मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
२०७९ मङ्सिर ११ आइतबार १२:३०:००
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

अब पाँचदलीय गठबन्धनको सरकार बन्छ : गृहमन्त्री खाण

निर्वाचनमा जनताको अभिमतलाई सहजतापूर्वक लिएको छु : गृहमन्त्री खाण

Read Time : > 1 मिनेट
२०७९ मङ्सिर ११ आइतबार १२:३०:००

गृहमन्त्री बालकृष्ण खाणले अब पाँचदलीय गठबन्धनको सरकार बन्ने बताएका छन्। रुपन्देहीको भैरहवामा आइतबार बिहान भएको पाँचदलीय गठबन्धनको बैठकमा गृहमन्त्री खाणले गठबन्धनको बहुमत पुग्ने र गठबन्धनमा आबद्ध दलहरूबीच पाँच वर्षसम्म व्यवस्थालाई मझबुत बनाउँदै नागरिकको अवस्था सुधार्न गठबन्धनको सरकार बनाउने सहमति भएको बताए । 

यो गठबन्धन पाँच वर्षसम्म निरन्तर जाने दावी गरेका खाणले प्रधानमन्त्री को बन्ने भन्ने पाँच दलका शीर्ष नेता बसेर टुंग्याउने बताए । ‘पाँचदलीय गठबन्धनको सरकार बन्छ,’ उनले भने, ‘प्रधानमन्त्री को बन्ने भन्ने प्रधानमन्त्रीसमेत रहनुभएका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर र राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी बसेर टुंग्याउनुहुन्छ । पाँच दलीय गठबन्धन पाँच वर्षसम्म रहन्छ ।’

रुपन्देही ३ बाट प्रतिनिधिसभा सदस्यमा पराजित खाणले आफूले निर्वाचनको नतिजालाई सहजतापूर्वक लिएको प्रतिक्रिया दिए । ‘निर्वाचनमा पराजयलाई सहजतापूवक लिन गाह्रो हुन्छ । तर, म कृष्णप्रसाद भट्टराईको स्कुलिङमा हुर्केको हुँ । तसर्थ जनताको अभिमतलाई सहर्ष स्वीकार गर्छु,’ गृहमन्त्री खाणले भने । 

आफू गृहमन्त्री भएको वेलामा भएको निर्वाचनमा आफै उम्मेद्वार हुँदा जनताले दिएको अभिमतलाई सहजतापूर्वक स्वीकार गर्नु गृहमन्त्रीको पहिलो दायित्व भएको भन्दै उनले त्यो दायित्व आफूले सहजतापूर्वक पूरा गरेको जिकिर गरे । 

गृहमन्त्रीका रूपमा प्रतिनिधि सभा-प्रदेशसभा निर्वाचन स्वच्छ, निष्पक्ष र भयरहित तरिकाले शान्तिपूर्ण रूपमा एकैचरणमा सम्पन्न गर्ने मुख्य भूमिका पूरा गर्न पाएकोमा आफूलाई खुसी लागेको खाणले बताए । 

जनताको लामो संघर्षपछि आएको व्यवस्थालाई मजबुत बनाउन गठबन्धन निर्माण गरेर त्यसलाई पाँच वर्ष चलाउनुपर्छ भन्ने विषयको सुत्रधार भएकाले गठबन्धन विरोधीहरूको तारोमा आफू परेको उनको दावी थियो । आफू निर्वाचनमा पराजय व्यहोरे पनि गठबन्धलाई टिकाइराख्न भरमग्दुर प्रयास गरिरहने उनको भनाइ थियो ।

आफ्नै पार्टीका केही नेता गठबन्धनको विरुद्धमा लागिरहेको भन्दै त्यो प्रयास सफल हुन नदिने गृहमन्त्री खाणको भनाइ थियो । आफू सरकारमा भए पनि नभए पनि गठबन्धनका पक्षमा रहने र सफल पार्न लागिरहने उनले जिकिर गरे । 

बैठकमा बोल्ने अन्य नेताहरूले गठबन्धनमा रहेका दलहरूका आन्तरिक कारणले राम्रो जनमत हुँदाहुँदै पनि पराजय व्यहोर्नुपरेको बताएका थिए । बैठकमा गठबन्धनकातर्फबाट उम्मेदवार भई प्रदेश सभा (१)मा निर्वाचिन लोकतान्त्रिक समाजवादी पार्टीका नेता सन्तोषकुमार पाण्डेलाई गृहमन्त्री खाणले सम्मान गरेका थिए ।