१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
२०७९ मङ्सिर ५ सोमबार ०७:४९:००
Read Time : > 2 मिनेट
खेलकुद प्रिन्ट संस्करण

आयोजक कतार पहिलो खेलमै स्तब्ध

Read Time : > 2 मिनेट
२०७९ मङ्सिर ५ सोमबार ०७:४९:००

कतारले इक्वेडरविरुद्ध दुई खराब रेकर्ड बनायो । विश्वकपको उद्घाटन खेलमा पराजित हुने  र सन् १९७० पछि गोल गर्न नसक्ने आयोजक राष्ट्र कतार बनेको छ ।

पहिलोपटक विश्वकप फुटबल प्रतियोगिता खेलिरहेको कतार आइतबार उद्घाटन खेलमै स्तब्ध भएको छ । विश्वकपअन्तर्गत इक्वेडरले आयोजक कतारमाथि २–० को सानदार जित निकाल्दै समूह एमा तीन अंक जोडेको छ । कतारले विश्वकपमा खराब रेकर्ड पनि राखेको छ । २१औँ संस्करणसम्म कुनै पनि आयोजक राष्ट्रहरूले खेल गुमाएका थिएनन् । कतार आयोजक राष्ट्रका रूपमा विश्वकपको पहिलो खेल गुमाउने र सन् १९७० को विश्वकपपछि आयोजक राष्ट्रकै रूपमा गोल गर्न नसक्ने टोली पनि बन्यो । 

प्रतिस्पर्धामा कतारी खेलाडी आत्तिएका देखिन्थे । हजारौँ घरेलु समर्थक कतारले पहिलो हाफमा गतिलो प्रदर्शन गर्न सकेन । खेलको तेस्रो मिनेटमै इक्वेडरले १–० को अग्रता लिएको थियो । इनर भ्यालेन्सियाले क्लोज रेन्जबाट गरेको हेडिङ गोल गरेका थिए । तर, भिडियो एसिस्टेन्ट रेफ्री (भार)ले भ्यालेन्सियाको गोललाई मान्यता दिएन । भारले उनको गोललाई अफसाइड दिएको थियो । सुरुदेखि नै आक्रामक देखिएको इक्वेडरले खेलको १७औँ मिनेटमा १–० को अग्रता लियो । २२औँ संस्करणको पहिलो गोल नै पेनाल्टीबाट भयो । 

पहिलो गोल नै पेनाल्टी
डिबक्सभित्र कतारका गोलरक्षक अलिसिबले फल गरेपछि इक्वेडरले पेनाल्टी प्रहार गर्ने मौका पायो । भ्यालेन्सियाले गोलरक्षक अलिसिबलाई विपरीत दिशामा डाइभ गराउँदै गोल गर्न सफल भए । खेलको ३१अ‍ौँ मिनेटमा भ्यालेन्सियाले २–० को अग्रता दिलाए । उनको दोस्रो गोल उत्कृष्ट थियो । एन्जेलो प्रेसियाडोको क्रसमा उनले डिबक्सनजिबाटै उत्कृष्ट हेडिङ गोल गरेका थिए । पहिलो हाफको इन्जुरी समयमा कतारले गोल अवसर खेर पालेको थियो । कप्तान अल हेडोसको क्रसमा अल्मोएज अलीले फ्री हेडरलाई क्रसबारमाथि गएको थियो । 

मध्यान्तरपछि कतारले खेलमा सुधार गरेको थियो । दोस्रो हाफमा कतारले बराबरी गोल फर्काउन धेरै प्रयास गरेको थियो । तर, उत्कृष्ट फिनिसिङ नहुँदा कतारको सबै प्रयास असफल भयो । खेलको ८७औँ मिनेटमा घरेलु टोलीलाई गोल फर्काउने अवसर मिल्यो । भरपर्दा खेलाडी मोहमदले डिबक्सबाट प्रहार गरेको बल क्रसबारमाथि गएको थियो । 

प्रतिस्पर्धामा केवल नौपटक नौ सर्ट प्रहार भएको थियो । कतारले चार र इक्वेडरले पाँचपटक सर्ट हिर्काएका थिए । सन् १९६६ को विश्वकपछि एक खेलमा कम सर्ट प्रहार भएको खेल नै कतार र इक्वेडरबीच हो । 

भव्य उद्घाटन सामारोह
२२औँ संस्करणको विश्वकप फुटबल प्रतियोगिताको उद्घाटन अल बायत रंगशालामा भव्य रूपमा भएको छ । कतारका सेख तमिम बिन हमाद अल थानीले आधिकारिक रूपमा कतार विश्वकप २०२२ सुरु भएको घोषणा गरेका थिए । उद्घाटन सत्रमा ३२ राष्ट्रको संस्कृति प्रस्तुति आकर्षक रहेको थियो । समारोहमा विश्वप्रसिद्ध दक्षिण कोरियाली ब्यान्ड बिटिएसका जुङ कुकले आफ्नो प्रस्तुति दिएका थिए । 

यसैगरी, बलिउड स्टार नोरा फतेह, कोलम्बियाली गायिका सकिरा, जे बाल्भिन, नाइजेरियन गायक तथा गीतकार प्याट्रिक ओकारी, नाइजेरियाली कलाकार किज डेनियलसँगै स्थानीय कलाकारले प्रस्तुति दिए । कतारी चर्चित गायक फाहाद अल–कुबाइसीको प्रस्तुति पनि रंगशालामा उपस्थित दर्शकले मन पराए । उनले आइतबार मात्रै सार्वजनिक गरेको ड्रिम्स गीत गाए । उद्घाटन सत्रमा अघिल्लो २१ आयोजक राष्ट्र र प्रतियोगिताका स्वयंसेवकका प्रतिनिधिकोे प्रस्तुति देखाइएको थियो । 

अल बायत रंगशालामा २१औँ संस्करणको विश्वकपमा प्रयोग भएको मस्कट प्रदर्शनी गरिएको थियो । उद्घाटन समारोहको अन्त्यमा कतार विश्वकपको मस्कट डिजिटल र फिजिकल माध्यमबाट सार्वजनिक गरियो । एक महिनासम्म चल्ने विश्वकपमा सहभागी राष्ट्रलाई आठ समूहमा विभाजन गरिएको छ । विश्वकपमा कुल ६४ खेल हुनेछ । आठ रंगशालामा आयोजना हुने विश्वकपको फाइनल १८ डिसेम्बरमा हुनेछ । एसियाली क्षेत्रमा दोस्रोपटक फुटबलको महाकुम्भ सुरु भएको हो । यसअघि सन् २००२ मा दक्षिण कोरिया र जापानले संयुक्त रूपमा फुटबलको महाकुम्भ आयोजना गरेका थिए । पहिलो विश्वकप आयोजना भएको २० वर्षपछि कतारले दोस्रो विश्वकप आयोजना गरेको हो ।