१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
हिउँले ढाकिएकाे उपल्लाे डाेल्पा । तस्बिर : रामचन्द्र न्याैपाने/नयाँ पत्रिका
२०७९ मङ्सिर ७ बुधबार २३:२५:००
Read Time : > 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

चुनाव गराउन उपल्लो डोल्पामा खटिएका एक सय कर्मचारी अलपत्र, रूँदै गर्छन् उद्धारको गुहार !

Read Time : > 1 मिनेट
२०७९ मङ्सिर ७ बुधबार २३:२५:००

हिमाली जिल्ला डोल्पाको उत्तरी क्षेत्रमा पर्ने उपल्लो डोल्पामा चुनाव गराउन खटिएका कर्मचारीहरू मतदान केन्द्रमै अलपत्र परेका छन् । टेलिफोनमार्फत् उनीहरूले गुहार मागेका छन् । 

उपल्लो डोल्पाका २२ मध्ये १२ मतदान केन्द्रमा खटिएका करिब एक सय कर्मचारी मतदान केन्द्रमै अलपत्र परेका हुन् ।

४ मंसिरको दिन मतदानपछि नेपाली सेनाको हेलिकोप्टरले उपल्लो डोल्पाका मतदान केन्द्रबाट मतदान अधिकृत र मतपेटिका मात्र ल्याएको थियो । त्यसयता हेलिकोप्टर गएको छैन । सहायक मतदान अधिकृतसहित अन्य कर्मचारी, म्यादी, नेपाल प्रहरी माथि नै अलपत्र परेका छन् ।

शे–फोक्सुण्डो गाउँपालिकाका उपाध्यक्ष पेम्मावाङ्छेन गुरुङले टेलिफोनमार्फत उपल्लो डोल्पाका शे–फोक्सुण्डो, छार्काताङ्साङ र डोल्पोबुद्धमा पर्ने २२ मध्ये १२ मतदान केन्द्रका एक सय कर्मचारी अलपत्र परेको जानकारी दिए । 

अलपत्र कतिपय कर्मचारी चिसोले बिरामी परेर स्वास्थ्य अवस्था बिग्रँदै गएकोसहिद दशरथचन्द आधारभूत विद्यालयमा रहेको मतदान केन्द्रमा खटिएका कर्मचारी कमल बोहराले बताए ।

चुनाव सकिएको चार दिन बितिसक्दा पनि लैजानको लागि हेलिकोप्टर नआउँदा डोल्पो बुद्ध गाउँपालिकाको तिन्जेमा २० जनाभन्दा धेरै कर्मचारी अलपत्र परेको कर्मचारी तिलु बुढाले जानकारी दिएन् ।

‘हिँडेर जाउँ सदरमुकाम पुग्न हप्ता दिन लाग्छ । पाँचहजार मिटरभन्दा अग्ला हिँउले भरिएका हिमाल उक्लेर जानुपर्छ । यतै बसौँ भने भोकै मरिने अवस्था आउन लागेको छ,’ तिलुले टेलिफोनमा नयाँ पत्रिकासँग रुँदै भनिन् ।

आफूसँग भएका थुप्रै साथी बिरामी परेको उनले जानकारी दिएन् । ‘कतिपय साथी विरामी परेका छन् । औषधि छैन । स्वास्थ्यअवस्था नाजुक छ । छिटोभन्दा छिटो उद्धार गरिदिन अनुरोध गर्दछु,’ उनले भनिन् ।

उनीहरूले आफूहरूलाई उद्धार गर्न प्रमुख जिल्ला अधिकारीलाई पटकपटक आग्रह गरिसकेका छन् । हेलिकोप्टर आउला कि भनेर आकाशतिर हेरेर बस्छन् । तर, दिनहुँ निराश हुँदै आएका छन् । 

‘निर्वाचन कार्यालयले हेलिकोप्टरमा ल्याएर मतदान केन्द्रमा छोड्यो । तर, लैजान आएन । न फोन लाग्छ । न नेट चल्छ,’ अर्का कर्मचारी सुजाता बुढाले भनिन् । 

प्रमुख जिल्ला अधिकारी वेदनिधि अधिकारीले निर्वाचन उपल्लो डोल्पामै रहेका कर्मचारीलाई हेलिकोप्टरमार्फत् सदरमुकाम ल्याउन निर्वाचन आयोगसँग अनुरोध गरेर चिठी पठाइएको जानकारी दिए ।