मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका काठमाडौं
२०७९ मङ्सिर १२ सोमबार १९:२६:००
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

निर्वाचनमा बालबालिका प्रयोग ४० प्रतिशतले बढ्यो  

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ मङ्सिर १२ सोमबार १९:२६:००

निर्वाचनका कार्यक्रममा राजनीतिक दलले बालबालिका प्रयोग गर्ने घटना झन्डै ४० प्रतिशतले बढेको पाइएको छ। बालबालिका शान्तिक्षेत्र राष्ट्रिय अभियान (सिजप)ले  गरेको अध्ययनले यस्तो देखाएको हो। 

सिजपका अनुसार गत ३० वैशाखमा भएको स्थानीय निर्वाचनमा चुनावी प्रचारप्रसारका क्रममा राजनीतिक दलले  बालबालिका प्रयोगका घटना एक सय ५५ मात्रै थिए।

गत ४ मंसिरमा भएको निर्वाचनमा यो बढेर दुई सय १६ पुगेको छ। स्थानीय तह निर्वाचनको तुलनामा यो ३९.३५ (६१) प्रतिशतले धेरै हो। सिजपका अध्यक्ष राजेश शर्माले भर्खरै सम्पन्न निर्वाचनमा राजनीतिक दलबाट बालबालिकाको प्रयोग स्थानीय तह निर्वाचनको तुलनामा बढेको बताए। 

उनले भने, ‘कानुनतः निर्वाचनमा बालबबालिकालाई प्रयोग गर्न मिल्दैन। न उनीहरू अध्ययन गर्ने विद्यालयमा नै चुनाव प्रचारप्रसारका कार्यक्रम गर्न सकिन्छ। तर, यसपटकको निर्वाचनमा यो रोकिएन। स्थानीय तह निर्वाचनको तुलनामा यो दर बढेको देखिन्छ।’

राजनीतिक दलबाट निर्वाचन प्रचारप्रसारका क्रममा बालबालिका प्रयोग बढ्न थालेपछि सिजपले निर्वाचन आयोग र मानवअधिकार आयोगमा उजुरी गरेको थियो। 

उजुरी संकलनका लागि सिजपले मुलुकभर रहेका आफ्ना सबै सञ्जाल प्रयोग गरेको थियो। उजुरी गर्न पत्रपत्रिका र सामाजिक सञ्जालमा आएका घटनालाई पनि आधार बनाएको थियो।  

त्यसबाहेक सम्बन्धित राजनीतिक दलसँग पनि समन्वय गरेर सूचना संकलन गरेको थियो। यही आधारमा निर्वाचनमा बालबालिका प्रयोगका २ सय १६ घटना हुन पुगेको र सबै निर्वाचन र मानवअधिकार आयोगमा उजुरी गरेको सिजप अध्यक्ष शर्माले बताए। 

उनले भने, ‘सुचना संकलनका लागि हाम्रो आफ्नै सञ्जाल छ। त्यसबाहेक पत्रपत्रिका, सामाजिक सञ्जाल र सम्बन्धित राजनीतिक दलबाट प्राप्त विवरणलाई हामीले सूचना संकलनको आधार बनाएका थियौँ। यस क्रममा २ सय १६ घटना भएको भेटियो।’

सिजपका अनुसार सबैभन्दा धेरै र्यालीका १ सय ४४ कार्यक्रममा बालबालिका प्रयोग भएका छन्। त्यस्तै, घरदैलोका १२ र आमसभाका १८ घटनामा बालबालिका प्रयोग भएका छन्। त्यस्तै, कलाकारका रूपमा पनि बालबालिका प्रयोग भएका छन्। 

राजनीतिक दलबाट भएका २८ वटा कार्यक्रममा बालबालिका कलाकारका रूपमा प्रयोग भएका थिए। त्यसबाहेक अन्य प्रचारप्रसारका १३ घटनामा बालबालिका प्रयोग भएका थिए। 

बालबालिकालाई प्रचारप्रसारमा दुरुपयोग गर्ने राजनीतिक दलमा सबैभन्दा अघि एमाले रहेको अध्ययनले देखाएको छ। चुनावी प्रचारप्रसारका ७१ घटनामा एमालेले बालबालिका प्रयोग गरेको थियो। त्यसपछि लोकतान्त्रिक वाम गठबन्धनले  ५२ र कांग्रेसले २२ घटनामा बालबालिका प्रयोग गरेको थियो। 

त्यस्तै, माओवादीले १३, नेकपा एसले ८, लोकतान्त्रिक समाजवादी पार्टीले ३, राष्ट्रिय प्रजातन्त्र पार्टीले १२, राष्ट्रिय स्वतन्त्र पार्टीले ७ घटनामा बालबालिका प्रयोग गरेको थियो। बाँकी २८ घटनामा भने अन्य दलले बालबालिका प्रयोग गरेको थियो। 

सिजपका अनुसार राजनीतिक दलले चुनावी प्रचारप्रसारका क्रममा विद्यालय, विद्यालय बस र शिक्षक पनि प्रयोग गरेका छन्। यस क्रममा २५ विद्यालय, एक विद्यालय बस र ४ शिक्षक प्रयोग भएका थिए।
 
बालबालिकासम्बन्धी ऐन ०७५ को दफा ६६ को उपदफा २ (क) ले राजनीतिक प्रयोजनमा बालबालिकालाई संगठित गर्ने वा हडताल, बन्द, चक्काजाम, धर्ना वा जुलुसमा प्रयोग गर्न प्रतिबन्ध गरेको छ। कसुरदारलाई सोही ऐनको दफा ७२ को उपदफा ३ (ख) अनुसार ७५ हजार रुपैयाँ जरिवाना र तीन वर्षसम्म कैद सजाय हुनेछ।