१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
नवीन अर्याल काठमाडौं
२०७९ मङ्सिर ५ सोमबार ०८:११:००
Read Time : > 3 मिनेट
अर्थ प्रिन्ट संस्करण

पोखरा विमानस्थलमा क्यालिब्रेसन फ्लाइट आजदेखि

Read Time : > 3 मिनेट
२०७९ मङ्सिर ५ सोमबार ०८:११:००

पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलमा सोमबारदेखि यान्त्रिक परीक्षण (क्यालिब्रेसन फ्लाइट) सुरु हुँदै छ । यान्त्रिक परीक्षणका लागि एरो थाई कम्पनीको विशेष उपकरणजडित विमान शनिबार नै पोखरा पुगिसकेको छ ।

एरो थाईको प्राविधिक टोलीले ५ मंसिरदेखि १२ गतेसम्म विमानस्थलमा जडित कम्युनिकेसन, नेभिगेसन र सर्बिलेन्स उपकरणको परीक्षण गर्नेछ । विमानस्थलमा बिहान १० देखि १ बजेसम्म र दिउँसो साढे २ देखि ५ बजेसम्म क्यालिब्रेसन फ्लाइट हुने नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)का सूचना अधिकारी ज्ञानेन्द्र भुलले बताए । यान्त्रिक परीक्षणका लागि क्याप्टेनसहित आठजनाको विज्ञ टोली पोखरा पुगिसकेको उनको भनाइ छ ।

विमानस्थल सञ्चालनका लागि अवरोध ठानिएको रिट्ठेपानी डाँडा १६ मिटर कटान भइसकेको क्यानका महानिर्देशन प्रदीप अधिकारीले जानकारी दिए । ‘क्यालिब्रेसन फ्लाइट गर्न अवरोध हुनेजति डाँडो कटान भइसक्यो,’ उनले भने, ‘हामी निर्धारित समयमै नियमित उडान गर्ने गरी अगाडि बढिरहेका छौँ ।’ १ जनवरी २०२३ देखि पोखराबाट नियमित अन्तर्राष्ट्रिय उडान सुरु गर्ने तालिका तय भइसकेको छ ।

नयाँ विमानस्थलमा व्यावसायिक उडान सुरु गर्नुअघि यान्त्रिक परीक्षण उडान गर्नुपर्ने हुन्छ । विशेष उपकरणजडित विमानबाट विज्ञ टोलीले विमानस्थलमा जडान गरिएका यन्त्र उपकरणहरूले सही ढंगले काम गरेका छन्–छैनन्, परीक्षण गरिन्छ । अर्थात्, विमानस्थलमा कम्युनिकेसन, नेभिगेसन र सर्बिलेन्स उपकरणहरूको प्रमाण्ीकरण गर्ने हो ।

विमानस्थलमा दैनिक पाँच घन्टा यान्त्रिक परीक्षण उडान हुने प्रवक्ता भुलले बताए । २५ नोभेम्बर (९ मंसिर)सम्म कम्युनिकेसन, नेभिगेसन र सर्बिलेनस इक्विपमेन्टको चेकजाँच हुनेछ । १० गते शनिबार जहाजलाई रेस्ट गर्ने कार्यक्रम छ । त्यस दिन एरो थाईको टिमले पहिला गरेको क्यालिब्रेसन फ्लाइटको रिभ्यु गर्छ । अर्थात्, टोलीले प्रारम्भिक प्रतिवेदन तयार गर्नेछ । यान्त्रिक परीक्षण रिभ्युका क्रममा कुनै कमजोरी देखिएमा, कुनै यन्त्र उपकरणहरू परीक्षण गर्न छुटेको वा कुनै यन्त्र उपकरणको काममा शंका पैदा भएमा ११ गते पनि परीक्षण उडान हुनेछ । १२ गते एरोनटिकल चार्ट चेकअप गर्ने कार्यक्रम रहेको उनको भनाइ छ ।

‘यान्त्रिक परीक्षण सम्पन्न भएको एक हप्तामा एरो थाईको टिमले आफ्नो प्रतिवेदन बुझाउनेछ,’ सूचना अधिकारी भुलले भने । पोखरा विमानस्थलको क्यालिब्रेसन फ्लाइट सम्पन्न भएपछि जहाज धनगढी विमानस्थलको क्यालिब्रेसन फ्लाइटका लागि जानेछ । त्यसपछि काठमाडौं हुँदै झापाको चन्द्रगढी विमानस्थलमा क्यालिब्रेसन फ्लाइट गर्न जने तालिका रहेको भुलले बताए । विभिन्न विमानस्थलको क्यालिब्रेसन फ्लाइट गर्न एरो थाईको जहाज १९ मंसिरसम्म नेपालमै रहने उनको भनाइ छ ।

४० मिटर डाँडो कटान गर्नुपर्ने
विमानस्थल सञ्चालनका लागि मुख्य अवरोधक ठानिएको रिट्ठेपानी डाँडा पनि कटान सुरु भइसकेको छ । क्यानले उमा–गल्वा जोयन्ट भेन्चर कम्पनीलाई छनोट गरी करसहित ३२ करोड ३० लाख ४४ हजार रुपैयाँमा डाँडा कटानीको जिम्मेवारी दिएको छ । पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनका लागि रिट्ठेपानी डाँडो ४० मिटर काट्नुपर्ने क्यानको प्राविधिक अध्ययनले देखाएको छ । डाँडो एउटा चुच्चोबाट ४० मिटर र अर्को चुच्चोबाट साढे १२ मिटर कटान गर्नुपर्ने हुन्छ । 

विमानस्थल सञ्चालनका लागि अर्को अवरोधक भनेको नजिकै रहेको ल्यान्डफिल साइट हो । ल्यान्डफिल साइटमा चराहरूको भिडभाड हुने हुनाले ल्यान्डफिल नहटाई उडान–अवतरण सम्भव छैन । पोखरा महानगरका मेयर धनराज आचार्यले १ जनवरीसम्म ल्यान्डफिल साइट सारिसक्ने प्रतिबद्धता जनाएको महानिर्देशक अधिकारीले बताए । अहिले ल्यान्डफिल साइट ढाकेर चराजन्य गतिविधि कम गर्ने र क्यालिब्रेसन फ्लाइट गर्ने तयारी छ । ५ मंसिरदेखि नै ल्यान्डफिल साइटमा फोहोर नफाल्न पोखरा महानगरलाई भनेको क्यानले जनाएको छ ।

बुद्धको पहिलो अन्तर्राष्ट्रिय उडान
पोखराबाट बुद्ध एयरले उद्घाटनकै दिन पहिलो उडान गर्ने भएको छ । बुद्धले पोखरा–बनारस–पोखरा अन्तर्राष्ट्रिय उडान गर्ने भएको हो । ‘जनवरी २०२३ देखि अन्तर्राष्ट्रिय उडानका लागि विमानस्थल तयार हुने जानकारी प्राप्त भएको छ,’ बुद्ध एयरले विज्ञप्तिमार्फत भनेको छ, ‘त्यहाँबाट पोखरा–बनारस–पोखरा हप्तामा तीन दिन उडान गर्नेछौँ ।’ बुद्धले पोखराबाट सातामा तीन दिन आइतबार, मंगलबार र बिहीबार बनारस उडान गर्ने भएको हो । यस्तै, एयर ट्राफिक सर्भिस (एटिएस) रुटका लागि नेपाल सरकारले भारतसँग पहल गरिरहेको हुँदा भारतबाट रुट र स्लट स्वीकृति प्राप्त हुनासाथ पोखरा–दिल्ली–पोखरा प्रत्येक दिन दुई उडान र पोखरा–देहरादुन–पोखरा हप्तामा तीन उडानका लागि प्रक्रिया यथाशीघ्र अगाडि बढाउने बुद्धले जनाएको छ ।

चिनियाँ निर्माण कम्पनी सिएएमसी इन्जिनियरिङले असार ०७४ देखि निर्माण सुरु गरेको विमानस्थलको काम करिब सम्पन्न भएको छ । २१ अर्ब ६० करोड रुपैयाँ अनुमानित लागत रहेको यस विमानस्थल अन्तर्राष्ट्रिय नागरिक उड्डयन संस्था (आइकाओ)को मापदण्डअनुसार फोरडी मोडलमा निर्माण गरिएको हो । अहिलेसम्म विमानस्थलको भौतिक प्रगति साढे ९८ प्रतिशत पूरा भइसकेको आयोजनाले जनाएको छ ।

यसरी हुनेछ नियमित फ्लाइट व्यवस्थापन 
निर्माणाधीन पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलमा क्यालिब्रेसन फ्लाइट गर्दा अर्को विमानस्थलमा कमर्सियल फ्लाइट गर्न मिल्दैन । आन्तरिक उडानलाई धेरै असर नपुग्ने गरी क्यालिब्रेसन फ्लाइट गर्न लागेको सूचना अधिकारी भुलले बताए । ‘एरो थाईले दैनिक ६ घन्टा समय मागेको थियो, हामीले कमर्सियल फ्लाइटलाई ध्यानमा राखेर पाँच घन्टा मात्र समय दिएका छौँ,’ उनले भने, ‘क्यालिब्रेसन फ्लाइट नहुँदा कमर्सियल फ्लाइट गर्न सकिन्छ ।’ पोखराबाट दैनिक ४० भन्दा बढी उडान हुँदै आइरहेको विमानस्थल कार्यालयले जनाएको छ ।

क्यानका अनुसार बिहान १० बजेसम्म नियमित कमर्सियल फ्लाइट हुनेछ । १० बजेदेखि एक बजेसम्म क्यालिब्रेसन फ्लाइट हुन्छ । एक बजेदेखि साढे दुई बजेसम्म पुनः कमर्सियल फ्लाइट हुनेछ, क्यालिब्रेसन फ्लाइट रेस्टमा बस्नेछ । साढे दुई बजेदेखि पाँच बजेसम्म पुनः क्यालिब्रेसन फ्लाइट हुने तालिका छ । ‘हामीले कमर्सियल फ्लाइट नबिग्रियोस् भनेर ध्यान दिएका छौँ,’ उनले भने ।

यति हुँदाहुँदै पनि पोखरामा हुने धेरै नियमित फ्लाइटहरू प्रभावित हुने वायुसेवा कम्पनीले जनाएका छन् । आजभोलि पोखरामा बिहानको समय हुस्सु लान थालेको छ । पछिल्लो समय साढे आठ बजेपछि उडान हुने हुँदा धेरै उडानहरू प्रभावित हुने अनुमान छ । तर, वायुसेवा कम्पनीहरूले बिहानको डेढ–दुई घन्टा र दिउँसोको डेढ घन्टाको समयलाई अधिकतम उपयोग गर्न सक्नेछन् ।

पर्यटकीय नगरी पोखराबाट बुद्ध, यती, तारा, समिटलगायत वायुसेवाले आन्तरिक उडान गर्दै आइरहेका छन् । बुद्ध एयरले पोखरालाई बेस बनाएर धनगढी, नेपालगन्ज, भैरहवा, भरतपुर, सिमरा, जनकपुर, विराटनगरलगायत गन्तव्यमा उडान गर्दै आइरहेको छ । यस्तै, पोखराबाटै मुस्ताङको जोमसोममा पनि नियमित फ्लाइट हुने गर्छ ।