मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
२०७९ मङ्सिर १० शनिबार १५:५५:००
Read Time : > 2 मिनेट
समाचार डिजिटल संस्करण

सुदूरपश्चिममा एमाले र माओवादीलाई धक्का

माओवादी प्रतिनिधिसभा र एमाले पाँच जिल्लामा ‘निल’

Read Time : > 2 मिनेट
२०७९ मङ्सिर १० शनिबार १५:५५:००

नेकपा माओवादी केन्द्र सुदूरपश्चिममा प्रत्यक्षतर्फ प्रतिनिधिसभा सदस्यमा निल बनेको छ। यहाँ रहेका १६ वटा निर्वाचन क्षेत्रमध्ये गठबन्धनको भागवण्डाअनुसार उम्मेदवारी दिएका चारवटै क्षेत्रमा माओवादीले हार व्यहोरेको छ। नेपाली कांग्रेसले उम्मेदवारी दिएका नौमध्ये सात र एकीकृत समाजवादीले तीनवटै क्षेत्र जित्दा गठबन्धनको अर्को दल माओवादी भने प्रतिनिधिसभातर्फ सुदूरपश्चिममा सिटविहीन बनेको हो। कांग्रेसले उम्मेदवारी दिएको बाजुरामा गणना भएको छैन। प्रदेश सभातर्फ भने माओवादीले ११ मध्ये आठ क्षेत्रमा जित हासिल गरेको छ।

कैलाली क्षेत्र नम्बर २ र ३, कञ्चनपुर १ तथा बैतडीमा माओवादीका उम्मेदवार पराजित भएका छन्। कैलाली २ र ३ मा नागरिक उन्मुक्ति पार्टी तथा कञ्चनपुर १ र बैतडीमा एमाले उम्मेदवार विजयी बने। कैलाली २ मा नागरिक उन्मुक्तिका अरुणकुमार चौधरी २१ हजार ८७१ मत पाएर विजयी हुँदा माओवादीका भगत बडुवाल १५ हजार ११६ मतसहित तेस्रो भए। यहाँ एमालेका झपटबहादुर रावलले १६ हजार १२८ मत पाएका छन्।

कैलाली ३ मा माओवादीका कृष्णकुमार चौधरी नागरिक उन्मुक्तिका गंगा चौधरीसँग पाँच हजार ३७१ मतान्तरले पराजित बने। गंगा २३ हजार १२० मत ल्याएर विजयी हुँदा गठबन्धनबाट माओवादीका कृष्णले १७ हजार ७४९ मत पाए।

माओवादी अध्यक्ष प्रचण्डकी बुहारीसमेत रहेकी माओवादी नेतृ विना मगरले कञ्चनपुर क्षेत्र नम्बर १ मा एमालेका तारा लामा तामाङसँग पराजय भोगिन्। तामाङले २० हजार ९६९ मत प्राप्त गर्दा मगरले १६ हजार ५८ मतमात्र पाइन्। 

बैतडीमा कडा प्रतिस्पर्धाबीच एमालेका दामोदर भण्डारीले माओवादीका नरेन्द्र कुँवरलाई पराजित गरे। भण्डारी ३३ हजार ६११ मत ल्याएर विजयी हुँदा कुँवरले ३२ हजार ८० मत पाए। स्थानीय तहमा प्राप्त मत हेर्दा यी चारवटै क्षेत्रमा गठबन्धन अगाडि थियो। कैलाली ३ र कञ्चनपुर १ मा भने गठबन्धनको एमालेभन्दा दोब्बर बढी मत थियो।

गठबन्धनको बहुमत रहेपनि कांग्रेसले इमान्दारिता नदेखाउँदा प्रतिनिधिसभाका सबै क्षेत्र गुमाउनु परेको माओवादी नेताहरुले बताएका छन्। केही ठाउँमा कांग्रेसबाट विश्वासघात भएको माओवादीको आरोप छ। कैलाली २ का उम्मेदवार बडुवालले सामाजिक सञ्जालमा गठबन्धनबाटै आफूलाई धोका भएको आशयको अभिव्यक्ति दिएका छन्।

माओवादी सुदूरपश्चिम प्रदेश सचिव जनक बुढा केही क्षेत्रमा कांग्रेसबाट माओवादीमाथि विश्वासघात भएको दावी गर्छन्। ‘माओवादीबाट गठबन्धनप्रति कुनै पनि क्षेत्रमा धोका भएन। तर, कांग्रेसले कतिपय ठाउँमा हामीलाई इमान्दारितापूर्वक मत हालेको देखिएन,’ बुढाले भने, ‘यो गम्भीर विषय हो, यसबारे हामी समीक्षा गर्छौँ।’ कैलालीमा पराजयको कारण जातीय राजनीतिको प्रभाव पनि रहेको उनको विश्लेषण छ। उत्पीडित जातिका लागि माओवादीले संघर्ष गरेको बुझाउन नसक्दा नागरिक उन्मुक्तिले समुदायगत मत तानेको उनले बताए। २०७४ मा एमालेसँग गठबन्धन हुँदा माओवादीले यहाँ तीन क्षेत्र जितेको थियो।

कांग्रेसले उम्मेदवारी दिएका नौमध्ये कैलाली १ बाहेक सात क्षेत्र जितेको छ। कैलाली १ मा भने नागरिक उन्मुक्तिका अध्यक्ष रञ्जिता श्रेष्ठले कांग्रेसका रामजनम चौधरीलाई पराजित गरिन्। स्थानीय तहमा प्राप्त मतका आधारमा यहाँ गठबन्धन नागरिक उन्मुक्तिभन्दा झिनो मतले अगाडि थियो। एकीकृत समाजवादीले तीनवटै क्षेत्रमा जित हासिल गरेको छ। गठबन्धनबाट कांग्रेसले उम्मेदवारी दिएको बाजुरामा मतगणना भएको छैन।

प्रदेश सभातर्फ भने माओवादीले ११ मध्ये आठ ठाउँमा जित हासिल गरेको छ। कांग्रेसले ११ र एकीकृत समाजवादीले दुई क्षेत्रमा जित हासिल गरेको छ। त्यस्तै नागरिक उन्मुक्ति पार्टीले पाँच र एमालेले तीन सिट जितेको छ। माओवादी सचिव बुढाले प्रदेशसभातर्फ भने गठबन्धन अधिकतम सफल भएको बताए। प्रदेश सभाका ३० मध्ये २१ सिट गठबन्धनले जितेको छ।

एमाले पाँच सिटमा सीमित
सुदूरपश्चिममा सबैभन्दा ठूलो क्षति एमालेलाई भएको छ। २०७४ मा प्रतिनिधिसभाका १६ मध्ये ११ र प्रदेश सभाका कुल ३२ मध्ये १७ सिट जितेको एमाले अहिले प्रतिनिधिसभातर्फ दुई र प्रदेशसभातर्फ तीन सिटमा खुम्चिएको छ। पाँच जिल्लामा एमाले ‘क्लिन स्विप’ भएको छ।

एमाले सचिव एवम् प्रदेश इन्चार्ज लेखराज भट्टको गृहजिल्ला कैलालीमा प्रतिनिधिसभाका पाँच र प्रदेश सभाका १० क्षेत्रमध्ये एमालेले एउटा क्षेत्र पनि जितेन। सचिव भट्ट कैलाली ४ बाट आफैं पराजित भए। निर्वाचन क्षेत्र परिवर्तन गरेर डोटीबाट आएका कांग्रेसका वीरबहादुर बलायरले उनलाई पराजित गरे।

दुई वटा क्षेत्र रहेको एमाले नेता भीम रावलको गृहजिल्लामा पनि एमाले ‘क्लिन स्विप’ भयो। रावललाई टीकट नदिएपछि अछामका एमाले नेताकार्यकर्ताको असन्तुष्टि सार्वजनिक भएको थियो। त्यस्तै डडेल्धुरा, बझाङ र दार्चुलामा पनि गठबन्धनले क्लिन स्विप गरेको छ। एमालेले बैतडी, डोटी र कञ्चनपुरमा प्रदेश सभाका एक÷एक क्षेत्र मात्र जितेको हो।

हारको कारण गठबन्धन, पार्टी विभाजनको असर र नेता भीम रावललाई टीकट नदिनु रहेको एमाले नेताहरु बताउँछन्। यसअघि पार्टी विभाजन हुँदा एमालेले सबैभन्दा बढी क्षति सुदूरपश्चिममा भोग्नु परेको थियो। रावललाई टीकट नदिएपछि उनी निकट नेताकार्यकर्तामा असन्तुष्टि थियो। अछाममा केहीले पार्टी सदस्यबाट राजीनामा  नै दिएका थिए।

‘एकातिर बलियो गठबन्धन थियो। अर्कोतिर पार्टी विभाजनको अवस्थामा थियो,’ एमालेका एक नेताले भने, ‘भीम रावललाई पार्टीले जसरी पाखा लगायो, त्यसको असर पनि चुनावमा देखिएको हो।’ जिल्लाबाट सर्वसम्मत सिफारिस भएपनि केन्द्रले रावलको टीकट खोसेर माओवादीबाट आएका झपट बोहरालाई उम्मेदवार बनाएको थियो। कञ्चनपुरको चुनावी सभामा कार्यकर्ताले भीम रावल खोज्दा अध्यक्ष केपी ओली आक्रोशित बनेका थिए। ओलीको अभिव्यक्तिले रावल निकट कार्यकर्ता झन् चिढिएका थिए।