१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७९ मङ्सिर ९ शुक्रबार ०६:५०:००
Read Time : > 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

निर्वाचनअघि दुई दिनमा पाँच अर्ब निक्षेप घट्यो 

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ मङ्सिर ९ शुक्रबार ०६:५०:००

मंसिरको पहिलो दुई दिनमा वाणिज्य बैंकहरूबाट पाँच अर्ब ४७ करोड निक्षेप निकालिएको छ । प्रतिनिधिसभा तथा प्रदेश सभा सदस्य निर्वाचनका लागि प्रयोग गर्न बैंकहरूबाट पैसा बाहिरिएको विश्लेषण गरिएको छ ।

नेपाल बैंकर संघका अनुसार यस अवधिमा बैंकिङ प्रणालीमा स्वदेशी मुद्रामा रहेको तीन अर्ब ९७ करोड रुपैयाँ र विदेशी मुद्रामा रहेको ८७ करोड रुपैयाँ निक्षेप बाहिरिएको हो । कात्तिक मसान्तसम्म ४५ खर्ब ६३ अर्ब रुपैयाँ निक्षेप थियो । तर, दुई दिनमै यो निक्षेप घटेर ४५ खर्ब ५८ अर्ब रुपैयाँ कायम भएको छ । निक्षेपसँगै कर्जासमेत घटेको छ । दुई दिनमा दुई अर्ब २० करोड रुपैयाँले कर्जा घटेको छ । कात्तिक मसान्तसम्म ४२ खर्ब २२ अर्ब रुपैयाँबराबर कर्जा प्रवाह थियो । तर, दुई दिनमा घटेर ४२ खर्ब १९ अर्ब कायम भएको छ । 

 कर्जा दिने क्षमतामा वृद्धि
दुई दिनमा निक्षेप घटे पनि कर्जासँगको अनुपात सन्तुलनमा आएपछि बैंकहरूको कर्जा दिने क्षमता बढेको छ । संघका अनुसार कर्जा निक्षेपको अनुपात ८६.९१ प्रतिशत कायम भएको छ ।गत साउनदेखि कात्तिकसम्म आइपुग्दा कर्जा निक्षेपको अनुपातमा सुधार आइरहेको छ । साउनमा यस्तो अनुपात औसतमा ८८.०७ प्रतिशत थियो । त्यसपछि भदौमा ८७.२१ प्रतिशतमा झर्‍यो । कर्जाको तुलनामा निक्षेपको हिस्सा बढ्दै जाँदा यस्तो अनुपात घट्ने क्रम बढ्दै गइरहेको तथ्यांकले देखाउँछ । असोजमा ८७.२ प्रतिशत पुगेको यो अनुपात कात्तिकसम्म आइपुग्दा ८७.१९ प्रतिशत पुगेको थियो ।

नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार बुधबारसम्म समग्र बैंक तथा वित्तीय संस्थाहरूकै कर्जा निक्षेपको अनुपातमा सुधार आएको छ । केन्द्रीय बैंकका अनुसार बुधबार यस्तो अनुपात ८६.८१ प्रतिशत छ । गत मंगलबारसम्म यो अनुपात ८६.८४ प्रतिशत थियो । बुधबारसम्म वाणिज्य बैंकहरूमा निक्षेप ४५ खर्ब ६३ अर्ब रुपैयाँ कायम भएको छ । अर्थात्, निर्वाचनअघि बाहिरिएको पाँच अर्ब रकम फिर्ता भएको अनुमान लगाउन सकिन्छ । त्यस्तै, कर्जा पनि ४२ खर्ब १३ अर्ब पुगिसकेको राष्ट्र बैंकको तथ्यांकले देखाएको छ ।