१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ११ मंगलबार
  • Tuesday, 23 April, 2024
२०७९ मङ्सिर १२ सोमबार ०९:०३:००
Read Time : > 2 मिनेट
खेलकुद प्रिन्ट संस्करण

विश्वकपमा सहभागी धनी पाँच फुटबलर

Read Time : > 2 मिनेट
२०७९ मङ्सिर १२ सोमबार ०९:०३:००

फुटबलकै सबैभन्दा ठूलो प्रतियोगिता कतारमा भइरहेको छ । एक महिनासम्म चल्ने विश्वकपले अन्य खेललाई ओझेलमा पार्ने पक्का छ । खेलप्रेमी विश्वकप फुटबलमै केन्द्रित छन् । विश्वकपमा ३२ राष्ट्रबाट आठ सयभन्दा मािथ खेलाडी सहभागी छन् । सयौँ खेलाडीबीच विश्वकपमा विश्व चर्चित मात्र नभएर धनी पनि रहेका छन् । अमेरिकन चर्चित पत्रिका फोब्र्सका अनुसार विश्वकपमा सहभागीमध्ये फ्रान्सका केलियन एम्बाप्पे सबैभन्दा धनी खेलाडी हुन् । उनले आफ्नै क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी)का लियोनल मेसी, नेमार जुनियरसँगै पोर्चुगलका क्रिस्टियानो रोनाल्डोलाई समेत पाखा लगाएका छन् । खेलाडीहरूको मुख्य आम्दानी नै क्लबबाट पाउने वार्षिक पारिश्रमिक हो । सहभागी ३२ राष्ट्रका खेलाडीको समग्रमा वार्षिक आम्दानी चार सय मिलियन पाउन्ड रहेको छ । 

१‍. केलियन एम्बाप्पे (फ्रान्स)
वार्षिक आम्दानी : १२९ मिलियन डलर 

साबिक विजेता फ्रान्स विश्वकपको नकआउट चरणमा पुग्ने पहिलो टोली बन्यो । फ्रान्सलाई अन्तिम १६ को स्थान पक्का गराउनमा युवा स्ट्राइकर केलियन एम्बाप्पेले निर्णायक भूमिका निर्वाह गरेका छन् । रमाइलो पक्ष के छ भने उनी विश्वकपकै सबैभन्दा महँगा खेलाडी हुन् । यस बर्ष एम्बाप्पेले एक सय २९ मिलियन डलर आर्जन गरेका छन् । पेरिस सेन्ट जर्मेन (पिएसजी)मा आबद्ध एम्बाप्पे वार्षिक पारिश्रमिक १.७ मिलियन पाउन्ड लिने गर्छन् । एम्बाप्पेको आम्दानी बढ्नुका पछाडि प्रतिसाताको पारिश्रमिक हो । उनी विश्वचर्चित नाइकका सद्भाव राजदूत हुन् । हुबोल्ट घडी कम्पनीका एम्बासडरसमेत रहेका एम्बाप्पले एक मिलियन पाउन्ड लिन्छन् । विभिन्न कम्पनीको विज्ञापनबाट पनि उनले आफ्नो आम्दानी प्रतिवर्ष बढाउँदै गइरहेका छन् । 

२. लियोनल मेसी (अर्जेन्टिना)
वार्षिक आम्दानी १२० मिलियन डलर

कतार विश्वकपमा उत्कृष्ट फर्ममा रहेका अर्जेन्टिनी कप्तान लियोनल मेसी सर्वाधिक दोस्रो महँगा खेलाडी हुन् । विश्वकपमा सहभागीमध्ये मेसी हाई प्रोफाइल खेलाडीमा पर्छन् । मेसीले लगातार दुई खेलमा गोल गरेका छन् । उनले पहिलो खेलमा साउदी अरेबिया र दोस्रो खेलमा मेक्सिकोविरुद्ध गोल गरेका थिए । मेसी विभिन्न बहुराष्ट्रिय कम्पनीसँग आबद्ध छन् । एडिडासबाट मात्र उनले वार्षिक २५ मिलियन डलर थाप्छन् । यसैगरी, उनले पेप्सी तथा बुडबेस्टरको विज्ञापनबाट राम्रो कमाइ गर्छन् । गत गत सिजनमा मेसी बार्सिलोनाबाट फ्रान्सको पेरिस सेन्ट जर्मेन (पिएसजी)मा आबद्ध भएका थिए । पिएसजीमा आबद्ध भएसँगै उनको मासिक आम्दानी बढेको एजेन्सीले जनाएको छ । 

३. क्रिस्टियानो रोनाल्डो (पोर्चुगल)
वार्षिक आम्दानी ः सय मिलियन पाउन्ड

पोर्चुगलका कप्तान क्रिस्टियानो रोनाल्डो यो समयमा क्लबविहीन छन् । विश्वकपको पहिलो खेलमा घानाविरुद्ध उत्कृष्ट प्रदर्शन गरेका रोनाल्डो सहभागी खेलाडीमध्ये तेस्रो महँगा खेलाडीमा पर्छन् । म्यानचेस्टर युनाइटेडसँग गत साता सम्बन्ध तोडेका रोनाल्डोको वार्षिक आम्दानी सय मिलियन डलर रहेको छ । सन् २०२१ मा युनाइटेडमा आबद्ध हुँदा इंग्लिस प्रिमियर लिगमा उनी सबैभन्दा महँगा खेलाडी बनेका थिए । उनले युनाइटेडबाट प्रतिसाता पाँच लाख ७५ हजार पाउन्ड लिन्थे । स्पोर्टस्ट्र्याकका अनुसार उनले मैदानबाहिर ६० मिलियन डलर आर्जन गर्छन् । एक बिलियन पाउन्डमा उनले नाइकसँग लाइफ टाइम सम्झौता गरेका छन् । उनले आफ्नै नाममा सिआर–७ कम्पनी खोलेका छन् । विश्वभरि सिआर–७ ले विभिन्न खेल सामग्री बिक्री गर्छ । स्पेन र पोर्चुगलमा उनले विभिन्न होटेल खोलेका छन् । यस वर्ष उनले विज्ञापनबाट चार करोड ७० लाख पाउन्ड आर्जन गरे । 

४ .नेमार जुनियर (ब्राजिल) 
 वार्षिक आम्दानी : ८७ मिलियन डलर

चालू विश्वकपमा ब्राजिलका स्टार खेलाडी नेमार जुनियरले दुई खेल गुमाइसकेका छन् । पहिलो खेलमा चोट बोकेका कारण उनले समूह चरणका दुई खेल गुमाएका हुन् । सन् २०१७ मा बार्सिलोनाबाट पिएसजीमा आबद्ध हुँदा नेमार विश्वकै महँगा खेलाडी बनेका थिए । नेमार र पिएसजीबीच दुई सय ६३ मिलियन डलर सम्झौता भएको छ । फोब्र्सका अनुसार यी दुईबीच सन् २०२५ सम्म सम्झौता भएको छ । नेमारले पिएसजीबाट वार्षिक ३६ मिलियन डलर पारिश्रमिक रूपमा लिन्छन् । मैदानबाट उनको आम्दानी ४० मिलियन डलर रहेको छ । नेमार विश्वप्रसिद्ध नाइक, पुमा तथा जिलेट र रेडबुलसँग आबद्ध छन् । नेमारसँग १० मिलियन डलरको निजी जेट विमान छ । नेमारले विभिन्न सामाजिक सञ्जालबाट पनि राम्रो आम्दानी गर्छन् । 

५ .रोबर्ट लेवान्डोस्की (पोल्यान्ड) 
वार्षिक आम्दानी : ३५ मिलियन डलर

एक दशकको प्रयासपछि पोल्यान्डका कप्तान तथा स्ट्राइकर रोबर्ट लेवान्डोस्कीले विश्वकपमा पहिलो गोल ठोक्न सफल भए । विश्वकपअन्तर्गत समूह चरणको दोस्रो खेलमा पोल्यान्डले साउदी अरेबियालाई २–० ले हराउँदा लेवान्डोस्कीले गोल गरेका थिए । हाई प्रोफाइनल खेलाडीमध्ये एक लेवान्डोस्की विश्वकपकै पाँचौँ धनी खेलाडी हुन् । उनको वार्षिक आम्दानी ३५ मिलियन डलर रहेको छ । वर्तमान समयकै उत्कृष्ट स्ट्राइकरमा पर्ने लेवान्डोस्की गत वर्ष बायर्न म्युनिखबाट बार्सिलोना क्लबमा आबद्ध भएका थिए । उनले बार्सिलोनासँग ५० मिलियन डलर सम्झौता गरेका छन् । फुटबल स्पानाको रिपोर्टअनुसार लेवान्डोस्की नाइक, हुवाई, हेड एन्ड सोल्डर्स र ओसी वाटर कम्पनीसँग आबद्ध छन् । विभिन्न कम्पनीका विज्ञापन गर्दै वार्षिक रूपमा लाखौँ डलर कमाउनेमा उनी पर्छन् ।