१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
२०७९ मङ्सिर १४ बुधबार ०६:४९:००
Read Time : > 1 मिनेट
खेलकुद प्रिन्ट संस्करण

नकआउट चरणमा पुग्ने अर्जेन्टिनाको विश्वास

Read Time : > 1 मिनेट
२०७९ मङ्सिर १४ बुधबार ०६:४९:००

दुईपटकको विजेता अर्जेन्टिना विश्वकपको समूह ‘सी’मा त्यति सहज अवस्थामा छैन । तर, अर्जेन्टिना सहजै प्रिक्वार्टरफाइनलमा पुग्ने विश्वास राख्छ । समूहको अन्तिम खेलमा अर्जेन्टिनाले बुधबार पोल्यान्डको सामना गर्दै छ । अर्जेन्टिनाको तुलनामा पोल्यान्ड सहज अवस्थामा छ । पोल्यान्डको चार र अर्जेन्टिनाको तीन अंक छ । यस समूहमा साउदी अरेबियाको पनि तीनै अंक छ । यी तीनमध्ये दुई टोलीले अन्तिम १६ को स्थान बनाउनेछन् । यसैले पनि उनीहरूले आ–आफ्नो प्रतिद्वन्द्वीसँग प्रतिस्पर्धा गर्दा सहज रूपमा लिने पक्कै छैनन् । 

गत शनिबार अर्जेन्टिनाले मेक्सिकोमाथि जित निकाल्दै नकआउट चरण प्रवेशको आशा जीवितै राखेको थियो । मेक्सिकोविरुद्धको प्रतिस्पर्धामा लियोनल मेसीले खेलको ६४औँ र वैकल्पिक खेलाडी एन्जो फर्नान्डेजले एक गोल गरेका थिए । मेसीले विश्वकपमा आठ गोल पूरा गरेका छन् । मेसीले अर्जेन्टिनी लिजेन्ड डिएगो म्याराडोनाले राखेको आठ गोलको कीर्तिमान बराबरी गरे । मेसीले सो रेकर्ड बराबरी गर्न २१औँ खेलमा पूरा गरेका हुन् ।

अर्जेन्टिनाले बुधबार समूह ‘सी’को अन्तिम खेलमा ९७४ स्टेडियममा पोल्यान्डको सामना गर्दै छ । मेसीको कप्तानीमा रहेको अर्जेन्टिना तीन अंकका साथ अन्तिम १६ को लक्ष्य राख्दै पोल्यान्डसँग प्रतिस्पर्धा गर्नेछ । प्रशिक्षक लियोनल स्कोलानीले मेसीसँगै लौटारो मार्टिनेज, एन्जल डी मारिया, एन्जो फर्नान्डेज, रोड्रिगो डी पउल, एलिसिस म्याक एलिस्टरलाई विश्वास गर्नेछन् ।

‘आजबाट अर्जेन्टिनाले नयाँ विश्वकप सुरु गरेको छ । मानिसहरूले सही सोचाइ राख्नुपर्छ । हामीलाई विश्वास गर्नुपर्छ,’ दुईपटक विश्व च्याम्पियन अर्जेन्टिनाका कप्तान मेसीले मेक्सिकोलाई हराएपछि भनेका थिए । शनिबार नै विश्वकपमा पहिलो गोल गरेका रोवर्ट लेवान्डोस्की अर्जेन्टिनाविरुद्ध उच्च मनोबलमा हुनेछन् । मेक्सिकोविरुद्ध बराबर गर्दा पेनाल्टी चुकाएका लेवान्डोस्कीले साउदी अरेबियाविरुद्ध गोल गर्दै पहिलो गोल मात्रै गरेनन्, टोलीको नकआउट सम्भावनासमेत बलियो बनाए । 

यस्तो छ समीकरण 
समूहमा पोल्यान्ड दुई खेलबाट चार अंकसहित शीर्ष स्थानमा छ । अर्जेन्टिना र साउदीको समान तीन अंक रहँदा मेक्सिकोको जम्मा एक अंक छ । यो समूहमा चारै टोलीको सम्भावना उत्तिकै रहन्छ । बुधबार अर्जेन्टिनाविरुद्ध पोल्यान्डले एक अंक हासिल गरे पनि प्रिक्वार्टरफाइनलमा स्थान बनाउनेछ । यस्तो अवस्थामा अर्जेन्टिना घर फर्कन सक्ने बलियो सम्भावना रहन्छ । 

अर्जेन्टिनाले पोल्यान्डलाई पराजित गरे सीधै प्रिक्वार्टरफाइनल स्थान बनाउनेछ । एकै समयमा हुने अर्को खेल साउदी अरेबिया र मेक्सिकोबीच हुनेछ । मेक्सिकोले खेल आफ्नो पक्षमा पारे वा बराबर गर्दा अर्जेन्टिनाले अर्काे चरणमा स्थान बनाउने पक्का छ । यो नतिजा आए पोल्यान्ड र अर्जेन्टिना प्रिक्वार्टरफाइनलमा स्थान बनाउँदा मेक्सिको र साउदीको सम्भावना समूह चरणमै सकिनेछ ।