मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
चिरञ्जीवी घिमिरे नयाँ पत्रिका
२०७९ मङ्सिर ११ आइतबार ०७:२२:००
Read Time : > 1 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

इलाम १ र सुनसरी ४ मा मतगणना स्थगित 

Read Time : > 1 मिनेट
२०७९ मङ्सिर ११ आइतबार ०७:२२:००

पूर्वप्रधानमन्त्री खनाल र सञ्चारमन्त्री कार्कीको निर्वाचन क्षेत्रमा विवादपछि रोकियो मतगणना

पूर्वप्रधानमन्त्री झलनाथ खनालको निर्वाचन क्षेत्र इलाम १ र सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीको सुनसरी ४ मा मतगणना रोकिएको छ । मतगणना अन्तिम चरणमा पुग्दा धाँधली भएको भन्दै मतगणना रोकिएको हो ।

इलाम १ मा दुई दिन स्थगित भएको मतगणना शनिबारदेखि सुरु भएको थियो । यो क्षेत्रमा एकीकृत समाजवादीका उम्मेदवार खनालसँग एमाले जिल्ला अध्यक्ष महेश बस्नेतबीच कडा प्रतिस्पर्धा छ । अहिले खनाल पछि छन् । उनले गणनामा धाँधली भएको दाबी गरेका छन् । 

मतगणनाको क्रममा कर्मचारीको मिलेमतोमा अनियमितता भएको उनले बताए । शनिबार फिक्कलस्थित निवासमा पत्रकार सम्मेलन गर्दै खनालले गणनाका क्रममा सुरुमा ४३७ मत गायब भएको आरोप लगाए । 

त्यसअघि गठबन्धनले आपत्ति जनाएकाले दुई दिन गणना स्थगित भएको थियो । मतगणना गर्ने, तर समाजवादीले औपचारिक सहमति नजनाउने सहमति भएको थियो । शनिबार गणनाका क्रममा मुचुल्कामा भन्दा २६६ मत बढी भेटिएको खनालले बताए । ‘६ वटा ठाउँका मतपेटिका गन्दा मतदान केन्द्रमा भएको मुचुल्काअनुसार कुल खसेको मत २४२४ देखिन्छ । तर, मतपेटिकाभित्रबाट २६९० मत पत्र निस्किए, जसमध्ये २६६ मतभन्दा बढी देखिन्छ,’ उनले भने, ‘यी २६६ मतपत्र मुचुल्का गरेर सबैले सही गरेको कागजको तथ्यभन्दा फरक मतपत्र कहाँबाट बाकसमा पस्यो, यो अनियमितता होइन भने के हो?’ प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियालाई फोन गरेर बुझ्दा उचित जवाफ नपाएको उनले बताए । 

यस्तै, सुनसरी ४ का कांग्रेस उम्मेदवार ज्ञानेन्द्रबहादुर कार्कीले मतगणनामा धाँधली भएको भन्दै पुनः मतगणना गर्न माग गरेका छन् । मतगणनाका क्रममा शुक्रबार राति धाँधली भएको भन्दै उनले शनिबार साँझ बसेको सर्वदलीय बैठकमा छानबिन गर्न माग गरेका हुन् । सुनसरी सदरमुकाम इनरुवा १ स्थित भगवती माविमा जारी रहेको मतगणनामा धाँधली भएको आशंका रहेकाले मतगणना स्थगित गरी सर्वदलीय बैठक डाकिएको थियो । तर, एमालेले भने आफू हार्ने स्थिति देखिएपछि मन्त्री कार्कीले पुनः मतगणना गर्न माग गरेको आरोप लगाएको छ ।

शुक्रबार राति निर्वाचन आयोगले सार्वजनिक गरेको मतपरिणाम सूचीमा कांग्रेसले प्राप्त गरेको ६ सय ६ मत एमालेको उम्मेदवारको पक्षमा जोडेको कांग्रेसको आरोप छ । सुनसरी बराहक्षेत्र ८ को मतगणना सम्पन्न भएपछि सार्वजनिक गरेको मतपरिणाममा एमालेको पक्षमा ६ सय ६ मत थप गरी २० हजार दुई सय ११ मत परिणाम मुख्य निर्वाचन अधिकृतको कार्यालयले सार्वजनिक गरेको थियो । यसरी एकपटकमा ६ सय ६ मत एमालेको पक्षमा थपेर सार्वजनिक गरेको विषय छानबिन गरी निष्कर्ष निकालेर मात्र मतगणना गर्न कार्कीले माग गरेका छन् । 

सुनसरी ४ बाट प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार कार्की, एमाले उम्मेदवार जगीदशप्रसाद कुसियैतलगायत विभिन्न दलका नेताहरूको सहभागितामा सर्वदलीय बैठक बसेको हो । आइतबार ८ बजेसम्मका लागि मतगणना स्थगित गरिएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । सर्वदलीय छलफलबाट निकास निकालिने कार्यालयले जनाएको छ ।