१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
मुना कुँवर काठमाडाैं
२०७९ मङ्सिर ७ बुधबार ०७:०४:००
Read Time : > 2 मिनेट
अर्थ प्रिन्ट संस्करण

प्राधिकरणको आदेश बेवास्ता गर्दै आफूखुसी लगानी गर्छन् बिमा कम्पनी

Read Time : > 2 मिनेट
मुना कुँवर, काठमाडाैं
२०७९ मङ्सिर ७ बुधबार ०७:०४:००

 जीवन बिमा कम्पनीले वाणिज्य बैंकको मुद्दती निक्षेपमा ६७ प्रतिशत लगानी गरेका छन् भने पूर्वाधार बैंकमा १ प्रतिशत पनि लगानी गरेका छैनन्  कम्पनीहरूले बैंक तथा वित्तीय संस्थाको मुद्दती निक्षेपमा तीन खर्ब ८४ अर्ब लगानी गरेका छन्

नेपालमा सञ्चालित जीवन बिमा कम्पनीहरूले नेपाल बिमा प्राधिकरणको निर्देशनलाई बेवास्ता गर्दै आफूखुसी लगानी गर्दै आएका छन् । प्राधिकरणले तोकेको क्षेत्र र सीमाविपरीत कम्पनीहरूले लगानी गर्दै आएका हुन् । चालू आर्थिक वर्ष ०७९/८० को पहिलो त्रैमासमा जीवन बिमा कम्पनीहरूले बैंक तथा वित्तीय संस्थाको मुद्दती निक्षेपमा नै आफ्नो लगानी बढाएका छन् । प्राधिकरणका अनुसार सो अवधिमा कम्पनीहरूले बैंक तथा वित्तीय संस्थाको मुद्दती निक्षेपमा तीन खर्ब ८४ अर्ब लगानी गरेका छन् । यो रकम कम्पनीहरूले लगानी गरेको कुल रकमको ७७ प्रतिशत हो । सो अवधिमा जीवन बिमा कम्पनीहरूले कुल चार खर्ब ९७ अर्ब रुपैयाँ लगानी गरेका छन् । 

प्राधिकरणले बिमा कम्पनीहरूको लगानी कार्यविधि निर्माण गरी तोकिएबमोजिम लगानी गर्न आदेश दिएको छ । जसमा प्राधिकरणले लगानीको विभिन्न सम्भावित क्षेत्र र सीमा नै तोकिदिएको छ । सरकारको ऋणपत्र, पूर्वाधार विकास बैंकको मुद्दती र वाणिज्य बैंकको मुद्दती निक्षेपमा अनिवार्य लगानी गर्न भनेको छ । तर, कम्पनीहरूले प्राधिकरणको निर्देशनविपरीत मनपरी लगानी गर्दै आएका छन् । 

सरकारको ऋणपत्रमा १ प्रतिशत पनि लगानी भएन
नेपाल बिमा प्राधिकरणले नेपाल सरकारले जारी गरेको ऋणपत्रमा अनिवार्य रूपमा न्यूनतम ५ प्रतिशत लगानी गर्न भनेको छ । तर, सो क्षेत्रमा भने कम्पनीको रुचि कमै देखिएको छ । चालू आवको पहिलो त्रैमासमा जम्मा पाँचवटा जीवन बिमा कम्पनीले मात्रै सरकारको ऋणपत्रमा लगानी गरेका छन् । कम्पनीहरूले गरेको कुल लगानीको १ प्रतिशत पनि सो क्षेत्रमा लगानी भएको छैन । बिमकको लगानी निर्देशिकाअनुसार नेपाल सरकार वा नेपाल राष्ट्र बैंकको बचतपत्र वा ऋणपत्रमा तोकिएको सीमाअनुरूप लगानी गर्न नसकेमा वाणिज्य बैंकको मुद्दती निक्षेपमा वा नेपाल पूर्वाधार बैंकमा लगानी गर्न सक्ने व्यवस्था छ । तर, यसको जानकारी समितिलाई दिनुपर्नेछ । 

त्यस्तै, प्राधिकरणले वाणिज्य बैंक र नेपाल पूर्वाधार बैंकको मुद्दती निक्षेपमा न्यूनतम ४० प्रतिशत लगानी गर्न सकिने व्यवस्था गरेको छ । तर, जीवन बिमा कम्पनीले वाणिज्य बैंकको मुद्दती निक्षेपमा ६७ प्रतिशत लगानी गरेका छन् भने पूर्वाधार बैंकमा १ प्रतिशत पनि लगानी गरेका छैनन् ।त्यस्तै, विकास बैंकको मुद्दती निक्षेपमा ४३ अर्ब १२ करोड र वित्तीय संस्थाको मुद्दती निक्षेपमा पाँच अर्ब ४७ करोड रुपैयाँ लगानी गरेका छन् । जीवन बिमा कम्पनीले पूर्वाधार विकास बैंकको मुद्दती निक्षेपमा २५ करोड लगानी गरेका छन् । नेपाल पूर्वाधार विकास बैंकमा भने पाँचवटा बिमा कम्पनीहरूले मात्रै लगानी गरेका छन् । 

त्यस्तै, कम्पनीहरूले सूचीकृत पब्लिक कम्पनीको साधारण सेयरमा नौ अर्ब ४५ करोड रुपैयाँ लगानी गरेका छन् । बैंक तथा वित्तीय संस्थाको अग्राधिकार सेयरमा ३१ अर्ब ७४ करोड रुपैयाँ लगानी गरेका छन् । सूचीकृत पब्लिक कम्पनीको सुरक्षित डिबेन्चरमा २२ अर्ब ९७ करोड रुपैयाँ लगानी गरेका छन् । कृषि, पर्यटन र जलस्रोतलगायतका पूर्वाधारमा सात अर्ब १९ करोड रुपैयाँ लगानी भएको छ । म्युचुअल फन्ड र नागरिक लगानी कोषमा एक अर्ब २० करोड रुपैयाँ लगानी गरेका छन् । 

 बैंक तथा वित्तीय संस्थामा मात्रै लगानी गर्नु जोखिमपूर्ण
जीवन बिमा कम्पनीहरूले बैंक तथा वित्तीय संस्थामा मात्रै लगानी गर्नु जोखिमपूर्ण हुने नेपाल बिमा प्राधिकरणको ठम्याइ छ । त्यसैले लगानीको विविधीकरणका लागि प्राधिकरणले विभिन्न सम्भावित क्षेत्रहरू तोकिएको दिएको प्राधिकरणका कार्यकारी निर्देशक राजुरमण पौडेलले बताए । उनका अनुसार प्राधिकरणले लगानीका लागि सबै खालका क्षेत्रहरू समेटिएको छ । सबै क्षेत्रमा तोकिएबमोजिम लगानी गरेमा कम्पनी जोखिममा नपर्ने उनको भनाइ छ । लगानीका लागि वित्तीय संस्थामा मात्रै भरपर्दा मुलुकमा बैंकिङ क्षेत्रमा संकट आउनेबित्तिकै यसको प्रत्यक्ष असर बिमा कम्पनीलाई पर्न जान्छ । तसर्थ, सबै क्षेत्रमा लगानी गर्न प्राधिकरणले सुझाएको छ । 

बिमा कम्पनीले आर्जन गरेको बिमाशुल्क विभिन्न क्षेत्रमा लगानी गर्छ । सो लगानीबाट मुनाफा आर्जन गरी बिमितको दायित्व तथा सेयर लगानीकर्तालाई मुनाफा वितरण गर्नुपर्ने हुन्छ । तसर्थ, कम्पनीले उच्च मुनाफाको सम्भावना भएको क्षेत्रमा लगानी गर्नुपर्ने हुन्छ । तर, बिमा कम्पनीलाई कुनै पनि समयमा दायित्व भुक्तानी गर्नुपर्ने भएको सुरक्षित र तत्काल रकम असुल गर्न सक्ने क्षेत्रमा लगानी गर्नुपर्ने बाध्यता रहेको बिमकहरूको भनाइ छ । 

नेपालमा सञ्चालित जीवन बिमा कम्पनीमध्ये नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको लगानी सबैभन्दा अधिक छ । कम्पनीले विभिन्न क्षेत्रमा एक खर्ब ४९ अर्ब रुपैयाँ लगानी गरेको छ । लाइफ इन्स्योरेन्स कर्पोरेसनले भने ७८ अर्ब ५२ करोड रुपैयाँ लगानी गरेको छ । त्यस्तै, नेसनल लाइफ इन्स्योरेन्सले ४९ अर्ब १८ करोड रुपैयाँ लगानी गरेको छ । 

 लगानी विविधीकरणका लागि क्षेत्र नै तोकिदिएको छ 
राजुरमण पौडेल कार्यकारी निर्देशक, नेपाल बिमा प्राधिकरण

लगानीको विविधीकरणका लागि प्राधिकरणले विभिन्न सम्भावित क्षेत्रहरू तोकिदिएको छ । सबै क्षेत्रमा तोकिएबमोजिम लगानी गरेमा कम्पनी जोखिममा पर्ने अवस्था आउँदैन । लगानीका लागि वित्तीय संस्थामा मात्रै भर पर्दा मुलुकमा बै‌ंकिङ क्षेत्रमा संकट आउनेबित्तिकै यसको प्रत्यक्ष असर बिमा कम्पनीलाई पर्न जान्छ । तसर्थ, सबै क्षेत्रमा लगानी गर्न प्राधिकरणले सुझाएको छ ।