१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
मधेश प्रदेशकाे राजधानी जनकपुरधाममा रहेकाे जानकी मन्दिर । तस्बिर : नयाँ पत्रिका
हदिश खुद्दार जनकपुरधाम
२०७९ मङ्सिर ११ आइतबार १३:५५:००
Read Time : > 2 मिनेट
समाचार डिजिटल संस्करण

मधेशमा कसको सरकार बन्ला ?

सरकारको नेतृत्व कांग्रेस वा एमालेको हातमा जाने सम्भावना

Read Time : > 2 मिनेट
हदिश खुद्दार, जनकपुरधाम
२०७९ मङ्सिर ११ आइतबार १३:५५:००

प्रतिनिधि र प्रदेश सभा निर्वाचनको मतपरिणाम धमाधम आइरहेको छ । प्रतिनिधिसभासँगै प्रदेशका परिणामलाई चासोका साथ हेरिएको छ । किनभने, आगामी पाँच वर्षका लागि प्रदेशमा कसको सरकार बन्छ भन्ने टुंगो यही परिणामले लगाउनेछ । 

धमाध परिणामहरू सार्वजनिक भइरहँदा मधेशलाई पनि धेरैले चासोका साथ हेरेका छन् । यहाँ ६४ प्रत्यक्ष र समानुपातिक ४३ गरी १०७ सदस्य रहनेछ । अहिलेसम्म प्रत्यक्षमा ६१ निर्वाचन क्षेत्रको मतपरिणाम सार्वजनिक भइसकेको छ । 

यो प्रदेशमा अघिल्लोपटक पाँच वर्ष जनता समाजवादीको नेतृत्वमा सरकार बनेको थियो । तर, अहिले प्रदेश सभाभित्रको शक्ति सन्तुलनमा भारी फेरबदल आएको छ । 

कुनै पनि दलको स्पष्ट बहुमत नआए पनि मधेश प्रदेशमा एमाले सबैभन्दा ठूलो दल बन्ने स्पष्ट भएको छ । एमाले १३ सिटमा जित सुनिश्चत गरिसकेको छ भने महोत्तरीको निर्वाचन क्षेत्र १ को (२) मा अग्रता कायम गरेको छ । 

त्यसैगरी, कांग्रेसले १२ र जसपाले ९ सिटमा जित हात पारेको छ । लोसपाले सातवटा सिटमा जित निकालेको छ भने सर्लाहीको निर्वाचन क्षेत्र नम्बर २ को (२) मा अग्रता राखेको छ । माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी पार्टी ४–४ वटा क्षेत्रमा जित हासिल गरेका छन् । 

प्रदेश सभामा पहिलोपटक डा. सिके राउत नेतृत्वको पार्टी जनमत पार्टीले ६ सिट जितको छ । यो निर्वाचनको अर्को रोचक पक्ष के हो भने प्रदेश सभामा ६ जना स्वतन्त्र उम्मेदवार पनि विजयी भएका छन् । यसअघि अबुल कलाम अजाद मात्र स्वतन्त्र थिए । पछि उनी तत्कालीन संघीय समाजवादी पार्टीमा प्रवेश गरे । अदाज अहिले जसपाबाट प्रदेश सभामा निर्वाचित भएका छन् ।

समानुपातिकतर्फको मतपरिणम हेर्दा कांग्रेस सबैभन्दा अघि देखिन्छ । कांग्रेसले मधेस प्रदेशमा अहिलेसम्म एक लाख ७४ हजार ४४ मत ल्याइसकेको छ । एमालेले एक लाख ४९ हजार ९२० मत ल्याएर अग्र स्थानमा छ । अर्थात समानुपातिकमा पनि कांग्रेस र एमाले नै राम्रो सिट ल्याउने देखिन्छ । मधेशकेन्द्रित दल जसपा अहिलेसम्म एक लाख २२ हजार २५०, जनमत एक लाख ४४१, माओवादी केन्द्र ६६ हजार ४०५, नेकपा एस ४७ हजार ८२२, लोसपा ४५ हजार ६९६ मत ल्याएका छन् । 

अहिले जसपाको नेतृत्वमा रहेको मधेश प्रदेश सरकारमा माओवादी र एकीकृत समाजवादी पनि सहभागी छन् । तत्कालीन जसपा विभाजित भएर लोसपा अलग भएपछि जसपाले कांग्रेस, माओवादी केन्द्र र एसलाई सरकारमा सामेल गरेको थियो । 

तर, जसपाले केन्द्रमा एमलोसँग तालमेल गरेपछि प्रदेश सरकारबाट उसले कांग्रेसका मन्त्रीलाई हट्न बाध्य पार्यो । सत्तारुढ गठबन्धनबाट अलग भएको जसपा अहिले सरकार बनाउन निर्णायक शक्ति बन्न सकेन । 

मधेशमा अस्थिर सरकारको जोखिम
०७४ को निर्वाचनबाट तत्कालीन संघीय समाजवादी र राजपा मधेशमा बलियो शक्तिका रूपमा देखा परेका थिए । त्यसैले यी दुई मिलेरै तीन वर्षसम्म सरकार चलाए । लालबाबु राउत मुख्यमन्त्री बने । यसबीच यी दुई पार्टीबीच एकता भयो र जनता समाजवादी पार्टी गठन भयो । 

तर, राष्ट्रिय राजनीतिमा उथलफुथल सुरु भएपछि त्यसको प्रभाव मधेश प्रदेश सरकारमा पनि पर्यो । जसपा विभाजन भयो र लोसपाको जन्म भयो । लोसपा सरकारबाट बाहिरिएपछि कांग्रेस, माओवादी र एकीकृत समाजवादीको प्रवेश भयो । पाँच वर्षको अवधिमा लालबाबुले ६ पटकसम्म सरकार पुनर्गठन गरे । 

राजनीतिक विशलेषक रोशन जनकपुरी यो निर्वाचनले मधेशको शक्तिसन्तुलनमा ठूलो फेरबदल आएकाले अबको सरकार थप अस्थिर हुने बताउँछन् । उनका अनुसार अहिलेसम्मको नतिजा हेर्दा मधेशमा अहिलेको सत्तागठबन्धनको पाँच दलीय मिलिजुली सरकार बन्ने सम्भावना छ । तर, उनी त्यस्तो सरकार अस्थिर बन्न सक्ने देख्छन् । 

एमाले, जसपा, जनमत, स्वतन्त्र वा अन्य साना दलको सरकार बनाउने प्रयास भए त्यो झन् अस्थिर र कमजोर हुने विश्लेषक जकपुरियाको दावी छ । 

‘एमाले–जसपाले चुनावी तालमेल गरे पनि सम्बन्ध बलियो हुन सकेको छैन,’ उनी भन्छन्, ‘एमाले अध्यक्ष ओलीले जसपा अध्यक्ष यादवसँग चुनावी तालमेल गर्न हात त मिलाए, तर दिल मिलाउन सकेनन् । तालमेलले एमालेलाई लाभ पुगे पनि जसपालाई पुगेन ।’

स्वतन्त्र सांसदको भूमिका महत्वपूर्ण
प्रत्यक्षतर्फ कांग्रेसको १२, लोसपाको अग्रतासहित आठ, माओवादी केन्द्र र एकीकृत समाजवादीको मतलाई जोड्दा २८ पुग्छ । सरकार बनाउन ५१ प्रतिशत सिट आवश्यक हुन्छ । यस्तोमा प्रत्यक्षतर्फ मात्रै ३३ सिट चाहिन्छ । यस्तोमा सत्तारुढलाई सरकार बनाउन स्वतन्त्र वा जनमत पार्टीको सहयोग आवश्यक छ । 

त्यसैगरी, जसपा एमाले गठबन्धनको जसपाको ९ र एमालेको १ स्थानमा अग्रतासहित १४ गरी २५ हुन्छ । जसपा एमाले गठबन्धनले ६ सिटमा विजयी जनमतको समर्थनमा सरकार बनाउन सक्दैन । त्यसलाई पनि स्वतन्त्रको सहयोग आवश्यक पर्छ ।