मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
जिल्ला ब्युरो नयाँ पत्रिका
२०७९ मङ्सिर १४ बुधबार ०७:०२:००
Read Time : > 4 मिनेट
फ्रन्ट पेज प्रिन्ट संस्करण

प्रदेशमा फेरि पनि मिलीजुली सरकार, कस्तो हुन्छ समीकरण ?

Read Time : > 4 मिनेट
जिल्ला ब्युरो, नयाँ पत्रिका
२०७९ मङ्सिर १४ बुधबार ०७:०२:००

चारवटा प्रदेशमा गठबन्धनलाई बहुमत, प्रदेश १ मा एमालेसहितको गठबन्धनलाई बहुमत, मधेस र लुम्बिनीमा नयाँ पार्टीको भर

अन्तिम परिणाम आउन बाँकी रहे पनि अहिलेसम्मको परिणाम र समानुपातिक मतले सातमध्ये चारवटा प्रदेशमा वाम–लोकतान्त्रिक गठबन्धनको सरकार बन्ने अंकगणित देखिएको छ । यद्यपि, संघीय सरकारस“गै सातै प्रदेशमा सत्तासमीकरण बन्ने भएकाले प्रदेश सरकार गठनको अन्तिम छिनोफानो केन्द्रबाटै हुनेछ । 

प्रत्यक्षमा जितेको सिट र समानुपातिकतर्फ प्राप्त मत प्रतिशतका आधारमा बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा  वाम–लोकतान्त्रिक गठबन्धनमा आबद्ध दललाई बहुमत पुग्ने देखिएको छ । प्रदेश १ मा एमाले नेतृत्वको विपक्षी गठबन्धनलाई बहुमत प्राप्त भएको छ ।

प्रदेश १ मा एमाले नेतृत्वलाई सरकार बनाउन सहज

प्रदेश १ प्रदेश सभाको ९३ सिटमध्ये सरकार बन्न ४७ सिट आवश्यक हुन्छ । प्रत्यक्षतर्फ तीन क्षेत्रको नतिजा आउन बाँकी छ । अहिलेसम्म प्रत्यक्षतर्फ प्राप्त सिट र समानुपातिकतर्फ प्राप्त मतका आधारमा सत्ता र विपक्षी दुवै गठबन्धनले बहुमत प्राप्त गरेका छैनन् ।

३ क्षेत्रको नतिजाबाहेक गठबन्धनमा आबद्ध कांग्रेस, माओवादी र एकीकृत समाजवादीले प्रत्यक्ष र समानुपातिकतर्फ ४३ सिट प्राप्त गर्ने सम्भावना छ । त्यसैगरी, एमालेसहितको गठबन्धन (एमाले, राप्रपा र जसपा)ले प्रत्यक्ष र समानुपातिकमा ४७ सिट प्राप्त गर्ने देखिन्छ । प्रदेश १ मा एमाले नेतृत्वको गठबन्धनले बहुमत पाएको देखिएको छ । 

मुख्यमन्त्री आकांक्षी : कांग्रेसबाट केदार कार्की, अमृत अर्याल र उद्धव थापा, एमालेबाट हिक्मत कार्की र तिलकुमार मेन्याङ्बो, एकीकृत समाजवादीबाट वर्तमान मुख्यमन्त्री राजेन्द्र राई दोहोरिने दाउमा छन् । माओवादीबाट प्रदेश १ का आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बो छन् ।

मधेस  प्रदेशमा दुवै गठबन्धनलाई नयाँ पार्टीको भर 

एक सय सात सिट रहेको मधेस प्रदेश सभामा सरकार निर्माणका लागि ५४ सिट आवश्यक पर्दछ । मधेस प्रदेशमा वाम–लोकतान्त्रिक गठबन्धन र एमालेसहितको गठबन्धनमा आबद्ध दलले मात्रै सरकार बनाउन कठिन देखिएको छ ।

मधेस प्रदेशमा जनमत पार्टीको भूमिका निर्णायक हुने देखिएको छ । प्रत्यक्षमा ६ र समानुपातिकमा सात सिट गरी १३ सिट प्राप्त गर्ने सम्भावना रहेको जनमत पार्टीले सहयोग गरे गठबन्धनको सरकार बन्ने सम्भावना छ ।

प्रत्यक्ष र समानुपातिकमा प्राप्त गर्ने सम्भावित सिटका आधारमा वाम–लोकतान्त्रिक गठबन्धनमा आबद्ध दलको ४६ र एमालेसँग तालमेल गरेका दलको ४० सिट प्राप्त हुने देखिन्छ । यसरी यो प्रदेशमा जनमत र स्वतन्त्र रूपमा जितेका सांसदको समेत सरकार निर्माणमा प्रभावकारी भूमिका रहने देखिन्छ ।

मुख्यमन्त्री आकांक्षी : कांग्रेसबाट रामसरोज यादव, कृष्ण यादव र वीरेन्द्र सिंहको दाबी छ । एमालेबाट रामचन्द्र मण्डल, सरोजकुमार यादव र गोविन्द न्यौपाने दाबेदार छन् । जसपाबाट लालबाबु राउत, सरोजकुमार यादवले दाबी गरिरहेका छन् । त्यस्तै, लोसपाबाट पूर्वभौतिक योजनामन्त्री जितेन्द्र सोनल चर्चामा छन् । सत्ता र विपक्षी दुवै गठबन्धनसँग बहुमत पुग्ने स्थिति छैन । त्यस्तो वेला १३ सिट रहेको जनमत पार्टीले पनि बार्गेनिङ गर्न सक्छ ।

बागमती प्रदेशमा वाम–लोकतान्त्रिक गठबन्धनलाई बहुमत

एक सय १० प्रदेश सभा सदस्य रहेको बागमती प्रदेशमा सरकार निर्माणका लागि ५६ सिट आवश्यक छ । यस प्रदेशमा वाम–लोकतान्त्रिक गठबन्धनमा आबद्ध दलले सरकार निर्माणका लागि बहुमत पाएका छन् ।

दोलखाको दुई क्षेत्रको परिणाम आउन बाँकी रहँदा पनि प्रत्यक्षमा पाएको सिट र समानुपातिकमा प्राप्त मतका आधारमा वाम–लोकतान्त्रिक गठबन्धनको सरकार बन्ने स्पष्ट बहुमत देखिएको छ । सरकार बन्न ५५ सिट आवश्यक भएकामा कांग्रेस, माओवादी र एकीकृत समाजवादी गरी ६४ सिट प्राप्त गर्ने सम्भावना देखिएको छ ।

बागमतीमा कांग्रेस सबैभन्दा ठूलो दल बनेको छ । कांग्रेसले प्रत्यक्षमा १४ सहित ३६, माओवादीले प्रत्यक्षमा १४ सहित २१ र एकीकृत समाजवादीले प्रत्यक्षमा पाँचसहित सात सिट प्राप्त गर्ने देखिएको छ । त्यसैगरी, एमालेले १२ प्रत्यक्षसहित २६, राप्रपाले सात प्रत्यक्षसहित १४ सिट प्राप्त गर्ने सम्भावना छ ।

मुख्यमन्त्री आकांक्षी : कांग्रेसबाट इन्द्र बानियाँ र बहादुरसिंह लामा मुख्यमन्त्रीका दाबेदार छन् । एमालेबाट केशवप्रसाद पोखरेल, अमनकुमार मास्के, प्रकाश श्रेष्ठ, जयराम थापा दाबेदार हुन् । प्रमुख दाबेदार मानिएका रामेश्वर फुँयाल र सानु श्रेष्ठ पराजित भएपछि अवसर पाउँदा उनीहरूमध्ये एकले मौका पाउन सक्छन् । माओवादीबाट शालिकराम जम्कट्टेल एक्ला दाबेदार हुन् ।

गण्डकी प्रदेशमा सत्तागठबन्धनले सरकार बनाउन सक्ने 

गण्डकी प्रदेश सभामा सत्तागठबन्धनमा आबद्ध दलहरूले प्रदेश सरकार बनाउन सक्ने गरी बहुमतको संकेत देखिएको छ । सरकार गठनका लागि ३१ सिट आवश्यक हुन्छ । स्याङ्जा २ मा प्रतिनिधिसभासँगै प्रदेश सभाका दुई सिटको मतगणना हुन बाँकी हुँदा पनि गठबन्धन अगाडि देखिएको छ ।

गण्डकीमा कांग्रेसले १६ प्रत्यक्षसहित २५ सिट, माओवादीले पाँच प्रत्यक्षसहित आठ गरी ३३ सिट प्राप्त गर्ने सम्भावना देखिएको छ । एमालेसहितको विपक्षी गठबन्धनका दलले अहिलेसम्म २५ सिट प्राप्त गर्ने सम्भावना देखिएको छ । दुई गठबन्धनको सिटमा धेरै अन्तर नभए पनि अहिलेको प्रत्यक्षको सिट र समानुपातिक मतका आधारमा गठबन्धनमा आबद्ध दललाई बहुमत पुग्ने देखिन्छ । 

गण्डकीमा प्रत्यक्षतर्फ सबैभन्दा धेरै सिट कांग्रेसले ल्याएको छ । प्रत्यक्षतर्फ कांग्रेसले १६ सिट जितिसकेको छ । त्यसैगरी, माओवादीले पाँच गरी गठबन्धनले प्रत्यक्षमा २१ सिट जितेको छ । एकजना स्वतन्त्र विजयी भएका छन् । 

मुख्यमन्त्री आकांक्षी : कांग्रेसबाट शुक्रराज शर्मा, सुरेन्द्र पाण्डे दाबेदार छन् । शर्मा कांग्रेस गण्डकी प्रदेश सभापति र पाण्डे केन्द्रीय सदस्य हुन् । शर्माको नाम समानुपातिक सूचीमा रहेका कारण उनी संसद्मा आउने–नआउने टुंगो लागिसकेको छैन । एमालेबाट खगराज अधिकारी निर्विकल्प दाबेदारका रूपमा देखिएका छन् । अधिकारी एमाले संगठन विभाग प्रमुख हुन् । माओवादीबाट हरिबहादुर चुमान पनि दाबेदार छन् । 

लुम्बिनी प्रदेशमा सरकार बनाउन नयाँ दलको सहारा लिनुपर्ने 

लुम्बिनी प्रदेशमा सरकार निर्माणका लागि ४४ सिट आवश्यक छ । लुम्बिनी प्रदेशमा अहिलेसम्मको नतिजाका आधारमा वाम–लोकतान्त्रिक गठबन्धन तथा एमाले नेतृत्वका गठबन्धन कुनैले पनि स्पष्ट बहुमत प्राप्त गरेको देखिँदैन ।

सत्तागठबन्धनमा आबद्ध दलले प्रत्यक्ष र समानुपातिकमा गरी ४१ सिट र एमाले नेतृत्वको गठबन्धनले ३६ सिट प्राप्त गर्ने सम्भावना देखिएको छ । अहिलेसम्म प्राप्त सिट र मतका आधारमा सत्तागठबन्धन ठूलो देखिएको छ र अन्य दलको समर्थनमा सरकार बनाउन सहज हुने देखिएको छ । यस प्रदेशमा स्वतन्त्र, नागरिक उन्मुक्ति पार्टी र जनमत पार्टीको समेत महत्वपूर्ण भूमिका हुने देखिएको छ । 

मुख्यमन्त्री आकांक्षी : कांग्रेसबाट अब्दुल रज्जाक गद्दीको दाबी छ । उनी पूर्वराज्यमन्त्री हुन् । माओवादीबाट जोखबहादुर महराको नाम चर्चामा छ । क्षेत्री प्रदेश योजना आयोगको उपाध्यक्षसमेत बनिसकेका छन् । एमालेबाट पोलिटब्युरो सदस्य लीला गिरी र एमाले लुम्बिनी प्रदेश उपाध्यक्ष भोजप्रसाद श्रेष्ठको सम्भावना छ । 

कर्णाली प्रदेशमा गठबन्धनको सरकार बनाउन स्पष्ट बहुमत 

कर्णाली प्रदेशमा सत्तागठबन्धनमा आबद्ध दलले सरकार बनाउन सक्ने स्पष्ट बहुमत पाएका छन् । कर्णाली प्रदेश सरकार निर्माणका लागि प्रदेश सभामा २१ सिट आवश्यक पर्छ । यो प्रदेशमा प्रत्यक्षतर्फ माओवादी र कांग्रेसले नौ–नौ सिट र एकीकृत समाजवादीले एक सिट जितेका गरेका छन् ।

समानुपातिकमा प्राप्त मतसहितका आधारमा गठबन्धनले २८ सिट प्राप्त गर्ने देखिएको छ । एमालेले कर्णाली प्रदेश सभामा प्रत्यक्षतर्फ पाँच सिट जितेको छ भने समानुपातिकमा प्राप्त मतका आधारमा ५ सिट गरी १० सिट प्राप्त गर्ने सम्भावना छ । राप्रपाले पनि समानुपातिकमा १ सिट ल्याउने देखिन्छ ।

मुख्यमन्त्री आकांक्षी : कांग्रेसबाट जीवनबहादुर शाही र राजीवविक्रम शाह आकांक्षी छन् । शाही बहालवाला मुख्यमन्त्री हुन् । माओवादीबाट राजकुमार शर्मा, बिन्दमान विष्ट आकांक्षी छन् । एमालेबाट यामलाल कँडेल र विनोदकुमार शाह आकांक्षी छन् । कँडेल पार्टीको प्रदेश इन्चार्ज हुन् ।

सुदूरपश्चिम प्रदेशमा गठबन्धनलाई स्पष्ट बहुमत

५३ प्रदेश सभा सदस्य रहेको सुदूरपश्चिम प्रदेशमा सरकार निर्माणका लागि २७ सिट आवश्यक पर्दछ । बाजुराका दुई क्षेत्रको नतिजाबाहेक पनि वाम–लोकतान्त्रिक गठबन्धनमा आबद्ध दलले सरकार निर्माणका लागि बहुमत पाएका छन् ।

यस प्रदेशमा कांग्रेसले प्रत्यक्षमा ११ सहित १८, माओवादीले प्रत्यक्षमा आठसहित ११, एकीकृत समाजवादीले प्रत्यक्षमा दुईसहित तीन सिट प्राप्त गर्ने सम्भावना छ ।

सरकार निर्माणका लागि २७ सिट आवश्यक भए पनि बाजुराबाहेक प्रत्यक्ष र समानुपातिक गरी ३२ सिट प्राप्त गर्ने सम्भावना देखिएको छ । 

मुख्यमन्त्री आकांक्षी : माओवादीका प्रदेश इन्चार्ज खगराज भट्ट मुख्यमन्त्रीमा सबैभन्दा बलिया दाबेदार हुन् । डडेल्धुराका चुनावी सभामै कांग्रेस सभापति शेरबहादुर देउवाले भट्टलाई मुख्यमन्त्री बनाउने घोषणा नै गरेका थिए ।

कांग्रेसबाट बहादुरसिंह थापा, दिवानसिंह विष्ट, प्रकाश देउवालगायत आकांक्षी छन् । एमालेबाट राजेन्द्रसिंह रावल र लालबहादुर थापा दाबेदार छन् । रावलको नाम समानुपातिक सूचीमा छ ।

विराटनगरमा गणेश लम्साल, जनकपुरमा हदिश खुद्दार, हेटौँडामा पोष्टराज अधिकारी, पोखरामा रोहितराज पराजुली, बुटवलमा विष्णु घिमिरे, सुर्खेतमा रमेश रावल, धनगढीमा तेजराज भट्ट