मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७९ मङ्सिर ७ बुधबार ०७:०१:००
Read Time : > 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

दिल्ली उडान कटौती हुँदा निगमले गुमायो सातामा नौ करोडभन्दा बढी आम्दानी

काठमाडौं–दिल्ली–काठमाडौं सातामा १४ वटा उडान गर्दै आइरहेको निगमको चार उडान कटौती

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ मङ्सिर ७ बुधबार ०७:०१:००

नियामक निकायले हिस्टोरिकल स्लट काठमाडौं–दिल्ली सेक्टरको उडान कटौती गरिदिएपछि नेपाल वायुसेवा निगम (एनएसी)को आम्दानी खुम्चिएको छ । यात्रु खचाखच हुने दिल्ली सेक्टरका चारवटा उडान कटौती हुँदा सातामा नौ करोडभन्दा बढी आम्दानी गुमाएको निगमका एक कर्मचारीले बताए ।

निगमले काठमाडौं–दिल्ली–काठमाडौं सातामा १४ वटा उडान गर्दै आइरहेको थियो । तर, ‘विन्टर सेड्युल’मा भैरहवाको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल (जिबिआइए)बाट उडान नराखेको भन्दै नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले चारवटा उडान घटाइदिएको हो । १३ कात्तिकदेखि निगमले काठमाडौं–दिल्ली–काठमाडौं सातामा १० वटा मात्रै उडान गर्दै आइरहेको छ । यही मौका छोपेर भारतीय वायुुसेवा कम्पनीहरूले काठमाडौं–दिल्लीको भाडासमेत बढाएको ट्राभल एजेन्सीहरूले जानकारी दिएको छ । 

कोभिडबाट भर्खरै तंग्रिन थालेको र आम्दानी बढ्न थालेपछि चारवटा जहाज खरिद गर्दा लिएको ऋणको किस्ता बुझाउन सुरु गरेका वेलामा ‘हिस्टोरिकल स्लट’ नै रोकिँदा आम्दानी खुम्चिएको सहायक प्रवक्ता गणेशकुमार घिमिरेले बताए । व्यावसायिक हिसाबले मात्र नभएर नेपालीलाई स्वास्थ्य उपचार, उच्च शिक्षा, व्यवसाय प्रवद्र्धन तथा अन्य मुलुक प्रस्थानका लागिसमेत दिल्ली महत्वपूर्ण गन्तव्य भएको निगमकी प्रवक्ता अर्चना खड्काले बताइन् । यस्तै, नेपालमा सबैभन्दा धेरै पर्यटक भारतीय आउने हुँदा पर्यटकीय हिसाबले पनि यो सेक्टर महत्वपूर्ण छ । निगमले एयरबस–३३० र एयरबस–३२० जहाजले हप्तामा १६ सय यात्रुलाई काठमाडौं–दिल्ली–काठमाडौं उडान–अवतरण गराउँदै आइरहेको थियो । दिल्लीमा सातामा चार उडान कटौती हुँदा मासिक करिब ३९ करोड रुपैयाँ नोक्सानी 
हुने देखिन्छ ।

 १३ कात्तिकदेखि उडान कटौती
निगमले विभिन्न देशका १० वटा गन्तव्यमा अन्तर्राष्ट्रिय उडान गर्दै आइरहेको छ । उक्त गन्तव्यहरूमध्ये दिल्लीमा लामो समयदेखि नियमित रूपमा दैनिक दुुईवटा उडान सञ्चालन गर्दै आएको प्रवक्ता खड्काले बताइन् । निगमले विन्टर सिजनका लागि १५ सेप्टेम्बरमा दिल्लीका लागि १४, दोहा, मलेसिया र दुबईका लागि ७–७, रियादका लागि ६, मुम्बई, बैंग्लोर, हङकङ, बैंकक र नारिताको ३–३ गरी साताको ५६ वटा उडानतालिका क्यानमा स्वीकृतिका लागि पेस गरेको थियो । तर, क्यानले २३ अक्टोबरमा भैरहवाबाट उडानतालिका नराखेको भन्दै निगमको प्रतिहप्ता १४ वटा उडान कटौती गरेर ४२ वटा उडान मात्र स्वीकृत गरेको थियो । क्यानले १३ कात्तिकदेखि भैरहवाबाट पनि अनिवार्य उडान गर्न निगम र हिमालय एयरलाइन्सलाई निर्देशन दिएको थियो । तर, निगमले भैरहवाबाट उडान गर्न आलटाल गरेको भन्दै क्यानले विभिन्न देशका १४ वटा उडान कटौती गरेको हो । 

निगमले काठमाडौं–दिल्ली–भैरहवा–काठमाडौं सेक्टरमा साताको चारवटा उडान गर्ने गरी स्वीकृतिका लागि क्यानमा पठाइसकेको छ । भैरहवाको उडानतालिका पेस गरिसक्दा पनि क्यानले रोकिएको दिल्लीको उडान फुकुवा नगरेको निगमको गुनासो छ । निगमको कटौती भएको हिस्टोरिकल स्लट पहिलेकै फ्लाइट प्रमिसनअनुसार यथावत् सञ्चालन गर्ने र आवश्यकताअनुसार अन्य गन्तव्यहरूमा उडान थप गर्नसमेत तालुकदार उड्डयन मन्त्रालय र क्यानलाई अनुरोध गरेको मंगलबार विज्ञप्ति जारी गरी निगम प्रवक्ता खड्काले जानकारी गराइन् । 

 पोखराको ग्राउन्ड ह्यान्डलिङ दिन अनुरोध
निगमले त्रिभुवन र गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा लामो समयदेखि ग्राउन्ड ह्यान्डलिङ सेवा प्रदान गर्दै आइरहेको छ । तर, निर्माणाधीन पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा ग्राउन्ड ह्यान्डलिङका लागि प्रतिस्पर्धाबाट नयाँ कम्पनी छनोट गर्ने क्यानको तयारी छ । निगम व्यवस्थापनले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको ग्राउन्ड ह्यान्डलिङ पनि निगमलाई नै प्रदान गर्न मन्त्रालय र क्यानसमक्ष अनुरोध गरेको छ । ‘निगमस“ग ग्राउन्ड ह्यान्डलिङको लामो व्यवस्थापकीय अनुभव, सोहीअनुसारको दक्ष जनशक्ति र आवश्यक प्राविधिक र स्रोतसाधनको उपलब्धता रहेको छ,’ विज्ञप्तिमा भनिएको छ, ‘निगमको ग्राउन्ड ह्यान्डलिङ सेवा अन्तर्राष्ट्रियस्तरको रहेको छ ।’