१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७९ मङ्सिर १३ मंगलबार १४:०१:००
Read Time : < 1 मिनेट
अर्थ डिजिटल संस्करण

सुपर मादी हाइड्रोपावरको आइपिओ आउँदै

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ मङ्सिर १३ मंगलबार १४:०१:००

सुपर मादी हाइड्रोपावर लिमिटेडले आयोजनाबाट असर पर्ने स्थानीय बासिन्दाका लागि साधारण सेयर निष्कासन तथा बिक्री खुला गर्ने भएको छ।

कम्पनीले यही मंसिर २० देखि प्रतिकित्ता रु. १०० अंकित दरमा १२ लाख ६० हजार कित्ता सेयर प्रारम्भिक सार्वजनिक निष्कासन (आइपिओ) स्थानीयवासीका लागि बिक्री खुला गर्ने भएको हो।

आयोजना प्रभावित कास्कीको मादी गाउँपालिका १ र २ का स्थानीयवासीका लागि तीन लाख १५ हजार कित्ता तथा सोही गाउँपालिकाका ३, ४, ५, ६, ७, ८, ९, १०, ११ र १२ तथा पोखरा महानगरपालिकाको २६, २७ र २८ वडाका स्थानीय बासिन्दाका लागि सात लाख ३५ हजार कित्ता सेयर निष्कासन हुने कम्पनीले सार्वजनिक गरेको आह्वानपत्रमा उल्लेख छ।

त्यस्तै, नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरी विदेशमा बसी रोजगार गरिरहेका नेपालीलाई भने कम्पनीले दुई लाख १० हजार कित्ता सेयर निष्कासन गर्ने भएको छ।

स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका लगानीकर्ताले आगामी पुस ५ गतेसम्म र सो अवधिमा मागबमोजिम आवेदन नपरे पुस २० गतेसम्म न्यूनतम १० कित्तादेखि अधिकतम ५० हजार कित्ता सेयर खरिदका लागि आवेदन दिन पाउने कम्पनीको भनाइ छ।

कम्पनीले कास्कीको मादी गाउँपालिकाको सिमाना भएर बग्ने मादी नदीको बहाव सदुपयोग गरी ४४ मेगावाट क्षमताको सुपर मादी जलविद्युत् आयोजना निर्माण गरिरहेको छ।

कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक सानिमा क्यापिटल लिमिटेड छ। कम्पनीलाई इक्रा नेपालले ‘इक्राएनपी आइआर बिबी’ प्रमाणपत्र प्रदान गरेको छ। रासस