१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
२०७९ मङ्सिर ६ मंगलबार ०६:३०:००
Read Time : > 3 मिनेट
खेलकुद प्रिन्ट संस्करण

इरानमाथि इंग्ल्यान्डको सानदार जित 

Read Time : > 3 मिनेट
२०७९ मङ्सिर ६ मंगलबार ०६:३०:००

इंग्ल्यान्डले विश्वकप फुटबल प्रतियोगिताअन्तर्गत समूह ‘बी’मा इरानमाथि ६–२ को प्रभावशाली जित निकालेको छ । खलिफा अन्तर्राष्ट्रिय रंगशालामा इंग्ल्यान्डको सानदार जितमा बुकायो साकाले दुई गोल गरेका थिए । यसैगरी, जड विलिंघम, रहिम स्टर्लिङ, मार्काेस रास्फोर्ड र ज्याक ग्रेयलिसले एक–एक गोल गरेका हुन् । खेलमा इंग्ल्यान्डले पूर्ण रूपमा बल पकड बनाएको थियो । जितसँगै समूह ‘बी’मा इंग्ल्यान्डले महत्वपूर्ण तीन अंक जोडेको छ । समूहमा दुई टोलीसँगै वेल्स र अमेरिका छन् । जितसँगै इंग्ल्यान्डले प्रिक्वार्टरफाइनल सम्भावना बलियो बनाएको छ । विश्वकपमा इंग्ल्यान्डले प्राप्त गरेको यो सर्वाधिक ठूलो जित हो । यसअघि इंग्ल्यान्डले सन् २०१८ मा पानामालाई ६ गोलले हराएको थियो ।

उत्कृष्ट फर्ममा साका
प्रशिक्षक गेराथ साउथगेटले प्रिमियर लिग क्लब टोटनह्यामका ह्यारी केनसहित बुकायो साका, मासोन माउन्ट र रहिम स्टर्लिङलाई अग्रपंक्तिको जिम्मा दिएका थिए । एसियाली मुलुकविरुद्ध इंग्ल्यान्डले पहिलो हाफमा तीन गोल गरेको थियो । दोस्रो हाफमा पनि इंग्ल्यान्डले तीन गोल थप्यो । इरानले खेलमा इंग्ल्यान्डमाथि दबाब राख्दै मध्यान्तरपछि दुई गोल फर्काएको थियो । खेलको ३५औँ मिनेटमा इंग्ल्यान्डले इरानको बलियो रक्षापंक्ति तोड्न सफल भयो । 

बुकायो साकाको पास सदुपयोग गर्दै १९ वर्षीय जड विलिंघमले उत्कृष्ट गोल गरेका थिए । विलिंघमले राष्ट्रका लागि पहिलो गोल गरेका हुन् । उनी विश्वकपमा कम उमेरमा गोल गर्ने इंग्ल्यान्डका दोस्रो खेलाडी भएका छन् । ४४औँ मिनेटमा ह्यारी म्यागुइरको पासमा बुकायो साकाले पहिलो गोल गरे । पहिलो हाफको इन्जुरी समयमा कप्तान केनले मिलाएको पासमा बक्सभित्र अनमार्कमा रहेका स्टर्लिङले उत्कृष्ट फिनिस गरे । यससँगै इंग्ल्यान्डले पहिलो हाफमा ३–० को अग्रता बनायो । 

स्टर्लिङको पासमा साकाले ६२औँ मिनेटमा व्यक्तिगत दोस्रो गोल गर्न सफल रहे । बक्सभित्र प्राप्त बललाई ‘वान टच’मै जाली चुमाउँदै मेहदी तारेमीले ६५औँ मिनेटमा इरानका लागि कतार विश्वकपमा गोल खाता खोले । वैकल्पिक खेलाडीको रूपमा मैदान प्रवेश गरेका रास्फोर्डले ७१औँ मिनेटमा ‘थ्री टच’मै गोल गर्दा इंग्ल्यान्डले ५–१ को अग्रता बनायो । 

राास्फोर्डले मैदान प्रवेश गरेको ४९ सेकेन्डमै गोल गरेका थिए । अर्का वैकल्पिक खेलाडी ज्याक ग्रेअलिसले ९०औँ मिनेटमा गोल गर्दा इंग्ल्यान्ड ६–१ को अवस्थामा पुग्यो । खेलको अन्तिम इन्जुरी समयमा इरानले पेनाल्टी पायो । मेहदीले पेनाल्टी गोल गर्दैै इरानलाई ६–२ को गोलअन्तरमा झारे । 

इन्जुरी समय २७ मिनेट
इंग्ल्यान्डले सर्वाधिक ठूलो अन्तरको जित निकाल्दा इन्जुरी समय २७ मिनेटको रह्यो । १४ मिनेट पहिलो हाफको इन्जुरी समय राखिएको थियो । इरानी गोलरक्षक एलिरेजा बेइरानवान्ड आफ्नै सहकर्मीसँग ठोकिँदा नाकमा चोट बोकेका थिए । नाकबाट रगत बग्दा उनलाई प्राथमिक उपचारपछि परिवर्तन गरिएको थियो । दोस्रो हाफमा भने १३ मिनेटको इन्जुरी समय थप गरिएको थियो । समग्रमा खेल एक सय १७ मिनेट भएको हो । 

समर्थक मैदानबाहिर
इंग्ल्यान्ड र इरानबीच खेल जारी रहँदा इंग्ल्यान्डका सयौँ दर्शक मैदानबाहिर बस्न बाध्य भए । ई–टिकटमा समस्या आएपछि समर्थक दुई घन्टासम्म कुर्दा पनि मैदान प्रवेश गर्न पाएनन् । इरानका खेलाडीले राष्ट्रिय गान नै नगाएको खेलअघि सात युरोपियन राष्ट्रले वान लभ आर्मब्यान्ड लगाउन पाएनन् । यसअघि सात राष्ट्रले आर्मब्यान्ड लगाउँदै विरोध जनाउन खोजेपछि फिफाले बैठक राख्दै यसबाट हटाएको थियो । 

नेदरल्यान्ड्सले सेनेगललाई हरायो

नेदरल्यान्ड्सले सोमबार समूह ‘ए’मा अफ्रिकन टोली सेनेगलमाथि २–० को कठिन जित निकालेको छ । समूह ‘ए’ महत्वपूर्ण तीन अंक जोडेको नेदरल्यान्ड्स शीर्ष स्थानमा छ । यस समूहमा दक्षिण अमेरिकी टोली इक्वेडर गोलअन्तरमा दोस्रो स्थानमा छ । इक्वेडरले २२औँ विश्वकपको उद्घाटन खेलमा आयोजक कतारमाथि २–० को जित निकालेको थियो । नेदरल्यान्ड्स र सेनेगलबीचको खेल निकै प्रतिस्पर्धात्मक रह्यो । दुवै टोलीले एट्याकिङ खेल खेलेका थिए । 

खेलको ८४औँ मिनेटमा नेदरल्यान्ड्सले गोलको खडेरी तोड्न सफल भयो । नेदरल्यान्ड्सका लागि गाक्पोले डिबक्सभित्र उत्कृष्ट हेडिङ गोल गर्दै आफ्नो टोलीलाई १–० को अग्रता दिलाए । मैदानको दायाँ साइडबाट डी जोङले डिबक्सभित्र क्रस निकालेका थिए । गोक्पाले सेनेगलका गोलरक्षक मेन्डयीलाई छेक्न अवसर नदिई पहिलो बारमा गोल गरे । 

त्यसलगत्तै सेनेगलले बराबरी गोल अवसर खेर फाल्यो । खेलको ८६औँ मिनेटमा पापे गुइएले डिबक्सबाहिरबाट प्रहार गरेको बललाई नेदरल्यान्ड्सका गोलरक्षक नोर्पेटले बायाँ साइडमा डाइभ गरी बल क्लियर गरे । खेलको अन्तिम इन्जुरी समयमा नेदरल्यान्ड्सले २–० अग्रता लिएको थियो । खेलमा आठ मिनेटको इन्जुरी समयमा थप भयो । सोही अवधिमा क्लासेनले रिवाउन्डमा सहजै गोल गर्दै नेदरल्यान्ड्सको जित २–० ले पक्का पार्‍यो । 

नेदरल्यान्ड्स आठ वर्षपछि विश्वकप फुटबलमा फर्किएको हो । सन् २०१४ को उपविजेता टोली नेदरल्यान्ड्स रसिया विश्वकपमा छनोट नै भएन । सेनेगलले विश्वकप सुरु हुनुअघि नै मुख्य स्ट्राइकर साडियो मानेलाई गुमाएको थियो । मानेविनाको सेनेगलको फिनिसिङ कमजोर देखियो । युरोपियन छनोटमा नेदरल्यान्ड्सले ३३ गोल गरेको थियो । जसमध्ये मेम्पिस डेपायले सर्वाधिक १२ गोल गरेका थिए । नेदरल्यान्ड्सका गोलरक्षक नोपर्टले राष्ट्रिय टोलीमा डेब्यु गर्ने अवसर पाए । सेनेगलविरुद्ध नेदरल्यान्ड्सले अन्तिम समयमा खेल पकडमा राखेको थियो । 

यसअघि ४५औँ मिनेटमा सेनेगलले राम्रो अवसर सिर्जना गरेको थियो । इस्मालिया सारले डिबक्सभित्र प्रहार गरेको बल क्रसबारनजिक हुँदै बाहिरिएको थियो । मध्यान्तरअघि सेनेगलले काउन्टर एट्याक्टमा नेदरल्यान्ड्सको डिफेन्सलाई चुनौती दिएको थियो । सेनेगलले मध्यान्तरअघि दुईपटक सुनौलो गोल अवसर खेर फाल्यो । खेलको ५३औँ मिनेटमा नेदरल्यान्ड्सले नजिकको दूरीबाट अग्रताको अवसर चुकाएको थियो । कर्नरमा प्राप्त बलमा भर्जिन भानले क्लोज रेन्जबाट प्रहार गरेको हेडिङ बल पोस्टनजिक हुँदै बाहिरिएको थियो । 

खेलको ५५औँ मिनेटमा सेनेगलका इड्रिसा गुएरले डिबक्सभित्रबाट प्रहार गरेको बललाई नेदरल्यान्ड्सका गोलरक्षक नोपर्टले उत्कृष्ट बचाउ गरेका थिए । खेलको ५३औँ मिनेटमा भान डिकले क्लोज रेन्जमा गोल गर्न सकेनन् । पेनाल्टी बक्सको ६ यार्डभित्र उनी अनमार्कमा थिए । बलमाथि नियन्त्रण लिन नसक्दा उनले मौका चुकाएका हुन् ।