मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका काठमाडौं
२०७९ मङ्सिर १० शनिबार ०६:५५:००
Read Time : > 2 मिनेट
अर्थ प्रिन्ट संस्करण

चुनावपछि पनि देखिएन सेयर बजारमा उत्साह

Read Time : > 2 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ मङ्सिर १० शनिबार ०६:५५:००

प्रतिनिधिसभा र प्रदेश सभाको चुनावपछि सेयर बजार बढ्ने अपेक्षामा रहेका लगानीकर्ता निराश बनेका छन् । चुनावपछि तीन दिन खुलेको बजार तीन दशमलव २९ अंक (अर्थात् शून्य दशमलव १७ प्रतिशत)ले घटेर अन्तिम दिन एक हजार नौ सय ३३ दशमलव ५५ बिन्दुमा बन्द भएको छ । 

चुनावपछि देखिएको नतिजाप्रति लगानीकर्ता निराश बनेको देखिएको छ । अघिल्लो साता नेप्से परिसूचक दुई दशमलव २८ प्रतिशतले वृद्धि भई एक हजार नौ सय ३६ दशमलव ८३ बिन्दुमा बन्द भएको थियो । लगानीकर्ताले चुनावपछि सेयर बजारमा उल्लेख्य सुधार आउने अपेक्षा राखेका थिए । तर, अपेक्षा गरेको भन्दा बजारले विपरीत संकेत गरेको छ । 

यस सातामा नेप्से परिसूचक एक हजार नौ सय ६० दशमलव ८५ प्रतिशतको उच्चतम बिन्दु परीक्षणपश्चात् एक हजार नौ सय १३ दशमलव २८ को न्यूनतम बिन्दुसम्म आइपुगेको छ । तीन दिनको कारोबारमै नेप्सेमा ४७ दशमलव ५७ अंकको उत्तारचढाब देखिएको छ । अघिल्लो हप्ता नेप्से सूचकमा ६० दशमलव शून्य तीन अंकको उत्तारचढाव देखिएको थियो । 

कारोबार रकम निराशाजनक
तीन दिन भएको सेयर कारोबार रकम निराशाजनक रहेकोे छ । चुनावपछि दुई दिन लगातार बजार घटेको थियो भने साताको अन्तिम कारोबार दिन बिहीबार दोहोर अंकले बढेको थियो । तर, बिहीबार ११ दशमलव ५६ अंकले बढेको बजारमा ९२ करोड ५१ लाख ७४ रुपैयाँको मात्र सेयर कारोबार भएको छ । अघिल्लो हप्ताको तुलनामा कारोबार रकम ३८ प्रतिशतले घटेको छ । अघिल्लो हप्ता पाँच दिन भएको कारोबारमा पाँच अर्ब ३१ करोड रुपैयाँको कारोबार भएको थियो । लगानीकर्ता ‘पर्ख र हेर’को अवस्थामा रहेकाले कारोबार रकम बढ्न नसकेको विश्लेषकको दाबी छ । अर्कोतर्फ लगानीकर्ता मौद्रिक नीतिको समीक्षाको पर्खाइमा रहेका देखिन्छन् ।

अघिल्लो चुनावपछि पनि तत्कालीन अर्थमन्त्री डा. युवराज खतिवडाले पुँजी बजारलाई नियन्त्रण गर्नका लागि कसिलो नीति ल्याउने बताएपछि बजार एक हजार दुई सय ७० दशमलव ५२ बिन्दुमा आइपुगेको थियो

लगानीकर्ता तथा पुँजी बजार संघकी अध्यक्ष राधा पोखरेलले चुनावपछि नयाँ सरकार बन्ने र पुँजी बजारमा सुधार आउने अपेक्षा राख्दा सेयर किनबेच सुस्त बन्न पुगेकोे बताइन् । उनले भनिन्, ‘लगानीकर्ता यतिवेला नयाँ आशा र अपेक्षाले बसेका छन्, मूल्य सस्तो भएकाले पनि केही समय पखौँ न भन्ने लगानीकर्ताको संख्या ठूलो छ ।’

यस तीन दिनमा सबैभन्दा धेरै नाफा कमाउने कम्पनीमा घलेम्दी हाइड्रोपावर कम्पनी रहेको छ । कम्पनीको प्रतिसेयर मूल्य एक सय ८८ रुपैयाँ आठ पैसाबाट बढेर प्रतिसेयर दुई सय १९ रुपैयाँ पुगेको छ भने सबैभन्दा नेसनल लाइफ इन्स्योरेन्स कम्पनीले करिब १४ प्रतिशतले सबैभन्दा बढी नोक्सान व्यहोरेको छ । कम्पनीको प्रतिसेयर मूल्य पाँच सय ९९ रहेकोमा घटेर पाँच सय १४ रुपैयाँमा आइपुगेको छ ।

त्यसैगरी, सबैभन्दा धेरै कारोबार हुने कम्पनीमा हिमालयन डिस्टिलरी कम्पनी रहेको छ । कम्पनीको २६ करोड ५० लाख रुपैयाँको कारोबार भएको छ । त्यसैगरी, नेपाल बैंक लिमिटेडको २५ करोड ४१ लाख रुपैयाँको कारोबार भएको छ ।

०७४ सालको चुनावपछि झनै घटेको थियो बजार
लगानीकर्ताले चुनावपछि सेयर बजार बढ्ने अपेक्षा राख्ने गरेको भए पनि ०७४ साल मंसिर १० गते भएको प्रतिनिधिसभा र प्रदेश सभाको चुनावपछि पनि बजार घटेको देखिन्छ । त्यसवेला चुनावअघि नेप्से परिसूचक एक हजार चार सय ९३ दशमलव २९ बिन्दुमा रहेको थियो । दुई चरणमा भएको चुनावबीच बजारमा केही उत्तारचढाव आएको थियो । तर, मंसिर २१ गते दोस्रो चरणको चुनावपछि भने बजार निरन्तर घटेको देखिन्छ । दोस्रो चरणपछि नेप्से सूचक एक हजार पाँच सय नौ दशमलव १४ बिन्दुमा रहेको थियो । चुनावपछिको पहिलो कारोबारको दिन २४ मंसिरमा ६ दशमलव शून्य पाँच अंकले घट्दा ८० करोड ७५ लाख रुपैयाँको कारोबार भएको थियो । 

चुनावपछि बनेको वामगठबन्धनको सरकारमा युवराज खतिवडा अर्थमन्त्री बने । खतिवडाले पुँजी बजारलाई नियन्त्रण गर्नका लागि कसिलो नीति ल्याउने बताएपछि ५ चैतमा आइपुग्दा बजार एक हजार दुई सय ७० दशमलव ५२ बिन्दुमा आइपुगेको थियो । चुनावपछिको चार महिनाको बीचमा नेप्सेले दुई सय ३८ दशमलव ६२ अंक गुमाएको थियो ।

तर, अहिलेको अवस्थामा पुँजी बजार सुधार हुने केही आधार तय भएका छन् । अर्थतन्त्र सकारात्मक भएका रिर्पोटहरू सार्वजनिक भएका छन् भने राष्ट्र बैंकले मौद्रिक नीतिको समीक्षामार्फत बजारसम्बन्धी नीतिहरूमा केही परिवर्तन ल्याउन सक्ने सम्भावना रहेकाले बजार थप सकारात्मक बन्न सक्ने लगानीकर्ता बताउँछन् ।