मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
अनिल यादव काठमाडाैं
२०७९ मङ्सिर ११ आइतबार १०:३०:००
Read Time : > 5 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

कलाकारितामा रुचाइए, चुनावमा रुचाइएनन्

Read Time : > 5 मिनेट
अनिल यादव, काठमाडाैं
२०७९ मङ्सिर ११ आइतबार १०:३०:००

प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनमा उठेका पाँच कलाकर्मीको त जमानत पनि जोगिएन

प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनमा यसपटक दर्जनभन्दा बढी कलाकार उम्मेदवार थिए । तर, ‘रिल’मा देखिने उनीहरूको जादु ‘रियल’मा जम्न सकेन । फिल्म निर्माता रोज राणा र मधुकुमार श्रेष्ठबाहेक चुनावी मैदानमा उत्रिएका सबै कलाकार प्रतिस्पर्धामा पछाडि परे । चुनावअघिसम्म चर्चामा रहेका धेरैजसोको जमानतसमेत जोगिएन ।

चलचित्र क्षेत्रमा रोज राणाका रूपमा परिचित सरोज थापा प्युठान (ख)बाट कांग्रेसका उम्मेदवार थिए । उनले २२ हजार ५१९ मत ल्याएर एमाले उम्मेदवार हरिप्रसाद रिजाललाई पराजित गरे । 

रिजालले २० हजार ८०७ मत ल्याए । अभिनेता तथा निर्माता मधुकुमार श्रेष्ठ धादिङ १ (क) बाट विजयी भएका छन् । कांग्रेसबाट उम्मेदवार बनेका उनले एमाले उम्मेदवार रमेश आचार्यलाई पराजित गरेका हुन् । श्रेष्ठले १७ हजार ८३२ र आचार्यले १६ हजार ५३८ मत प्राप्त गरे । श्रेष्ठले केही फिल्म निर्माण तथा अभिनयसमेत गरेका छन् ।

को–को भए पराजित ?

दाङ ३ बाट प्रतिनिधिसभा सदस्यको उम्मेदवार बनेकी गायिका कोमल वली पराजित भइन् । सात हजार ८१० मतान्तरले उनी कांग्रेसका उम्मेदवार दीपक गिरीसँग पराजित भएकी हुन् । गिरीले ३६ हजार ८४२ र वलीले २९ हजार ३२ मत प्राप्त गरे ।

एमालेबाट राष्ट्रिय सभा सदस्य भइसकेकी वली चुनावताका मतदातामाझ गाउँदै–नाँच्दै मत मागिरहेकी थिइन् । स्कुलमा विद्यार्थीसँग मत मागेको तस्बिर बाहिरिएपछि चुनावी प्रचारका क्रममा उनलाई निर्वाचन आयोगले स्पष्टीकरणसमेत सोधेको थियो । राप्रपा छाडेर एमाले प्रवेश गरेकी उनले राजनीतिमै सक्रिय हुन रेडियो नेपालको जागिर छाडेकी थिइन् । उनलाई एमाले अध्यक्ष केपी ओलीले राष्ट्रिय सभा पुर्‍याएका थिए । हाल उनी एमालेको केन्द्रीय सदस्य छिन् ।

चुनावी प्रचारताका व्यापक चर्चामा रहेकी अभिनेत्री रेखा थापा मतगणनामा भने सुरुदेखि नै तेस्रो स्थानमा सीमित भइन् । उनी कांग्रेस उम्मेदवार सुनीलकुमार शर्मासँग करिब ३८ हजार मतान्तरसहित पराजित भइन्् । थापाले १० हजार ९९८ मत मात्रै ल्याइन् । एमाले उम्मेदवार भानुभक्त ढकालले २५ हजार ८९७ मत ल्याउँदै दोस्रो स्थानमा रहे । रेखाबाहेक ढकाल र शर्मा यो क्षेत्रका पुरानै प्रतिस्पर्धी हुन् । रेखाको ‘इन्ट्री’ले यसपटक उनीहरूको प्रतिस्पर्धामा चुनौती थपेको आकलन थियो । रेखा जहाँ–जहाँ भोट माग्न पुग्थिन्, त्यहाँ–त्यहाँ मतदाताले उनीसँग सेल्फी खिचाउँथे । मत माग्ने क्रममा मतदातासँग क्यारम खेल्नेदेखि इरिक्सा चलाउनसम्म पछि परेकी थिइनन् उनी । तर, प्रचारका क्रममा देखिएको माहोल मतमा परिणत हुन नसक्दा परिणाममा भने उनी पछि परिन् । 

कमेडियन हिमेश पन्तलाई पनि चुनावी डेब्यु फापेन । धादिङ २ मा एकीकृत समाजवादीका नेता बागमतीका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेसँग प्रतिस्पर्धा गर्न पुगेका कमेडी च्याम्पियनका विजेता पन्तलाई चुनावी परिणामले भने निराश बनायो । पाण्डे ३५ हजार ९३४ मतसहित विजयी हुँदा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार हिमेशले १२ हजार ४७५ मत ल्याएर तेस्रो स्थानमा चित्त बुझाउनुपर्‍यो । २७ हजार ९५३ मतसहित दोस्रो स्थानमा एमालेका भूमिप्रसाद त्रिपाठी आए । 

सबैभन्दा कान्छो उमेरका उम्मेदवारका रूपमा मैदानमा देखिएका २५ वर्षीय पन्त पराजयपछि उल्टै मतदातालाई आक्षेप लागेर विवादमा तानिए । उनले दुई–चार लाख खर्च गरेर चुनाव लड्नु मजाकको विषय नरहेको बताउँदै पहाड, लेक र गाउँका मान्छेहरूको चेतनास्तरमा सुधार नआएको आरोप लगाए ।

‘करोडौँ करोड खर्च गरेर चुनाव लड्नेहरूसँग दुई–चार लाख खर्च गरेर चुनाव लड्नु कुनै जोक होइन,’ पराजित भएपछि उनले फेसबुकमा लेखे, ‘धादिङ १ मा पाँचवटा गाउँपालिका र एउटा नगरपालिका छ । हाइवे लाइन र नगरपालिकामा बुझ्ने मान्छे भए पनि पहाड, गाउँ र लेकका मान्छेहरूको चेतनास्तरमा अझै सुधार आएको छैन । हामी प्रचार–प्रसारमा हिँड्दै गर्दा ‘जसले दिन्छ नोट, उसैलाई भोट’ भनेको पनि धेरै सुन्न पाइयो । कतिले त ‘भोट चाहिए रक्सी खुवाउनुस्’सम्म भन्न भ्याए । धादिङ कुनै पनि हालतमा काठमाडौंजस्तो हुँदैहोइन ।’ प्रतिक्रियाबाट उनको सर्वत्र आलोचना भएपछि उनले यो स्टाटस सम्पादन गरिसकेका छन् । 

काठमाडौं १ मा प्रदेश (क)बाट उम्मेदवारी दिएका कलाकार सम्राट सापकोटा पनि पराजित भएका छन् । सो क्षेत्रमा कांग्रेसका दिपेन्द्र श्रेष्ठ निर्वाचित हुँदा उनले २१ सय १३ मतसहित चौथो स्थानमा चित्त बुझाए । नेपाल सुशासन पार्टीका तर्फबाट उम्मेदवारी दिएको उनी पूर्वडिआइजी रमेश खरेलसँगै भोट माग्न हिँडेका थिए । 

जसको जमानतसमेत जोगिएन 

काठमाडौं ५ मा कांग्रेस नेता प्रदीप पौडेल र एमाले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलसँगै चुनाव लड्न पुगेका हास्य कलाकार मधुसुदन पाठकले जमानतसमेत जोगाउन सकेनन् । कांग्रेसका पौडेलले १५ हजार २६९ मतसहित पोखरेललाई हराउँदै गर्दा उनले भने ३६४ मत मात्रै ल्याए । हास्य सिरियल ‘सक्किगो नि’मा ‘सितेबा’को चरित्रमार्फत दर्शकमाझ प्रिय रहेका उनी लौरो अभियान चलाएको हाम्रो नेपाल पार्टीका तर्फबाट उम्मेदवार थिए ।

‘दासढुंगा’, ‘वधशाला’, ‘द ग्रेटर नेपाल’जस्ता राजनीतिक मुद्दामा फिल्म बनाएर चर्चामा आएका फिल्म निर्देशक मनोज पण्डित पनि संसदीय निर्वाचनमा पराजित भएका छन् । एमाले नेता तथा पूर्वसञ्चारमन्त्री गोकुल बाँस्कोटाविरुद्ध काभ्रे २ बाट स्वतन्त्र उम्मेदवारी दिएका उनले एक सय ७३ मत मात्रै ल्याए । बाँस्कोटाले ७० करोड भ्रष्टाचार गरेको आरोपलाई उनले चुनावको मुख्य एजेन्डा बनाएका थिए । तर, उनै बाँस्कोटाले ४५ हजार ३४५ मत ल्याएर प्रतिस्पर्धी कांग्रेसका उम्मेदवार शिवप्रसाद हुमागाईंलाई हराए । आफूले हार्दाभन्दा पनि बाँस्कोटाको जितले पराजय महसुस भएको उनले प्रतिक्रिया दिएका छन् ।

‘स्वतन्त्र एकजना संसद्मा गएर के गर्न सक्छ र ? भन्ने अवधारणा स्थापित भएका कारण मैले धेरै मत ल्याउने अवस्था भएन,’ उनले भने, ‘जति मत आयो, त्यो सद्भाव र वैचारिक समर्थनको मत हो । म हरेक मतको सम्मान गर्दै काभ्रेपलाञ्चोकको हितमा सधैँ काम गर्नेछु । यो चुनाव मेरा लागि प्रारम्भ हो, अध्ययन हो । आफ्नो भूगोल र समाजसँगको मेरो पहिलो वार्तालाप हो । अब आफ्नो पेसा र काभ्रेको राजनीतिमा सन्तुलन व्यवस्थापन गरेर म अगाडि बढ्नेछु ।’

संसदीय निर्वाचनको अनुभवबाट प्रेरित भएर ‘४ मंसिर’देखि नै नयाँ सिनेमा लेखनको प्रारम्भ गरेको पण्डितले बताए । ‘सिनेमामा मेरो तेस्रो चरणको प्रारम्भ भएको छ,’ उनले भने । चुनावताका ‘बदल्नु छ अब’ नारासहित उनी एक्लै मोटरसाइकल चढेर गाउँगाउँ भोट माग्न पुगेका थिए ।

राप्रपाले टिकट नदिएपछि काठमाडौं ६ बाट स्वतन्त्र उम्मेदवारी दिएका गायक सञ्जय श्रेष्ठको पनि जमानत जफत भएको छ । उनले पाँच सय ७७ मत मात्रै ल्याए । यो क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीका शिशिर खनाल १४ हजार २०४ मतसहित निर्वाचित भए । कांग्रेसका भीमसेनदास प्रधान र एमालेका उम्मेदवार पूर्वआइजिपी सर्वेन्द्र खनालसमेत पराजित भए । खनालले आठ हजार ९११ र प्रधानले आठ हजार ८०५ मत ल्याए । हालै राप्रपा प्रवेश गरेका गायक मुरली मिझार (मुरलीधर) ले आफ्नै गृहक्षेत्र सिराहा २ बाट प्रतिनिधिसभा सदस्यमा उम्मेदवारी दिएका थिए । तर, जारी मतगणनामा उनको पनि जमानत जोगिने स्थिति छैन । उनले सात सय ८२ मत मात्रै ल्याएका छन् । यो क्षेत्रमा जसपाका राजकिशोर यादवले २४ हजार १ सय ७८ मत पाएका छन् । मुरलीधरले ‘उडायो सपना सबै हुरी’जस्ता दर्जनौँ हिट गीत गाएका छन् । 

काठमाडौं–१ (२) मा लोसपाका तर्फबाट उम्मेदवार रहेका फिल्म निर्माता एवं वितरक करण श्रेष्ठले एक सय मत पनि ल्याउन सकेनन् । यहाँ कांग्रेसका सुरजचन्द्र लामिछाने चार हजार पाँच सय १० मतसहित विजयी हुँदा उनले ६७ मत मात्रै ल्याए । 

राजनीति गर्ने हो भने ग्राउन्डमै गएर भिज्नुपर्ने रहेछ 

रेखा थापा, राप्रपा नेतृ

चुनावी पराजयलाई कसरी लिनुहुन्छ ?
निर्वाचनमा पराजयभन्दा पनि मत धेरै पाउनु ठूलो उपलब्धि हो । किनभने, म लडेको मोरङ ३ मा राप्रपाको खासै संगठन थिएन । स्थानीय तहको अंकगणित हेर्दा २५ सयभन्दा बढी मत थिएन । राजनीति गर्ने हो भने जनतासँग ग्राउन्डमै गएर भिज्नुपर्ने रहेछ भन्ने निर्वाचनबाट पाठ सिकेँ । ग्राउन्ड कसरी सञ्चालित हुन्छ, चुनावमा कसरी परिचालन हुन्छ, जनता के चाहन्छन्, जनतालाई कसरी ‘म्यानुपुलेट’ गर्दारहेछन्, सबै देख्न पाएँ । जे होस्, मैले समानुपातिक छाडेर ठीक गरेछु ।

समानुपातिकमा सुरक्षित थियो र तपाईंको सिट ? 
हो, मलाई समानुपातिकमै बस्न भनिएको थियो । तर, ग्राउन्ड, जनता, समाज र आफ्नो भूगोल नबुझी नेता भइन्छ भन्ने मलाई लागेन । चुनावी प्रक्रिया पनि बुझ्नु थियो । मौन अवधिमा कसरी मतदातालाई ‘डाइभर्ट’ गरिन्छ, यो सब मलाई थाहा पाउनु थियो । प्रत्यक्षमा लडेर मैले यो सब बुझ्न पाएँ ।

‘रिल’ लाइफबाट ‘रियल’ रेखाका रूपमा जनतामाझ पुग्दा के अनुभूति भयो ?
धेरै फरक नि । करिब ११ हजार मत पाउनु भनेको जोक होइन । रूपान्तरण चाहने मान्छे त रहेछन् नि । अब यो संख्यालाई बढाउनु छ ।

तपाईंको अनुभवमा कति खर्चिलो हुनेरहेछ चुनाव ?
हाम्रो पार्टीको त एजेन्डा नै भ्रष्टाचार गर्नुहुँदैन भन्ने हो । तर, यहाँ अरूको खर्च सुन्ने हो भने बेहोस भएर ढलिन्छ । यो संसदीय व्यवस्थामा यसलाई पुँजीवादी चुनाव भने पनि हुन्छ । साह्रै भड्किलो र खर्चिलो । किन देश बन्दैनरहेछ, किन उम्मेदवारहरू सांसद भएपछि आफ्नो क्षेत्र नफर्कने रहेछन्, किन मन्त्री बन्न लाइन लाग्ने रहेछन्, किन भ्रष्टाचार गर्ने रहेछन्, मैले यी प्रश्नहरूको यसपालि जवाफ पाएँ । २०–३० करोड खर्च गर्ने रहेछन् ।

तपाईंको कति खर्च भयो नि ?
मेरो खासै भएन । पैसा खर्च गरेर माननीय भएपछि कसले काम गरेको छ अहिलेसम्म ? तर, धेरै कारणले खर्चिलो हुँदोरहेछ भन्ने थाहा पाएँ । ‘मेरो भोट यति छ’, ‘केटाहरूलाई परिचालन गर्नुपर्नेछ’ जस्ता प्रस्तावसहित हजारौँ कल आउँथे । अनगिन्ती अनुभव लिएकी छु यो चुनावबाट मैले ।