मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
प्रदेश ब्यूरो सिरहा
२०७९ मङ्सिर १ बिहीबार १६:४७:००
Read Time : > 3 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

मधेसका मुख्यन्त्री राउतसहित ६ मन्त्री नै ‘रेडजोन’मा !

Read Time : > 3 मिनेट
प्रदेश ब्यूरो सिरहा
२०७९ मङ्सिर १ बिहीबार १६:४७:००

मधेस प्रदेशमा प्रत्यक्षमा ६४ र समानुपातिकमा ४३ गरी एक सय सात सदस्यीय प्रदेश सभा छ। मधेस प्रदेशमा दोहोरिन वर्तमान मन्त्रीदेखि निवर्तमान प्रदेश सभा सदस्यहरू चुनावी मैदानमा छन्। 

जसमा सबैभन्दा कठिन मधेस प्रदेशका मुख्यमन्त्रीदेखि वहालवाला मन्त्रीहरूलाई छ। सुशासनमा कमजोर साबित भएकोले जसपा नेतृत्वको सरकारप्रति चरम असन्तुष्टि देखिएको छ। जसले गर्दा यस चुनावमा असर पर्ने विश्लेषण भइरहेको छ। 

मधेस प्रदेशमा दोहोरिन खोज्दै मुख्यमन्त्री राउतसहित वहालवाला ६ जना मन्त्रीलाई चुनौती थपिएको छ। सत्तागठबन्धन र नेकपा एमाले–जसपा गठबन्धन भएर पनि उम्मेदवारी दिएका मुख्यमन्त्रीदेखि मन्त्रीलाई यसपटक जित्न कठिन छ। 

मधेस प्रदेश सरकारले अपेक्षाअनुसार राम्रो काम गर्न नसकेकाले आममतदातामा त्यसले प्रभाव पार्ने भएकोले त्यसको असर वहालवाला मन्त्रीमा पर्ने सम्भावना बढेको छ। कतैकतै वहालवाला मन्त्रीकै पार्टीबाट पनि बागी उम्मेदवारी दर्ता भएकाले पनि जटिलता थपिएको छ। 

मुख्यमन्त्री राउतलाई कांग्रेसका रामनारायणको चुनौती

पर्सा क्षेत्र नम्बर १ (ख) बाट मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउतकाे सत्तागठबन्धनबाट कांग्रेसका रामनारायण कुर्मीसँग कडा प्रतिस्पर्धा छ। 

पर्साको निर्वाचन क्षेत्र नम्बर १ (ख) बाट एमाले–जसपा गठबन्धनका तर्फबाट मुख्यमन्त्री राउत र सत्तागठबन्धनबाट कुर्मीबीच कडा टक्कर छ।

लोकतान्त्रिक समाजवादी पार्टीका केन्द्रीय सदस्य शशिकपुर मियाँ र वीरगन्ज महानगरका अध्यक्ष ओमप्रकाश सर्राफ पनि पार्टीले टिकट नदिएपछि बागी भएर स्वतन्त्र उम्मेदवार बनेका छन्। त्यस क्षेत्रबाट स्वतन्त्रसहित २० जना उम्मेदवार बनेका छन्।

०७४ को निर्वाचनमा नेपाली कांग्रेसका विजय सर्राफलाई दुई हजार नाै सय ७५ मतान्तरले पराजित गर्दै मुख्यमन्त्री राउत निर्वाचित भएका थिए । उनले नाै हजार आठ सय चार मत पाएका थिए। 

गत वैशाख ३० मा सम्पन्न भएको स्थानीय तहको निर्वाचनमा पर्सा १ को (ख) मा वडाध्यक्षले प्राप्त गरेको मतमा नेकपा एमालेले पाँच हजार पाँच सय १३ छ। 

यस्तै, जसपाले आठ हजार चार सय ३५ मत पाएको छ भने नेपाली कांग्रेसले ६ हजार चार सय ७३ मत, नेकपा माओवादी केन्द्रले नाै सय ६६ मत, लोसपाले एक हजार एक सय २५, नेकपा एसले तीन सय ८८ मत पाएको छ। स्थानीय तहको मतको आधारमा मुख्यमन्त्री राउत सेफजोनमा भए पनि ‘भ्रष्टाचार’को विषयका कारण अप्ठ्यारोमा पर्न सक्ने भएको छ। 

अर्थमन्त्री शैलेन्द्रप्रसाद साहलाई पूर्वगाउँपालिका अध्यक्ष सिंहको चुनौती

सप्तरी क्षेत्र नम्बर २ (क) मधेस प्रदेशको अर्थमन्त्री शैलेन्द्रप्रसाद साहले सप्तरी क्षेत्र नम्बर २ (क) बाट प्रदेश सभा सदस्यमा दोहोरिन उम्मेदवारी दिएका छन्। 

अर्थमन्त्री साहलाई सप्तरीको तिलाठी कोइलाडी गाउँपालिकाका पूर्वअध्यक्ष एवं जनमत पार्टीका सतिशकुमार सिंहले मुख्य चुनौती दिइरहेका छन् । नेकपा एमाले–जसपा गठबन्धनबाट साह उम्मेदवार भएका छन् भने सत्तागठबन्धनबाट लोसपाका सरोजकुमार मण्डल उम्मेदवार छन्। 

सामाजिक विकासमन्त्री नवलकिशोर साहलाई कांग्रेसका रामदेवको चुनौती

मधेस प्रदेशको सामाजिक विकासमन्त्री नवलकिशोर साहले यसपटक प्रतिनिधिसभा सदस्यमा उम्मेदवारी दर्ता गराएका छन् 

नेकपा एमाले–जसपा गठबन्धनबाट उम्मेदवार रहेका साहलाई मुख्य चुनौती कांग्रेसका जिल्ला सभापति रामदेव साहले दिँदै छन्। सत्तागठबन्धनबाट साहले उम्मेदवारी दिएका छन् भने जनमत पार्टीबाट वैज्ञानिक जयकान्त राउत (सिके राउतका दाजु)ले प्रतिनिधिसभामा सदस्यमा मुख्य चुनौती दिँदै छन्।

कृषिमन्त्री यादवलाई माओवादीका जीवछ र जनमतका सञ्जयको चुनौती

सिराहा क्षेत्र नम्बर २ (क) भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री विजयकुमार यादवलाई सत्तागठबन्धनबाट माओवादीका जीवछकुमार यादवले चुनौती दिएका छन्। 

यस क्षेत्रबाट जनमत पार्टीका सञ्जयकुमार यादव पनि बलियो उम्मेदवार रहेका छन् भने जसपाबाट पूर्वविनाविभागीयमन्त्री राजलाल यादवले स्वतन्त्र रूपमा उम्मेदवारी दिएका छन्। सिराहा क्षेत्र नम्बर २ (क)बाट उम्मेदवार रहेका मन्त्री यादवलाई आफ्नै दलबाट पनि बागी बन्दै हाम्रो नेपाल पार्टीबाट उम्मेदवारी भएपछि चुनौती थपिएको छ। 

कानुनमन्त्री यादवलाई जसपाकी रेणु र कांग्रेसका सञ्जयको चुनौती

सिराहा क्षेत्र नम्बर ३ (ख) बाट उम्मेदवार बनेका कानुन, न्याय तथा प्रदेश सभा मामिलामन्त्री प्रमोदकुमार यादवलाई जसपा र कांग्रेस उम्मेदवारले मुख्य चुनौती दिइरहेका छन्। नेकपा एकीकृत समाजवादीबाट जिल्ला अध्यक्ष रहेका मन्त्री यादवलाई जसपा प्रदेश कोषाध्यक्ष रेणु यादव नेकपा एमालेको सहयोगमा उम्मेदवार बनेकी छिन्। 

मित्रवत् प्रतिस्पर्धाको क्रममा नेपाली कांग्रेसका सञ्जयप्रकाश यादव पनि उम्मेदवार बनेपछि मन्त्री यादवलाई चुनौती थपिएको छ। यस क्षेत्रमा मन्त्री यादवलाई स्वतन्त्रबाट उम्मेदवार बनेका आफ्नै भाइ डा. प्रवीण यादवले पनि मत काटेर चुनौती दिइरहेका छन्। 
 
वनमन्त्री महतोलाई  हरिनारायण र चन्देश्वरको चुनौती

धनुषा क्षेत्र नम्बर ४ (ख) बाट प्रदेश सभाका उम्मेदवार रहेका उद्योग, पर्यटन तथा वनमन्त्री शत्रुधन महतोलाई एमाले र जसपाका उम्मेदवारले चुनौती दिएका छन्। नेकपा एकीकृत समाजवादीका नेतासमेत रहेका मन्त्री महतोलाई जनता समाजवादी पार्टीका चन्देश्वर महतो र एमालेका हरिनारायण महतोले कडा चुनौती दिएका छन्।

गृहमन्त्री साहलाई रामनरेश र विक्रमको चुनौती

महोत्तरी क्षेत्र नम्बर १ (ख) बाट उम्मेदवार रहेका मधेस प्रदेशका गृह तथा सञ्चारमन्त्री भरत साहलाई जनता समाजवादी पार्टी र जनमत पार्टीका उम्मेदवारले कडा टक्कर दिइरहेका छन्। नेकपा माओवादी नेतासमेत रहेका मन्त्री साहलाई जसपाका रामनरेश महतो र जनमत पार्टीका विक्रम साह तेलीले कडा टक्कर दिइरहेका छन्।

पूर्वमन्त्रीहरूलाई कडा टक्कर 

पूर्वमन्त्री सिंहलाई एमालेका राय र बागी प्रितमको चुनौती

सर्लाही क्षेत्र नम्बर ४ (क) बाट सत्तागठबन्धनबाट उम्मेदवार रहेका कांग्रेसका वीरेन्द्रप्रसाद सिंहलाई नेकपा एमालेका रामबाबु राय र सत्तागठबन्धनबाट बागी उम्मेदवारी दिएकी प्रितम कुमार यादवले चुनौती दिएका छन्। माओवादी नेता शिवपुजन रायका भतिजा प्रितमलाई कांग्रेस नेता डा. अमरेश सिंहकाे साथ छ।

सिंह पूर्वमहिला बालबालिका तथा खेलकुदमन्त्री हुन्। केन्द्रमा कांग्रेसले जसपाका मन्त्रीलाई बर्खास्त गरेपछि सिंह पनि प्रदेश मन्त्रीबाट बर्खास्तीमा परेका थिए। 

पूर्वमन्त्री यादवलाई जितेन्द्रको टक्कर

धनुषा क्षेत्र नम्बर ३ (क) बाट उम्मेदवार रहेको पूर्वभौतिक पूर्वाधारमन्त्री रामसरोज यादवलाई जसपाले कडा टक्कर दिएकाे छ। कांग्रेस नेता यादवलाई जसपाका जितेन्द्रकुमार यादवले टक्कर दिएका छन्।

पूर्वमन्त्री सोनारलाई आत्मरामको टक्कर

बारा क्षेत्र नम्बर ४(ख)बाट उम्मेदवार बनेका पूर्वभाैतिक पूर्वाधारमन्त्री जितेन्दप्रसाद सोनारलाई जसपा उम्मेदवारले टक्कर दिइरहेका छन्। सत्तागठबन्धनको साथ रहेका पूर्वमन्त्री सोनारलाई जनता समाजवादी पार्टीका आत्मरामप्रसाद साहले कडा टक्कर दिइरहेका छन्।