मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
२०७९ कार्तिक ३० बुधबार २०:२३:००
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

राप्तीपीडितलाई छैन पुरानाकाे भर

समस्या समाधान गर्नेलाई हाम्रो भोट  

Read Time : > 1 मिनेट
२०७९ कार्तिक ३० बुधबार २०:२३:००

बाँके निर्वाचन क्षेत्र नं. १ अन्तर्गत राप्ती नदी आसपासका नागरिक बाढीपीडितको समस्या समाधान गर्ने उम्मेदवारलाई भोट दिने निष्कर्षमा पुगेका छन्। 

जनताबाट अनुमोदित जनप्रतिनिधिले राप्ती नदीपीडितको समस्या समाधान नगरेको भन्दै आसपासका जनताले समस्या समाधान गर्न सक्ने उम्मेदवारलाई भोट दिने बताएका हुन्। 

हरेकपटकको निर्वाचनमा उम्मेदवारले राप्ती नदी समस्या समाधान गर्ने प्रतिबद्धता जनाए पनि हरेक वर्ष समस्या थपिँदै गएकोले अब दीर्घकालीन रूपमा समस्या समाधान गर्न सक्ने उम्मेदवारलाई भोट दिने निष्कर्षमा पुगेको राप्तीसोनारी गाउँपालिका २ का जेष्ठ नागरिक रामचरण चौधरीले बताए। 

उनले नदीपीडितको मत पाएर जितेका नेताहरू फर्केर नआउँदा समस्या ज्युँकात्युँ रहेको बताए। ‘चुनावको वेला नेताहरू घरआँगनमा आउँछन्। मीठामीठा सपना बाँड्छन्। नदी समस्या समाधान गर्ने आश्वासन दिन्छन्, जितेर गएपछि राप्ती नदी समस्या समाधान गर्न योजना ल्याउने परको कुरा अनुहारसमेत देखाउँदैनन्,’ उनले भने, ‘पुरानाले जनताको भावनाको कदर नगरेकोले अब समस्या समाधान गर्ने नयाँ अनुहार चयन गर्ने पक्षमा छौँ।’

राप्तीसोनारी गाउँपालिका ७ का दुर्गाप्रसाद पाण्डेले पनि राप्ती नदी समस्या समाधान गर्ने उम्मेदवारको खोजीमा रहेको बताए। उनले राप्ती नदीमा आएको बाढीले आसपासका क्षेत्रमा वर्षेनी क्षति पुर्याउने गरेकोले समस्या समाधान गर्ने उम्मेदवारलाई मतदान गर्ने स्पष्ट पारे। 

‘समस्या समाधान गर्ने वाचा-कसम खाएका कसैले पनि समस्या समाधानतर्फ अग्रसरता देखाएनन्। अब हाम्रो पीडा बुझ्ने उम्मेदवारलाई भोट दिन्छौँ,’ पाण्डेले भने। 

उनले राप्ती नदीले क्षति पुर्याएका सर्वसाधारणले क्षतिपूर्तिसमेत नपाएको बताउँदै उचित बसोबासको मागसमेत गरे। राप्तीपीडित फत्तेपुरवासी सामुदायिक वनको खाली जमिनमा आश्रय लिएर बसेको उनले गुनासो गरे। ‘नदी नियन्त्रणका लागि योजना बनाउने र पीडितलाई बसोबासको व्यवस्था गर्ने उम्मेदवार अहिलेको आवश्यकता हो,’ उनले भने। 

राप्ती नदीले आसपासका हजारौँ बिघा जमिन बगरमा परिणत गर्नुका साथै सयौँ परिवार विस्थापित भएका छन्। ‘हाम्रो माग सम्बोधन गर्लान् भनेर भोट दियौँ तर सधैँ बेवास्ता गरे। अब हाम्रो व्यवस्था बुझ्ने उम्मेदवारलाई जिताउनेछौँ,’ पाण्डेले भने। 

यो क्षेत्रमा एमालेका सूर्य ढकाल, माओवादी केन्द्रका महेश्वरजंग गहतराज, नागरिक उन्मुक्ति पार्टीका सुरेशकुमार चौधरी, जनता समाजवादी पार्टीका रामकुमार यादव, लोकतान्त्रिक समाजवादी पार्टीका रामचरण चौधरीलगायत उम्मेदवार छन्। यीमध्ये एमालेका ढकाल, उन्मुक्ति पार्टीका चौधरी, जसपाका यादव, लोसपाका चौधरी पहिलोपटक चुनाव लड्दै छन्। 

माओवादी केन्द्रका गहतराज यसअघि यही क्षेत्रबाट निर्वाचित भई अहिले युवा तथा खेलकुदमन्त्री छन्। गहतराजलाई ढकालको पार्टी एमालेले अघिल्लो निर्वाचनमा सहयोग गरेको थियो।