१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
नवीन अर्याल काठमाडाैं
२०७९ मङ्सिर ८ बिहीबार ०८:१५:००
Read Time : > 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

देशभरका विमानस्थलमा बढ्यो पार्किङ शुल्क

एक घन्टा बाइक पार्किङ गर्दा त्रिभुवन विमानस्थलमा ४०, भैरहवा र पोखरामा ३० रुपैयाँ शुल्क लाग्ने

Read Time : > 1 मिनेट
नवीन अर्याल, काठमाडाैं
२०७९ मङ्सिर ८ बिहीबार ०८:१५:००

देशैभर सञ्चालनमा रहेका विमानस्थलहरूमा सवारीसाधन पार्किङको शुल्क बढेको छ । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले आठ गुणासम्म वृद्धि गरेर पार्किङ सेवा शुल्क निर्धारण गरेको हो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल (टिआइए)मा बाइक तथा स्कुटर पार्किङ गरेको अब प्रतिघन्टा ४० रुपैयाँ तिर्नुपर्ने भएको छ । यसअघि दुईपांग्रे र तीनपांग्रेको पार्किङ शुल्क प्रतिघन्टा पाँच रुपैयाँ लिने सम्झौता भएको थियो । तर, पार्किङको जिम्मा लिएको कम्पनीले भने २० रुपैयाँ लिँदै आएको थियो ।

१ मंसिरदेखि लागू भएको नयाँ व्यवस्थाअनुसार दुईपांग्रेको पार्किङ शुल्क प्रतिदिन ३० रुपैयाँ रहेकोमा बढाएर दुई सय ४० रुपैयाँ पुर्‍याइएको छ । प्रतिघन्टा २० रुपैयाँ रहेको कार, जिप, टेम्पोको पार्किङ शुल्क ८० रुपैयाँ पुगेको छ । यस्तै, हलुका सवारीसाधन (मिनिबस, माइक्रोबस आदि) पार्किङ गरेको शुल्क प्रतिघन्टा सय र गह्रौँ सवारी साधन (बस, ट्रक आदि) पार्किङ गरेको शुल्क प्रतिघन्टा एक सय ५० रुपैयाँ पुर्‍याइएको छ । यसअघि प्रतिघन्टा हलुका सवारीको ३० रुपैयाँ र गह्रौँ सवारीको ५० रुपैयाँ मात्र थियो । 

विमानस्थलमा समयसापेक्ष सुहाउँदो न्यूनतम पार्किङ शुल्क निर्धारण गरिएको क्यानका प्रवक्ता जगन्नाथ निरौलाले बताए । ‘विमानस्थलमा ०५२ सालदेखि पार्किङ शुल्क परिवर्तन गरिएको थिएन,’ उनले भने, ‘अहिले पार्किङ शुल्क एकैपटक ह्वात्तै बढेजस्तो लाग्न सक्छ, तर २७ वर्षअघि र अहिलेको समयलाई तुलना गरेर हेर्दा रिजनेबल नै हो ।’ क्यानले न्यूनतम पार्किङ शुल्क तोके पनि ठेकेदार कम्पनी छनोट गरेर जिम्मेवारी दिने गर्छ । तर, ठेकेदार कम्पनीहरूले आफूखुसी पार्किङ शुल्क उठाउने गरेको उपभोक्ताको गुनासो छ । 

यसअघि काठमाडौंभन्दा बाहिरका विमानस्थलको पार्किङ सेवा शुल्क एउटै तोकिएको थियो । तर, अहिले विमानस्थलअनुसार फरक–फरक पार्किङ शुल्क तोकिएको छ । पुरानो व्यवस्थाअनुसार उपत्यकाबाहिरका विमानस्थलमा प्रत्येक दुई घन्टा सवारीसाधन पार्किङ गरेबापत बाइक, स्कुटर र रिक्साको पाँच रुपैयाँ, कार, जिप र टेम्पोको १० रुपैयाँ, हलुका सवारीको २० रुपैयाँ र गह्रौँ सवारीसाधनको ४० रुपैयाँ शुल्क लिने गरिएको थियो । तर, अब भैरहवाको गौतमबुद्ध र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा दुईपांग्रे पार्किङ गरेको प्रतिघन्टा ३० रुपैयाँ, चारपांग्रे कार, जिप र भ्यानको ६० रुपैयाँ, हलुका सवारीको ८० रुपैयाँ र गह्रौँ सवारीसाधनको एक सय २० रुपैयाँ पार्किङ शुल्क तोकिएको छ ।

 कुन विमानस्थलमा पार्किङ शुल्क कति ? 
क्यानले हालै संशोधन गरेको नेपाल नागरिक उड्डयन प्राधिकरण विमानस्थल सेवा शुल्क नियमावली– २०७८ ले दिएको अधिकार प्रयोग गरेर पार्किङ शुल्क बढाएको हो । चन्द्रगढी, विराटनगर, जनकपुर, सिमरा, भरतपुर, पोखरा (आन्तरिक), नेपालगन्ज र धनगढी विमानस्थलमा पार्किङ शुल्क दुईपांग्रेको प्रतिघन्टा २० रुपैयाँ, कार, जिप, भ्यानको प्रतिघन्टा ४० रुपैयाँ, हलुका सवारीको प्रतिघन्टा ६० र गह्रौं सवारीसाधनको प्रतिघन्टा ९० रुपैयाँ तोकिएको छ । 

यस्तै, तुम्लिङटार, राजविराज र सुर्खेत विमानस्थलमा प्रतिघन्टा पार्किङ शुल्क दुईपांग्रेको १५ रुपैयाँ, कार, जिप, भ्यानको ३० रुपैयाँ, हलुका सवारीको ५० रुपैयाँ र गह्रौँ सवारीसाधनको ७० रुपैयाँ तोकिएको छ । माथि उल्लेख गरिएभन्दा बाहेकका विमानस्थलमा पार्किङ गरेबापत प्रतिघन्टा दुईपांग्रेको १० रुपैयाँ, कार, जिप, भ्यानको २० रुपैयाँ, हलुका सवारीको ३० रुपैयाँ र गह्रौँ सवारीसाधनको ५० रुपैयाँ शुल्क तोकिएको छ ।

विमानस्थल सेवा शुल्क नियमावलीको नियम ७ को सम्बन्धमा प्राधिकरणले निर्धारण गरेबमोजिमको व्यवस्था गरिएको छ । क्यानले साबिकको विमानस्थल सेवा शुल्क नियमावली, २०६७ बमोजिम पार्किङको ठेक्का सम्झौता भइसकेको सम्बन्धमा पुरानो सम्झौता समयावधि कायम रहेसम्म साबिककै बमोजिमको पार्किङ शुल्क उठाउन पाउनेछन् ।