’ 

 उद्योग ३० प्रतिशत क्षमतामा मात्रै चले
महासंघले उद्योग–व्यवसाय चल्नै नसक्ने अवस्थामा रहेको समेत औँल्याएको छ । महासंघले गरेको सर्वेक्षणले उद्योगको क्षमता उपयोग उच्चदरमा घटेको तथा उपभोग्य वस्तुको मागमा समेत उच्च गिरावट आएको देखाएको उनले बताए । सर्वेक्षणबाट निर्माण क्षेत्रअन्तर्गत सिमेन्ट, फलामे छडलगायतका उद्योगहरू औसत ३० प्रतिशत क्षमतामा चलिरहेका, दैनिक उपभोग्य सामानको बिक्री १८ प्रतिशत घटेको र विद्युतीय उपकरणको कारोबार ५५ प्रतिशत संकुचन भएको देखाएको महासंघले जनाएको छ ।

त्यस्तै, अटोमोबाइल क्षेत्रको कारोबार करिब ७५ प्रतिशतले घटेको, बिमा व्यवसायमा करिब ३० प्रतिशतले संकुचन आएको, देशभरका होटेलको औसत अकुपेन्सी ३० देखि ४० प्रतिशत मात्रै देखिएको, रेस्टुरेन्टमा ग्राहक संख्या करिब २० प्रतिशत हाराहारी घटेको, घरजग्गा कारोबार ४८ प्रतिशत र पुँजी बजारमा करिब ४० प्रतिशतको गिरावट आएको महासंघले जनाएको छ ।