मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २०७९ मङ्सिर १७ शनिबार
  • Saturday, 03 December, 2022
केयु जिन
२०७९ मङ्सिर ४ आइतबार ०९:३६:००
Read Time : > 4 मिनेट
विश्व प्रिन्ट संस्करण

‘चिप युद्ध’ कसरी सामना गर्दै छ चीन ?

Read Time : > 4 मिनेट
केयु जिन
२०७९ मङ्सिर ४ आइतबार ०९:३६:००
केयु जिन

राष्ट्रपति जो बाइडेनले अक्टोबरको सुरुमा उन्नत सेमीकन्डक्टरमा चीनको पहुँचलाई रोक्ने उद्देश्यले ठूलो निर्यात नियन्त्रणहरू लागू गरे । निर्णय लागू गर्दाको समय पनि महत्वपूर्ण थियो, चिनियाँ कम्युनिस्ट पार्टीको २०औँ राष्ट्रिय महाधिवेशनको केही दिनअघि सो कानुन ल्याइएको थियो । अमेरिकाको यस आक्रामकताविरुद्ध चीनले असन्तुष्टि जनायो । यता चिनियाँ कम्युनिस्ट पार्टीको महाधिवेशनले राष्ट्रिय प्राथमिकतामा ध्यान दिने बताउँदै अर्थतन्त्रभन्दा सुरक्षालाई प्राथमिकता दिने र भूराजनीतिमा हुँदै गरेका ठूला परिवर्तन, प्रविधि युद्ध आदिमा ध्यान केन्द्रित गर्ने बताएको छ । 

पार्टी महाधिवेशनबाट देशका शीर्ष नेतामा तेस्रो कार्यकालका लागि चुनिएका सी जिनपिङले महाधिवेशनमा दिएको भाषणमा ‘प्रविधि’ ४० पटक उच्चारण गरे । उनले ‘कोर(महत्वपूर्ण)’ प्रविधिहरूको लडाइँ जित्ने’ वाचा गर्दै नवीनता र प्राविधिक आत्मनिर्भरतामा जोड दिए । चीनले वर्षौंदेखि उन्नत प्रविधिमा संयुक्त राज्य अमेरिकाको हाराहारी पुग्न मिहिनेत गरिरहेको छ । र, बेइजिङले अटोमेसन(स्वचालन), सूक्ष्म चिप र स्वचालित कारजस्ता प्रविधिमा आफ्ना उद्योगलाई पुनः केन्द्रित गर्न २०१५ मा ‘मेड इन चाइना २०२५’ कार्यक्रम नै ल्याएको थियो । अमेरिकासँगको प्रतिस्पर्धा र द्वन्द्वका कारण चीनमा प्राविधिक–राष्ट्रवादको उदय भएको छ । राष्ट्रपति डोनाल्ड ट्रम्पले हुवावेजस्ता चिनियाँ प्रविधि कम्पनीमाथि लगाएको प्रतिबन्धले देशमा प्राविधिक–राष्ट्रवादको पहिलो लहरलाई उचालेको थियो । 

राष्ट्रपति बाइडेनको निर्यात नियन्त्रणको निर्णयले चीनको प्राविधिक क्षमता  अमेरिकी हाराहारीमा पुग्ने संकल्पलाई पुनः नवीकरण गरिदिएको छ । यसपटक पहिलोचोटि कम्युनिस्ट पार्टीको महाधिवेशनले नयाँ प्राथमिकता थपेको छ– प्रविधि, विज्ञान र शिक्षाद्वारा दीक्षित महान् शक्ति । विज्ञान र प्रविधि अहिले चीनको विकासको केन्द्रबिन्दु बनेको छ र आत्मनिर्भरता राष्ट्रिय आवश्यकता भएको छ । बाइडेनको निर्यात नियन्त्रणको एक दिनपछि चीनको प्रख्यात टेक्नोलोजी हब सेन्जेनको स्थानीय सरकारले यसको सेमीकन्डक्टर उद्योगको सफलतालाई तीव्र पार्ने एक महत्वाकांक्षी योजनालाई अन्तिम रूप दियो । सेन्झेनले वित्तीय सहयोग, सहयोगी कर नीतिहरू, अनुसन्धान र विकास अनुदान तथा प्रतिभा कार्यक्रममार्फत सहरमा एक पूर्ण प्रविधिक वातावरण बनाउने सोच राखेको छ । चिनियाँ सेमिकन्डक्टर कम्पनीविरुद्ध अमेरिकी धक्का उन्नत चिपमा निर्भर अन्य कम्पनीले पनि महसुस गर्न सक्छन् । विशेषतः स्वायत्त सवारीसाधन र कृत्रिम बौद्धिकतामा काम गर्ने व्यवसाय यो जोखिममा छन् । अमेरिकी सेमीकन्डक्टर कम्पनीको राजस्वको ३० प्रतिशत हिस्सा चीनलाई गरिने बिक्रीबाट आइरहेको थियो । सन् २०२१ मा अमेरिकी कम्पनीले ४०० अर्ब डलरको चिप चीन निर्यात गरे । चीनले अब घरेलु चिप उत्पादकमा भर पर्नु पर्नेछ, जसले सन् २०२५ सम्म घरेलु बजार मागको ७० प्रतिशत पूरा गर्ने अपेक्षा छ ।

अमेरिकी निर्यात प्रतिबन्धले निम्त्याएको नयाँ चुनौतीको सामना गर्न, चीन आफ्नो सबैभन्दा बलियो प्राविधिक–राष्ट्रवाद ‘जुगुओ टिझी’ अर्थात् ‘सम्पूर्ण राष्ट्र’ दृष्टिकोणतर्फ फर्किरहेको छ । यसअन्तर्गत देशका सम्पूर्ण स्रोत निश्चित रणनीतिक उद्देश्य हासिल गर्न परिचालन गरिन्छ । यो विगतमा ओलम्पिक स्वर्णपदक वृद्धि गर्नदेखि आणविक हतियार निर्माणमा प्रयोग गरिएको थियो । चीनले यसमा तत्काल प्रतिफलको आशा नगरी ठूलो रकम दाउमा लगाउनेछ । यसअघि नै चीनका अग्रणी प्रविधि क्षेत्रमा ठूलो लगानी प्रवाहित भइसकेको छ, चीनले सन् २००९ देखि २०११ बीचमा क्वान्टम कम्प्युटिङमा ११ अर्ब डलर लगानी गर्‍यो, जबकि संयुक्त राज्यले यस अवधिमा जम्मा तीन अर्ब डलर खर्चिएको थियो । 

चिनियाँ सरकारी नेतृत्वमा सेमीकन्डक्टरको विकासका लागि ‘बिग फन्ड’ निर्माण गरिएको छ, जसमा निजी तथा सार्वजनिक क्षेत्रबाट झन्डै १० खर्ब रेनमिन्बी अर्थात् करिव १३७ अर्ब डलर जम्मा भएको छ । केन्द्रीय बैंकले पनि उच्च प्राविधिक फर्महरूका लागि भनेर २० अर्बडलरको विशेष न्यून ब्याज ऋण ल्याएको छ । उन्नत अनुसन्धान गर्ने गरी देशभर सयौँ राष्ट्रिय प्रयोगशाला खडा गरिँदै छ । प्रविधि युद्ध चलिरहँदा सरकारले थप सहयोगको कार्यक्रम ल्याउने निश्चित छ । औद्योगीकरणका समय सफल साबित भएको चीनको राज्य–नेतृत्वको यस दृष्टिकोण नवप्रवर्तनमा पनि प्रभावकारी साबित होला ? राज्यले पूर्वाधार निर्माण गर्न र आपूर्ति शृंखलाहरू समन्वय गर्न सक्छ, तर के यसले प्रविधिमा विजेता को हुनेछ भन्ने निर्धारण गर्न सक्छ ?

अहिलेसम्म चीनको राज्य–नेतृत्वको नवप्रवर्तन प्रयास सफल भएको देखिन्छ, तर त्यो अविश्वसनीय रूपमा महँगो साबित भएको छ । चीन अहिले क्यान्टम क्षेत्रमा अमेरिकाको हाराहारी छ भने केही क्षेत्रमा अगाडि गइसकेको छ । चीनको सबैभन्दा ठूलो चिप निर्माता सेमीकन्डक्टर म्यानुफ्याक्चरिङ इन्टरनेसनल कर्पोरेसन(एसएमआइसी)ले अमेरिकी प्रतिबन्धहरूको बाबजुद सात न्यानोमिटर चिपहरू ढुवानी गर्न थालेको छ । राज्यको स्वामित्वमा रहेको मेमोरी चिप उत्पादक कम्पनी याङ्त्जे मेमोरी टेक्नोलोजी कर्पोरेसन प्रतिबन्धअघि एप्पलको आइफोनमा प्रयोग हुने पार्टपुर्जाहरू आपूर्ति गर्ने स्थितिमा पुगिसकेको थियो । यी दुवैले राज्यकोषबाट अर्बाैं डलरको लाभ उठाएका थिए । 

गत महिना घोषणा गरिएको एक योजनाले ‘जुगुओ प्रणाली’लाई नयाँ ट्विस्ट दिएको छ, जसअन्तर्गत अब निजी क्षेत्र र बजार संयन्त्रको शक्तिलाई पनि यसमा संलग्न गराइँदै छ । योजनाअनुसार राज्यले लामो, जटिल र अनिश्चित लगानी गर्नुपर्ने क्षेत्रमा कोष परिचालनमा प्रमुख्य भूमिका खेल्ने भए पनि कुन प्रविधिहरू बनाउने, कसरी बनाउने र स्रोतहरू कहाँ प्रवाहित गर्ने भन्ने कुराको निर्णय बजार तथा उद्यमको जिम्मामा छोडिँदै छ । सेन्जेनजस्तै प्रान्तीय सरकारहरूले आशाप्रद उद्यमीहरूका सामु धेरै ठूलो बाधा नआऊन् भन्ने सुनिश्चित गर्नेछन् । तिनले नियामकहरूलाई आइपिओ दिलाउन, राज्यको वित्तपोषण गराउन र यहाँसम्म कि ती उद्यमीका पतिपत्नीका लागि रोजगारीका लागि द्रुत मार्गमा काम गराउनेछन् । तर, फजुल खर्च, भ्रष्टाचार तथा समान काम दोहोरिनबाट रोक्न राज्यको संलग्नतामा सीमित गरिएको छ । यसअन्तर्गत तिनले लिन सक्ने ‘इक्विटी स्टेक’ वा वित्तीय अनुदान थप्ने क्षमतामा सीमा तोकिएको छ ।

महत्वपूर्ण प्रविधिहरूको निपूणता हासिल गर्न बजार, पैसा र प्रतिभा सबैको आवश्यकता हुन्छ । चिनियाँ बजारहरू ठूलो नवप्रवर्तनका लागि तयार छन्, आजका चिनियाँ उपभोक्ताहरू उच्च प्रविधि–जानकार छन् र गुणस्तरीय उत्पादनको माग गर्छन् । यस्तो माग भएको बजारमा उच्च गुणस्तरीय प्रविधि प्रदान गर्ने कम्पनीले मात्र जित्न सक्छन् । आर्थिक परिपक्वताको अर्थ वित्तीय स्रोतहरू उच्च प्रतिफल आउने अनिश्चित क्षेत्रमा मात्र प्रवाहित हुनेछन् । गत वर्ष चीनको सेमीकन्डक्टर उद्योगको घरेलु राजस्व १५७ अर्ब नाघेको थियो, जुन संयोग होइन । सो वर्ष विश्वमा सबैभन्दा छिटो बढिरहेका २० मध्ये १९ सेमीकन्डक्टर कम्पनीहरू चिनियाँ थिए । 

तर, प्रतिभा र आधारभूत अनुसन्धान चीनको कमजोर बिन्दु बनेका छन् । चाइना सेमीकन्डक्टर इन्डस्ट्री एसोसिएसनको अनुमान अनुसार सन् २०२५ सम्ममा यस क्षेत्रका उद्योगमा तीन लाख विज्ञको अभाव सिर्जना हुनेछ । गत वर्ष सेमीकन्डक्टर उद्योग ज्यालामा सबैभन्दा ठूलो वृद्धि भएको क्षेत्र थियो । अत्याधुनिक प्रविधिको आधार मानिने आधारभूत अनुसन्धान चीनमा उल्लेखनीय रूपमा सुस्त छ । र, चीनले वैज्ञानिक विकासका लागि राज्यको बजेट द्रुत गतिमा बढाइरहेको छ । जुगुओ प्रणाली सामान्य लागतको मतलब नहुने ठुल्ठूला तथा जटिल उपकरण निर्माण गर्नका लागि यो विधि उपयोगी हुन सक्छ । तर, यो उपभोग्य उत्पादनहरूमा प्रयोग हुने उन्नत चिप विकास गर्न त्यति उपयोगी छैन, जहाँ लागत र परिणामले ठूलो भूमिका खेल्छ । भलै त्यसले चीनलाई अन्तर्राष्ट्रिय प्रविधिहरूबाट अलग गरिँदा पूर्ण रूपमा अक्षम हुनबाट बचाउन सक्छ । 

उन्नत सेमीकन्डक्टरको हकमा चीन अमेरिकाभन्दा १० वर्ष वा अझ पछि हुन सक्छ । प्राविधिक–राष्ट्रवादले दुई मुलुकबीचको भिन्नताको गतिलाई छोट्याउन सक्छ, तर द्रुत गतिमा चल्ने दुई रेलबीचको दूरी अन्त्य हुने सम्भावना छैन । मुख्य प्रविधि विकास गर्न समय लाग्छ, यसमा वर्षौंदेखिको संकलित सिकाइ र ज्ञानको प्रयोग हुन्छ । चीनमा अहिले एक भनाइ चर्चित छ ‘मोडमा उछिन्ने’, जसको अर्थ अरूले सुरु नै नगरेका क्षेत्रमा अग्रता लिने भन्ने हुन्छ । जस्तो– जर्मन परम्परागत कारहरू उत्पादनमा अगाडि छन्, तर चीनले विद्युतीय सवारी, नवीकरणीय ऊर्जा र नयाँ प्रविधिहरूमा महत्वपूर्ण अग्रता हासिल गरेको छ । उसले सेमीकन्डक्टर उत्पादनलाई पनि नयाँ दिशाबाट अघि बढाउन खोज्दै छ । उन्नत प्याकेजिङ प्रविधि गरिएमा न्यून प्रशोधन नोड भएका चिपहरू पनि उच्च–प्रशोधन गरिएका चिपले जस्तै काम गर्छन् । सिलिकनजस्ता सामग्री प्रयोग गरेर चीन नयाँ पुस्ताको चिप विकासमा केन्द्रित छ । 

चिनियाँ कम्युनिस्ट पार्टीको पञ्चवर्षीय योजना उत्पादन र गुणस्तर सुदृढीकरणमा केन्द्रित छ । अमेरिकी शैलीको वित्तीयकरण र सेवामुखी अर्थतन्त्रले राष्ट्रिय बल र सुरक्षा सुनिश्चित गर्न सक्छ भन्ने चिनियाँ नेतृत्वको विश्वास छैन । चीन विशाल आकारको स्मार्ट जर्मनी बन्न चाहन्छ, जोसँग औद्योगिक क्षमता होस् र जो कृत्रिम बौद्धिकता, भावी पुस्ताको सञ्चार र रोबोटिक्समा अग्रणी होस् । चीनले अहिले जुगुओ प्रणालीको परीक्षण गरिरहेको छ, जुन प्राविधिक श्रेष्ठताको दौड मात्र होइन, दुई पूर्ण भिन्न प्रणालीबीचको निर्णायक प्रतिस्पर्धा पनि हो । 

(चिनियाँ अर्थशास्त्री जिन लन्डन स्कुल अफ इकोनोमिक्सका अर्थशास्त्रकी सहप्राध्यापक हुन् ।) न्युयोर्क टाइम्सबाट