मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०७९ मङ्सिर ११ आइतबार ०८:३५:००
Read Time : > 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

बेमौसमी बर्सातले १३ सडक अझै अवरुद्ध, पुनर्निर्माण गर्न टेन्डरको तयारी 

Read Time : > 1 मिनेट
२०७९ मङ्सिर ११ आइतबार ०८:३५:००

दसैँयताको बर्सातका कारण विभिन्न राजमार्गका १३ सडकखण्ड स्थायी रूपमा अवरुद्ध भएका छन् । १८ असोज (दसैँ)यता अर्थात् मनसुन सिजनको अन्तिम चरणमा भएको बर्सातले आएको बाढीपहिरोका कारण विभिन्न राजमार्गका ४९ सडकखण्ड अवरुद्ध भएका थिए । त्यसमध्ये १३ सडकखण्ड स्थायी रूपमा अवरुद्ध भएको देखिएको हो । 

त्यसवेलाको झरीका कारण अवरुद्ध भएकामध्ये २७ सडकखण्ड एकतर्फी मात्रै खुलेको छ । बाँकी नौ सडकखण्ड भने दुवैतर्फी सञ्चालनमा आएको सडक विभागले जनाएको छ । स्थायी रूपमा अवरुद्ध सडकखण्ड अधिकांश सुदूरपश्चिम र कर्णाली प्रदेशका छन् । दसैँको समयमा देशव्यापी रूपमा भारी बर्सात हुँदा अन्य प्रदेशमा भन्दा कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा अत्यधिक मात्रामा बाढीपहिरो आएको थियो । सोहीअनुसार त्यहाँका सडकहरूमा बढी क्षति भएको हो । 

उक्त सडकहरू पहिलेकै अवस्थामा बनाउन नसकिने गरी अवरुद्ध भएको विभागका प्रवक्ता भीर्माजुन अधिकारीले बताए । विशेष गरी बाढीपहिरोले सम्बन्धित सडकखण्डको सबै लेन बगाएको, सडक भासिएको उनको भनाइ छ । जुन सडकखण्डलाई तत्काल र सजिलै मर्मत गर्न नसकिएको भएको हो । ‘अवरुद्ध भएकामध्ये खुलाउन सकिने सडकखण्ड खुलिसकेको छ । केही सडकखण्ड एकतर्फी रूपमा सञ्चालनमा छन् भने केही सडक दुवैतर्फ सञ्चालनमा छन्,’ उनले भने, ‘तर, कतिपय सडक तत्काल मर्मत गर्न नसकिने गरी अवरुद्ध भएका छन् ।’  

टेन्डरबाट पुनर्निर्माण गरिने 
स्थायी रूपमा अवरुद्ध भएका सडकखण्डको तत्काल पुनः निर्माण (मर्मत) नहुने विभागका प्रवक्ता अधिकारीले बताए । ‘उक्त सडकहरू यत्तिकै तत्काल मर्मत गर्न सकिने अवस्थामा छैनन् । अब त्यसको पुनर्निर्माण नै गर्नुपर्छ,’ उनले भने, ‘अब टेन्डर आह्वान गर्नुपर्नेलगायत प्रक्रिया पूरा गरेर उक्त सडकहरूको पुनर्निर्माण गर्नेछौँ ।’ 

तर, रोकिएको छैन यातायात 
सडक पूर्ण रुपमा अवरुद्ध भए पनि सवारी आवतजावतमा भने कुनै असर नगरेको विभागको भनाइ छ । हाल सम्बन्धित सडकखण्डमा वैकल्पिक मार्ग बनाएर सवारी आवागमनलाई निरन्तरता दिएको विभागका प्रवक्ता अधिकारीले बताए । ‘तत्काल सडक नबन्ने भएपछि वैकल्पिक मार्ग बनाएर यातायातलाई सहज बनाएका छौँ । तसर्थ, तत्काल सवारी आवतजावतमा कुनै समस्या छैन । यद्यपि, समयमै सडक बनाउन हामी सकारात्मक छौँ,’ उनले भने ।

कर्णाली प्रदेश बढी प्रभावित
पछिल्लो बर्सातका कारण कर्णाली प्रदेशका सडकहरू बढी प्रभावित भएका छन् । विशेष गरी कालिकोट, जुम्लालगायतका जिल्लाका सडकखण्ड नमज्जाले प्रभावित भएको सडक विभागका महानिर्देशक अर्जुनजंग थापाले बताए । ‘उक्त जिल्लामा विभागका अधिकारीहरू सडक अवरुद्ध भएको ठाउँमा समेत पुग्न सकेका छैनन् । त्यसमाथि बाढीपहिरोमा परेर ज्यान गुमाउनेहरूको संख्या पनि ठूलो छ । मानवीयताको हिसाबले विभागका कर्मचारी साथीहरू सडक खुलाउने तर्फभन्दा पनि विपतमा परेकालाई उद्धार गर्नमा खट्नुपरेको छ,’ उनले भने, ‘समग्रमा कर्णाली प्रदेशका सडकहरू नमज्जाले प्रभावित भएका छन् ।’ 

यी हुन् स्थायी रूपमा अवरुद्ध भएका सडकखण्ड
-  जमुनाहा–हिल्सा (कर्णाली राजमार्ग (दैलेखको बोटखोला खण्ड)
-  अमेलिया–मुसिकोट (राप्ती राजमार्ग) (पश्चिम रुकुम)  
-   सुर्खेत तल्लो डुंगेश्वर–नाग्मा–जुम्ला सडक (जुम्लाको रारालिही, गडगढिनी खण्ड)
-  जमुनाहा–हिल्सा–कर्णाली राजमार्ग (दैलेखको दरबारे, पादुका, पाल्तडा खण्ड) 
-  अमेलिया–मुसिकोट (राप्ती राजमार्ग) (पश्चिम रुकुम)
-  खोड्पे–चैनपुर सडक बझाङको झानाना खण्ड
-  खोड्पे–चैनपुर सडक बझाङको बाहुलीगाड खण्ड
-  धनगढी–दार्चुला–टिंकर सडकको बैती डोकडोकदार खण्ड
-  सुर्खेत–दैलेख–नाक्चेलाग्ना सडक, जुम्लाको कनकासुन्दरी खण्ड
-  सुर्खेत तल्लो डुंगेश्वर–नाग्मा–जुम्ला सडक (कालीकोटको पान्तडी मोड, सैघाट, सुनारखोला खण्ड)
-  खोड्पे–चैनपुर सडक बझाङको देउलेक खण्ड
-  खोड्पे–चैनपुर सडक बझाङको देउरा खण्ड
-  सुर्खेत तल्लो डुंगेश्वर–नाग्मा–जुम्ला सडक, जुम्लाको लुमसेरा, लाछु खण्ड
-  जमुनाहा–हिल्सा–कर्णाली राजमार्ग (कालिकोटको रेंगिल, लाफा खण्ड)
-  जमुनाहा–हिल्सा–कर्णाली राजमार्ग बाजुराको काप्रे सडकखण्ड