मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
२०७५ चैत १७ आइतबार ०७:३५:००
Read Time : > 1 मिनेट
मुख्य समाचार

प्रदेश २ एसइई प्रश्नपत्र आउट प्रकरण : सिआइबीले थाल्यो अनुसन्धान

Read Time : > 1 मिनेट
२०७५ चैत १७ आइतबार ०७:३५:००

प्रदेश २ मा परीक्षाअगावै एसइईको प्रश्नपत्र आउट भएको विषयमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले अनुसन्धान सुरु गरेको छ । डिएसपी नेतृत्वको चार सदस्यीय टोलीले शनिबारदेखि सप्तरीबाट अनुसन्धान थालेको हो ।

बुधबार भएको विज्ञान विषयको प्रश्नपत्र सप्तरीबाट बाहिरिएको आशंकामा सिआइबीको टोली जिल्लामा केन्द्रित भएको छ । प्रश्नपत्र सामाजिक सञ्जालमार्फत बाहिरिएकाले प्राविधिक रूपमा आइटी विशेषज्ञको सहयोगमा टोलीले काम गरिरहेको एसपी राजेन्द्र विष्टले जानकारी दिए ।

एउटै प्रदेशमा लगातार प्रश्नपत्र आउट भएपछि त्यसअघिका विषयको पनि प्रश्नपत्र आउट भएको हुन सक्ने आशंका छ । तथ्य पत्ता लगाउन सिआइबीबाहेक परीक्षा नियन्त्रण कार्यालय र प्रदेश सरकारको छुट्टाछुट्टै छानबिन समितिले काम सुरु गरेको छ ।

परीक्षा नियन्त्रण कार्यालयले बोर्ड सदस्य अमोदा श्रेष्ठको संयोजकत्वमा चार सदस्यीय र प्रदेश सरकारले प्रदेश २ का शिक्षा निर्देशक रमाकान्त शर्माको नेतृत्वमा तीन सदस्यीय छानबिन समिति गठन गरेको थियो । शिक्षा मन्त्रालयको निर्देशनमा राष्ट्रिय परीक्षा बोर्डले प्रदेश २ मा शनिबारदेखिका सबै विषयको परीक्षा स्थगित गरेको छ । १४ चैतअघि लिइएका अंग्रेजी, नेपाली र गणित विषयका परीक्षा भने रद्द गरिएको छैन । प्रदेश २ मा २ सय ६२ परीक्षा केन्द्रमार्फत ७० हजार ५ सय ६८ विद्यार्थी सहभागी भएका थिए ।

परीक्षा अमर्यादित बनाउने १४ जनालाई मुद्दा
परीक्षालाई मर्यादित बनाउन नसकेको आरोपमा पक्राउ परेका मावि वनरझुल्ला केन्द्रका केन्द्राध्यक्ष, सहायक केन्द्राध्यक्ष र ६ जना निरीक्षकसहित १४ जनाविरुद्ध प्रहरीले मुद्दा चलाएको छ । परीक्षा समितिको निर्णयअनुसार शिक्षा ऐनअन्तर्गत उनीहरूलाई मुद्दा चलाइएको एसपी राजेन्द्र विष्टले बताए । केन्द्राध्यक्ष रामअवतार गुप्ता, सहायक केन्द्राध्यक्ष देवनारायण मण्डल, निरीक्षकहरू मनोजकुमार चौधरी, रामसुन्दर चौधरी, लगेन्द्रप्रसाद चौधरी र रामानन्द चौधरीसहित आठजनालाई प्रहरीले गत बुधबार पक्राउ गरेको थियो । मोबाइलबाट चिट चोराउन मद्दत गर्ने अन्य ६ जनालाई पनि मुद्दा चलाइएको विष्टले बताए ।

एसइईको कुनै पनि प्रश्नपत्र सप्तरीबाट आउट नभएको प्रमुख जिल्ला अधिकारी तथा परीक्षा समितिका संयोजक सुरेन्द्र पौडेलले बताए । विज्ञान विषयको प्रश्नपत्र सप्तरीबाट आउट भएको हल्लापछि जिल्ला परीक्षा समन्वय समितिले शनिबार पत्रकार सम्मेलन गरी त्यसलाई अस्वीकार गरेको छ । ‘विज्ञान विषयको प्रश्न परीक्षाभन्दा पहिला नै आउट भएको जानकारी पाउनासाथ हामीले प्रहरी खटाएर पोका चेक गर्यौँ,’ उनले भने, ‘सबै युनिटमा पोका सुरक्षित र दुरुस्त थिए ।’

परीक्षा केन्द्रमा पुग्दा प्रश्न नम्बरसहित हुबहु मिलाएर घरबाटै ल्याइएको चिट भेटिएको र सम्भावित अप्ठ्यारोलाई मध्यनजर गरी परीक्षा रद्द गर्न सिफारिस गरिएको पौडेलले बताए । सामाजिक विषयको प्रश्नपत्र बिहीबार राति नै बाहिरिएको हल्ला चलेपछि शुक्रबार बिहानै पनि प्रश्नपत्रका पोका पुनः चेकजाँच गरिएको उनले बताए । ‘प्रश्नपत्र रुजु गरेर मात्रै केन्द्राध्यक्षलाई बुझाइएको हो,’ पौडेलले भने, ‘बुझाउँदा पनि केन्द्राध्यक्षहरूको रोहवरमा भिडियो खिचेर मुचुल्का उठाइएको छ ।’

शिक्षामन्त्रीको राजीनामा माग गर्दै प्रदर्शन

एसइई स्थगित भएको विरोधमा प्रदेश २ का आठै जिल्लामा विद्यार्थीको विरोध प्रदर्शन जारी छ । धनुषा, महोत्तरी, सप्तरी, बारा, पर्सामा विद्यार्थीहरूले शिक्षामन्त्री गिरिराजमणि पोखरेलको राजीनामा माग गर्दै प्रदर्शन गरेका छन् । शनिबार बिहानैदेखि जनकपुरको भानुचोकमा परीक्षार्थीहरूले शिक्षामन्त्रीविरुद्ध नाराबाजी गर्दै टायर बालेर विरोध प्रदर्शन गरेका छन् । उनीहरूले धनुषाको क्षीरेश्वरनाथ नगरपालिकास्थित जनकपुर–ढल्केवर सडक खण्डसमेत अवरुद्ध गरेका थिए ।