१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
२०७९ मङ्सिर १ बिहीबार १२:३८:००
Read Time : > 2 मिनेट
समाचार डिजिटल संस्करण

नवलपुर २ : चुनावी मैदानमा पुरानै अनुहार मुख्य प्रतिस्पर्धी

Read Time : > 2 मिनेट
२०७९ मङ्सिर १ बिहीबार १२:३८:००

प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनको मिति नजिकिँदै गर्दा नवलपुरको निर्वाचन क्षेत्र नम्बर १ मा पनि चुनावी माहोल तातेको छ। कांग्रेस र माओवादी केन्द्रसहितको पाँचदलीय गठबन्धन, नेकपा एमाले, राप्रपा, राष्ट्रिय जनमुक्ति पार्टी, राष्ट्रिय स्वतन्त्र पार्टी, नेपाली कांग्रेस बिपी, हाम्रो नेपाली पार्टीलगायतका ठूला–साना पार्टी चुनावी मैदानमा छन्।

नवलपुर २ बाट दोस्रोपटक जित निकाल्ने दाउका साथ एमालेका तिलक महत चुनावी दौडमा छन्। अघिल्लोपटकको हारको बदला लिन कांग्रेसका विष्णुकुमार कार्की महतलाई चुनौती दिँदै पुनः मैदानमा उत्रिएका छन्। यहाँ प्रदेश सभा सदस्यका लागि नवलपुर २ (क)बाट एमालेबाट पद्मा जिसी श्रेष्ठ र गठबन्धनबाट माओवादी केन्द्रका सोम श्रीपाली मुख्य प्रतिस्पर्धामा छन्। त्यसैगरी नवलपुर २ (ख)बाट एमालेका लक्ष्मणप्रसाद पाण्डे र गठबन्धनबाट एकीकृत समाजवादीका डा. गोपाल खनालबीच कडा प्रतिस्पर्धा हुने देखिएको छ।

नवलपुर २ मा ०७४ को निर्वाचनमा प्रतिनिधिसभातर्फ एमालेका तिलक महत विजयी भएका थिए। कांग्रेसका विष्णुकुमार कार्कीलाई एक हजार तीन सय ३३ मतान्तरले पराजित गर्दै वाम गठबन्धनबाट उम्मेदवार भएका महतले जित निकालेका थिए। प्रदेश सभातर्फ २ (क)मा कांग्रेसका विष्णु लामिछाने र २ (ख)मा एमालेका जनकलाल श्रेष्ठले जित हात पारेका थिए। प्रतिनिधिसभा सदस्यका लागि ठूला दलले पुरानै अनुहारलाई चुनावी मैदानमा उतारेका छन् भने प्रदेश सभामा भने नयाँ अनुहारलाई अघि सारेका छन्।

अघिल्लो निर्वाचनमा वाम गठबन्धनका कारण एमाले विजयी भए पनि यसपटक गठबन्धनको समीकरण फेरिएको छ। यो क्षेत्रमा एमाले एक्लै चुनावी दौडमा रहेकाले पनि पाँचदलीय गठबन्धनको साथले सहज जित निकाल्ने कांग्रेसको आकलन छ। कांग्रेसका उम्मेदवार विष्णु कार्कीले भने, ‘अघिल्लोपटक म झिनो मतान्तरले पराजित भएको हो। अहिले एमाले फुटेको छ, माओवादी केन्द्र पनि उक्त गठबन्धनमा छैन। माओवादी केन्द्र र एकीकृत समाजवादीका साथै गठबन्धनका अन्य दलहरुको मतले गर्दा मेरो जित सहज देखेको छु।’

नवलपुरमा एमालेले राप्रपासँग तालमेल गर्न खोजे पनि अन्तिम समयमा आएर तालमेल हुन सकेन। एमाले नवलपरासी पूर्वमा एक्लै निर्वाचनमा उत्रिएको छ। तथापि दोस्रो जित निकाल्ने गरी महत र एमालेका नेता कार्यकर्ता जोडतोडका साथ लागेका छन्। महत भन्छन्, ‘पूर्व–पश्चिम राजमार्ग स्तरोन्नति, नमुना सदरमुकाम, कालीगण्डकी करिडोरलगायतका योजना मेरै पालामा पारेको र यी योजनालाई पूरा गराउन यसपटक पनि मतदाताले मलाई जिताउनेमा म ढुक्क छु।’

एमाले पार्टी संगठन नै ठूलो भएकाले पनि आफ्नो जित निश्चित भएको महतको दाबी छ। गत स्थानीय तहको निर्वाचनको मतपरिणाम हेर्दा पनि जिल्लाको क्षेत्र नम्बर २ मा रोचक प्रतिस्पर्धा हुने देखिन्छ। यो क्षेत्रका कुल ४० वटा वडामध्ये स्थानीय तहको निर्वाचनमा एमालेले २२ वटा वडा जितेको थियो। कांग्रेस १६ वटा वडामा विजयी हुँदा राप्रपा र माओवादीले एक–एक वडा जितेका छन्।

यस्तै, यस निर्वाचन क्षेत्रमा पर्ने पाँच स्थानीय तहमध्ये चारवटा पालिका एमालेले जितेको छ भने कांग्रेसले एउटा पालिका जितेको छ। गत स्थानीय निर्वाचनमा ४० वटा वडामा वडाध्यक्षका उम्मेदवारहरूले प्राप्त गरेको मत परिणामलाई हेर्दा एमालेले ४२ हजार पाँच सय र कांग्रेसले ३८ हजार पाँच सय ८७ मत पाएको देखिन्छ। माओवादी केन्द्रले एक हजार सात सय ४२ मत पाउँदा एकीकृत समाजवादीले एक सय ६२ मत मात्र पाएको थियो।

यसरी स्थानीय तह निर्वाचनमा वडाध्यक्षका उम्मेदवारको मतलाई जोड्दा पाँचदलीय गठबन्धमा रहेका दलले ४० हजार चार सय ९१ हुन्छ छ भने एमालेका वडाध्यक्षले ४२ हजार पाँच सय मत पाएको देखिन्छ। स्थानीय तहको निर्वाचनमा प्रमुखले प्राप्त गरेको मतका आधारमा एमालेका पाँच पालिका प्रमुखले कुल ४१ हजार सात सय १९ मत प्राप्त गरेका छन् भने कांग्रेस र एकीकृत समाजवादीले ४१ हजार पाँच सय ४४ मत प्राप्त गरेका छन्।

प्रतिनिधिसभा निर्वाचनतर्फ नवलपुर क्षेत्र नम्बर २ मा ५६ मतदानस्थल र एक सय ४९ मतदान केन्द्रबाट एक लाख २९ हजार दुई सय ८० जनाले मतदान गर्न पाउनेछन्। यहाँ पुरुष मतदाता ६१ हजार सात सय ४०, महिला ६७ हजार पाँच सय ३७ र अन्य मतदाता तीनजना छन्।

०७४ को निर्वाचनको मत परिणाम, स्थानीय तहको निर्वाचनमा गठबन्धनका उम्मेदवारहरुले पाएको मत परिणाम सबैमा एमालेभन्दा केही मत अन्तरले पछाडि देखिएका कार्कीलाई यसपटक चुनाव जित्नै निकै दौडधुप गर्नुपर्ने देखिन्छ।

यता नेकपा एमालेका तिलक महत ०७४ निर्वाचनको मत परिणाममा होस् या स्थानीय तहको निर्वाचनमा वडाध्यक्ष वा पालिका प्रमुखहरूले पाएको मतमा अगाडि देखिए पनि स्थानीय तहकै मतलाई आधार मानेर जित निश्चित छ मान्न सकिने अवस्था नरहेको बताउँछन्।

यहाँ राप्रपाका विष्णु अधिकारी, नेपाली जनता पार्टीका जगन्नाथ पोख्रेल, राष्ट्रिय स्वतन्त्र पार्टीका शालिकराम न्यौपानेलगायत नयाँ पार्टीका उम्मेदवार र स्वतन्त्र उम्मेदवार टाउको दुखाइको विषय बन्ने देखिन्छ। उनीहरूले ठूला दलको मत काट्ने भएकाले निर्वाचनको अंकगणितीय मतलाई प्रभाव पार्नेछ। जसले गर्दा पनि कसले जित्छ सजिलै भन्न सकिने अवस्था छैन।