मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ५ बुधबार
  • Wednesday, 17 April, 2024
२०७९ मङ्सिर ३ शनिबार ०९:११:००
Read Time : > 2 मिनेट
अर्थ प्रिन्ट संस्करण

घट्दै छ भारतीय बजारमा नेपाली बिजुलीको निर्यात र मूल्य

Read Time : > 2 मिनेट
२०७९ मङ्सिर ३ शनिबार ०९:११:००

उत्पादन नभएपछि पुसपछि निर्यात बन्द हुने

भारतीय बजारमा नेपाली बिजुलीले पाउने मूल्य क्रमशः घट्दै गएको छ । सुरुवाती चरणमा नेपाली बिजुली भारतीय खुला बजारमा अधिकतम मूल्यमा बिक्री भएको थियो । तर, पछिल्लो समय कम मूल्यमा बिजुली बिक्री हुन थालेको नेपाल विद्युत् प्राधिकरणबाट प्राप्त एक तथ्यांकले देखाएको हो ।

प्राधिकरणले गत जेठबाट व्यावसायिक रूपमा इन्डियन इनर्जी एक्सचेन्ज लिमिटेड (आइएक्स)को डे–अहेड बजारमा प्रतिस्पर्धी मूल्यमा बिजुली बिक्री गर्दै आएको छ । त्यसवेला प्राधिकरणले मासिक औसत प्रतियुनिट १२.१५ रुपैयाँमा बिजुली बिक्री गरेको थियो । तर, कात्तिकमा मासिक औसत प्रतियुनिट ६.६८ रुपैयाँमा नेपाली बिजुली बिक्री भइरहेको छ । हालसम्मको बिजुलीको औसत बिक्री मूल्य भने प्रतियुनिट ८.२३ रुपैयाँ देखिएको छ । प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले भारतीय बजारमा बिजुलीको मूल्य घट्दै गएको बताए । 

यद्यपि, त्यो स्वाभाविक प्रक्रिया भएको उनको भनाइ छ । ‘हामीले भारतीय खुला बजारमा प्रतिस्पर्धामार्फत बिजुली बिक्री गर्ने हो । त्यो अवस्थामा बिजुलीको मूल्य तल–माथि हुनु स्वाभाविक हो,’ उनले भने, ‘हालसम्म भारतमा औसतमा प्रतियुनिट ८.२३ रुपैयाँमा बिजुली बिक्री भएको छ । नेपालमा खपत नभएर बढी भएको बिजुलीमा त्यो मूल्य पाउनु एकदमै राम्रो पक्ष हो । ४.८० रुपैयाँमा किनेको बिजुली त्यो मूल्यमा बिक्री गर्न पाउनु राम्रो नै हो । तसर्थ, अहिले नै मूल्य घट्यो भनेर आत्तिहाल्नुपर्ने अवस्था छैन ।’ 

यद्यपि, नेपालमा बिजुलीको औसत बिक्री मूल्य प्रतियुनिट १० रुपैयाँ हाराहारी छ । त्यो अवस्थामा विद्युत् निर्यातलाई भन्दा पनि खपत बढाउनमा बढी ध्यान दिनुपर्ने सरोकारवालाहरूको भनाइ छ । विशेष गरी यातायात, भान्सालगायतका क्षेत्रमा विद्युत् खपत बढाउँदा निर्यातले भन्दा पनि बढी प्रतिफल दिने उनीहरूको भनाइ छ । 

भारतमा कोइलाबाट बिजुली उत्पादन गरिन्छ । तर, रुस–युक्रेन द्वन्द्वका कारण केही समयअघि भारतमा कोइलाको अभाव भयो । सोही कारण भारतमा विद्युत्को अभावसमेत देखिएको थियो । फलस्वरूप भारतमा बिजुलीको मूल्य अधिकतम सीमामा पुगेको थियो । त्यसवेला (जेठ–असार) नेपाली बिजुलीले भारतमा उच्च मूल्य पाएको थियो । त्यसवेला गर्मीका कारण भारतमा बिजुलीको माग पनि उच्च थियो । गर्मीमा एसी, पंखा कुलर, शीतभण्डारगृहलगायतका कारण भारतमा बिजुलीको माग बढी हुने गर्छ । तर, पछिल्लो समय भारतमा बिजुलीको उपलब्धता बढ्दै गएको छ । हिउँद सुरु भएसँगै भारतमा बिजुलीको माग पनि घट्दै गएको छ । त्यसपछि भारतीय बजारमै बिजुलीको मूल्य कम हुँदै गएको जानकारहरू बताउँछन् । 

ऊर्जा संकट कायम भएका वेला भारतमा बिजुलीको मूल्य २० भारुसम्म पुगेको थियो । जेठअघि नेपालले पनि सोही मूल्यमा भारतबाट बिजुली आयात गरेको थियो । तर, पछि भारतीय सरकारले अधिकतम १२ भारतीय रुपैयाँसम्ममा मात्रै बिजुली खरिद–बिक्री गर्न पाउने व्यवस्था गरेको थियो । त्यसपछि जेठ–असारसम्मै भारतमा सोही मूल्यमा बिजुली खरिद–बिक्री भएको थियो । तर, बिजुलीको उपलब्धता बढ्दै गएपछि भारतीय बजारमा मूल्य पनि घट्दै गएको हो । भारतीय खुला बजारमा निश्चित मूल्यमा नभएर प्रत्येक दिनलाई १५–१५ मिनेटको ९६ वटा ब्लकमा विभाजन गरी बजारबाट तय हुने मूल्यमा बिजुली बिक्री गरिन्छ, जुन मूल्य हरेक ब्लकमा फरक–फरक हुन सक्नेछ । 

१० अर्ब ३८ करोडको निर्यात
यस वर्षको पहिलो साढे पाँच महिनामा १० अर्ब ३८ करोड ९६ लाख रुपैयाँको विद्युत् भारत निर्यात भएको छ । गत जेठदेखि कात्तिक मसान्तसम्मको अवधिमा सोबराबरको बिजुली निर्यात भएको हो । यस अवधिमा एक अर्ब २६ करोड २५ लाख ३८ हजार युनिट विद्युत् भारतमा निर्यात भएको छ । प्राधिकरणले देशभित्र खपत गरी अतिरिक्त भएको वर्षायामको विद्युत् गत १९ जेठबाट भारतीय बजारमा बिक्री गर्दै आएको छ । यस अवधिमा विद्युत् बिक्रीबाट ६ अर्ब ४९ करोड ३५ लाख भारु नेपाल भित्रिएको छ । यसबाट नेपालको विदेशी मुद्रा सञ्चितिर दुई मुलुकबीचको व्यापार घाटालाई कम गर्न योगदान पुगेको प्राधिकरणका कार्यकारी निर्देशक घिसिङको भनाइ छ । 

थप २३.५ मेगावाट निर्यात अनुमति
प्राधिकरणले थप २३.५ मेगावाट बिजुली भारतमा बिक्री गर्ने अनुमति पाएको छ । केन्द्रीय विद्युत् प्राधिकरणले गत २५ कात्तिकमा २३.५ मेगावाटको सोलुखोला जलविद्युत् केन्द्रलाई स्रोत मानेर सोबराबरको बिजुली बिक्री गर्ने स्वीकृति दिएको हो । 

पुसपछि आयात गर्नुपर्ने 

स्वदेशी उत्पादन कम हुँदै गएपछि नेपालबाट भारततर्फ हुने बिजुली निर्यात पनि घट्न थालेको छ । खोलाहरूमा पानीको बहाव घट्दै गएपछि बिजुलीको उत्पादन पनि घट्दै गएको छ, फलस्वरूप बिजुलीको निर्यातसमेत घट्न थालेको प्राधिकरणको भनाइ छ ।

गत भदौमा २४ करोड ६७ लाख युनिट र असोजमा २६ करोड ६५ लाख युनिट बिजुली भारतमा निर्यात भएको थियो । तर, कात्तिकमा त्यो २० करोड ७४ लाख युनिटमा झरेको छ । गत भदौ र असोजमा भन्दा कात्तिकमा बिक्रीका लागि स्वीकृति प्राप्त आयोजना बढी थियो । कात्तिकमा २२.१ मेगावाटको चिलिमे र २३.५ मेगावाटको सोलुखोला जलविद्युत् केन्द्रको विद्युत् पनि निर्यात गर्न अनुमति पाइएको थियो । तर, उत्पादन नभएपछि क्षमताअनुसार बिजुली निर्यात गर्न नसकिएको प्राधिकरणको भनाइ छ । नेपालमा जलविद्युत् आयोजनाहरू नदी प्रवाह (आरओआर)मा आधारित छन् । त्यसअनुसार बर्सातमा पानी बढी हुँदा उत्पादन बढ्छ भने हिउँदमा पानी कम हुँदा बिजुली उत्पादन पनि स्वतः घट्छ ।  

‘दसैँ–तिहार, छठजस्ता पर्व र आमनिर्वाचनका कारण उद्योगहरू पूर्ण क्षमतामा चलेका छैनन् । फलस्वरूप उद्योगहरूले स्वीकृत लोडअनुसार बिजुली लिएका छैनन्,’ प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले भने, ‘यसरी स्वदेशी माग कम हुँदा निर्यात गर्ने विद्युत् आपूर्ति गर्न केही सहज भएको छ । अब मंसिरको अन्तिम साता वा पुसको पहिलो साताबाट बिजुली निर्यात बन्द हुने देखिन्छ । त्यसपछि बिजुली आयात नै गर्नुपर्छ ।’