१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ११ मंगलबार
  • Tuesday, 23 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७९ मङ्सिर ३ शनिबार ०९:३५:००
Read Time : < 1 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

तीन देशका प्रमुख निर्वाचन आयुक्त काठमाडौंमा 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ मङ्सिर ३ शनिबार ०९:३५:००

निर्वाचन पर्यवेक्षणका लागि तीन देशका प्रमुख निर्वाचन आयुक्त काठमाडौं आइपुगेका छन् । भारत, भुटान र माल्दिभ्सका प्रमुख आयुक्त निर्वाचन पर्यवेक्षणका लागि काठमाडौं आएको निर्वाचन आयोगका सहायक प्रवक्ता कमल भट्टराईले जानकारी दिए ।

उनका अनुसार माल्दिभ्सको निर्वाचन आयोगका अध्यक्ष फुवाद तौफिक बिहीबार काठमाडौं आएका थिए । भारतका प्रमुख आयुक्त राजीव कुमार र भुटानका प्रमुख आयुक्त सोनम तोप्गे शुक्रबार काठमाडौं आएको भट्टराईले बताए । राजीव कुमारलाई आयोगका प्रवक्ता शालिग्राम शर्मा र तोप्गेलाई आयोगका सहसचिव तुल्सी श्रेष्ठले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेका थिए । बंगलादेशका प्रमुख आयुक्त काजी हबिबुल अवल आज काठमाडौं आउँदै छन् । दक्षिण कोरियाका निर्वाचन आयुक्त काङ सियोङ बेको टोली बिहीबारै काठमाडौं आइसकेको छ भने श्रीलंकाले अन्तिम समयमा आफ्नो आयुक्त पठाउन नसक्ने भन्दै भ्रमण नै रद्द गरेको छ । 

परराष्ट्र मन्त्रालयले समन्वय गरिरहेको जापानका विदेश राज्यमन्त्री ताकेई सुनसुके नेतृत्वको पाँचसदस्यीय टोली मतदानको दिन नै आउने र भोलिपल्ट फर्किने कार्यक्रम छ । उनीहरूले काठमाडौं उपत्यकाभित्र मतदानको अवलोकन गर्नेछन् । प्रमुख आयुक्त दिनेश थपलियाले निर्वाचनसम्बन्धी काम–कारबाहीको पर्यवेक्षणद्वारा निर्वाचनको विश्वसनीयता अभिवृद्धि गर्न पाहुनाले निर्वाचन पर्यवेक्षण गर्ने बताए । 

निर्वाचन पर्यवेक्षण गर्न अन्तर्राष्ट्रिय संस्थाका पर्यवेक्षक पनि नेपाल आइसकेका छन् । एसियन नेटवर्क फर प्रि–इलेक्सन (एनएफआरइएल) र सिभिक च्याम्बर अफ रसियन फेडेरेसनका १२ जना पर्यवेक्षकलाई आयोगले प्रशिक्षणसमेत दिइसकेको सहायक प्रवक्ता भट्टराईले बताए । उनका अनुसार आयोगले ४४ वटा राष्ट्रिय संस्थाका सात हजार दुई सय सातजनालाई पर्यवेक्षण गर्न परिचयपत्र उपलब्ध गराइसकेको छ ।