मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ४ मंगलबार
  • Tuesday, 16 April, 2024
२०७९ मङ्सिर ६ मंगलबार ०७:५६:००
Read Time : > 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलमा क्यालिब्रेसन फ्लाइट, पहिलो दिन पाँच घन्टा उडान 

Read Time : > 1 मिनेट
२०७९ मङ्सिर ६ मंगलबार ०७:५६:००

सञ्चालनको अन्तिम तयारीमा रहेको पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलमा सोमबारदेखि क्यालिब्रेसन फ्लाइट अर्थात् यान्त्रिक परीक्षण उडान सुरु भएको छ । थाइल्यान्डबाट आएको एरो थाई कम्पनीको विमानले यान्त्रिक परीक्षणको काम सुरु गरेको हो । 

थाइल्यान्डबाट विमानसँगै पाँचजना प्राविधिकको टोली परीक्षण उडानका लागि पोखरा आएका छन् । सात दिनसम्म हुने परीक्षण उडानको पहिलो दिन थाई जहाजले पाँच घन्टा उडान गरेको विमानस्थल आयोजना प्रमुख बिनेश मुनकर्मीले जानकारी दिए । उनका अनुसार विशेष उपकरणजडित विमानले पहिलो दिन धावनमार्ग, लाइटसँगै अन्य उपकरणको परीक्षण गरेको थियो । 

सात दिनको परीक्षण उडानका क्रममा उक्त विमानमार्फत विमानस्थलमा जडान गरिएका सञ्चार, ग्राउन्ड सिस्टम, टावर, रेडियो फ्रिक्वेन्सी, नेभिगेसन, सर्भिलेन्स, कम्युनिकेसन, कन्ट्रोल टावरलगायतका उपकरणको अवस्था कस्तो छ र तिनीहरूले ठीक ढंगले काम गरे–नगरेको जाँच हुने उनले बताए । 

सात दिनको परीक्षण उडानपछि एरो थाई कम्पनीले प्रतिवेदन पेस गर्नेछ । त्यसपछि मात्र व्यावसायिक उडानका लागि योग्य रहे–नरहेको थाहा हुने मुनाकर्मीले जानकारी दिए । यसअघि भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको परीक्षण उडानसमेत यसै कम्पनीले गरेको थियो । परीक्षण उडान ६, ७, ८, ९, ११ र १२ गते पनि हुनेछ । प्रत्येक दिन बिहान १० बजेदेखि दिउँसो १ बजे र त्यसपछि पुनः दिउसो २ः३० बजेदेखि ५ः३० बजेसम्म गरी दुई चरणमा परीक्षण उडान हुनेछ । 

चीन सरकारको सहुलियत ऋण सहयोगमा निर्माण गरिएको विमानस्थल निर्माणका लागि चीनको एक्जिम बैंकले २१ करोड ७० लाख अमेरिकी डलर अर्थात् नेपाली करिब २२ अर्ब रुपैयाँ ऋण उपलब्ध गराएको थियो । सन् २०२१ को जुलाईमा निर्माण सक्ने गरी ८ जेठ २०७१ मा चिनियाँ कम्पनी सिएएमसी इन्जिनियरिङसँग ठेक्का सम्झौता भएको थियो । अन्तर्राष्ट्रिय उड्डयन संस्था (आइकाओ)को मापदण्डअनुसार फोरडी मोडलमा निर्माण भएको विमानस्थलमा ४५ मिटर चौडाइ र दुई हजार पाँच सय मिटर लामो धावनमार्ग रहेको छ । जहाँ बोइङ ७५७ र एयरबस ३२० वा सोसरहका जहाज आउजाउ गर्न सक्ने र ती विमानको क्षमता एक सय ४० देखि एक सय ८० सिटको हुनेछ ।

विमानस्थल निर्माणका लागि पोखराको छिनेडाँडामा ०३२ सालमा तीन हजार एक सय ६ रोपनी जग्गा अधिग्रहण गरिएको थियो । जग्गा अधिग्रहणको ४१ वर्षपछि १ वैशाख ०७३ मा विमानस्थलको शिलान्यास गरिएको थियो भने १८ साउन ०७४ बाट निर्माणको काम सुरु भएको थियो । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले आउँदो १७ पुसदेखि विमानस्थल सञ्चालनमा ल्याउने तयारी गरेको छ ।