मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७९ मङ्सिर ८ बिहीबार ०७:३९:००
Read Time : < 1 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

देउवा ७ पटक र ओली ६ पटक सांसद, प्रचण्ड चौथोपटक सांसद बन्ने पक्का

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७९ मङ्सिर ८ बिहीबार ०७:३९:००

संसदीय निर्वाचनमा निरन्तर जित निकाल्नेमा कांग्रेस सभापति शेरबहादुर देउवाको नाम अग्रपंक्तिमा आउँछ । यसपालिसमेत उनी डडेल्धुराबाट सातौँपटक निर्वाचित भएका छन् । यसपालि उनले २५ हजार ५३४ मत ल्याएर जित निकालेका छन् । देउवाविरुद्ध युवा इन्जिनियर सागर ढकालले स्वतन्त्र उम्मेदवारी दिएका थिए । तर, १३ हजार ४२ मत मात्रै प्राप्त गरे । ०४८ मा पहिलोपटक गृहमन्त्री बनेका देउवा अहिलेसम्म पाँचाैँ पटक प्रधानमन्त्री भइसकेका छन् । यो चुनावको परिणामपछि उनी छैटौँपटक प्रधानमन्त्री हुने दाउमा छन् । 

एमाले अध्यक्ष केपी ओली पनि ०४८ पछिका सबै संसदीय निर्वाचनमा उम्मेदवार बनेका छन् । तर, यसपालिसहित तीनपटक जित निकालेका छन् । ०६४ को निर्वाचनमा पराजित उनी ०७० मा झापा ७ र ०७४ मा झापा ५ बाट निर्वाचित भएका थिए । यसपालि पनि झापा ५ बाट उनले यसअघिकै प्रतिद्वन्द्वी खगेन्द्र अधिकारीलाई २८ हजार मतान्तरले हराएका छन् । ओलीले ५२ हजार ३११ मत ल्याउँदा अधिकारीले २३ हजार ७४३ मत मात्रै ल्याए । झापा ५ सत्ता गठबन्धनविरुद्ध प्रतिस्पर्धा गर्न ओलीले राप्रपाको समर्थन लिएका थिए । बदलामा झापा ३ मा राजेन्द्र लिङ्देनलाई एमालेले सघाएको छ । 

०६४ यता लगातार सांसद बनेका अर्का खेलाडी हुन् माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ । ०६४ मा रोल्पा र काठमाडौं  १० बाट निर्वाचित उनी ०७० मा काठमाडौं १० बाट पराजित भए पनि सिरहा ५ बाट विजयी भएका थिए । त्यसपछि ०७४ मा चितवनबाट विजयी भएका उनी यसपटक गोरखा २ मा उम्मेदवार छन् । त्यहाँको अन्तिम मतपरिणाम आउन बाँकी रहे पनि प्रचण्डको जित भने सुनिश्चित भइसकेको छ । जारी मतगणनामा उनी १३ हजार बढी मतान्तरले अगाडि छन् । उनलाई राष्ट्रिय स्वतन्त्र पार्टीका कविन्द्र बुर्लाकोटीले पछ्याइरहेका छन् ।