मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
२०७९ कार्तिक ३० बुधबार ०७:१२:००
Read Time : > 1 मिनेट
विश्व प्रिन्ट संस्करण

जी २० सम्मेलन : युक्रेन मुख्य मुद्दा

Read Time : > 1 मिनेट
२०७९ कार्तिक ३० बुधबार ०७:१२:००

 विश्वका ठूला औद्योगिक देशहरूको समूह जी २० का नेताहरूको १७औँ शिखर सम्मेलन इन्डोनेसियाको राजधानी बालीमा सुरु भएको छ । हिजोबाट सुरु भएको यो सम्मेलनको मुख्य मुद्दा युक्रेन बनेको छ । जी २० का अधिकांश सदस्यहरूले युक्रेनमाथि रुसी हमलाको विरोध गरेका छन् । युक्रेनी राष्ट्रपति भ्लोदोमिर जेलेनेस्कीले भिडियो सम्बोधन गर्दै जी २० समक्ष १० बुँदे शान्ति प्रस्ताव अघि सारेका छन । 

रोयटर्सका अनुसार जी २० घोषणाको मस्यौदामा अधिकांश देशले युक्रेन आक्रमणको ‘कडा निन्दा’ गरेका छन् । युक्रेन युद्धले विश्वव्यापी अर्थतन्त्रलाई कमजोर बनाएको पनि मस्यौदामा उल्लेख छ । ‘युद्धले निकै ठूलो मानवीय पीडा निम्त्याउँदै छ । यसले विश्वव्यापी अर्थतन्त्रमा विद्यमान कमजोरीलाई चर्काइरहेको छ,’ घोषणापत्रलाई उद्धृत गर्दै रोयटर्सले लेखेको छ ।

बेलायतका प्रधानमन्त्री ऋषि सुनकले युक्रेनमा रुसको ‘पाशविक’ हमलाको निन्दा गरेका छन् । रुस युक्रेनबाट पछि हट्नुपर्ने सुनकको भनाइ थियो । विभिन्न देशले आलोचना गरिरहँदा रुसी विदेशमन्त्री सर्गेई लाभरोभले भने जी२० सम्मेलन सुरक्षाका विषय छलफल गर्ने मञ्च नभएको भन्दै बैठकले विश्वका आर्थिक चुनौतीलाई प्राथमिकता दिनुपर्ने विचार राखेका थिए ।

सम्मेलनका क्रममा विभिन्न देशका नेताबीच द्विपक्षीय तथा बहुपक्षीय भेटवार्ता भएका छन् । अमेरिकी राष्ट्रपति जोन बाइडेन र चीनका राष्ट्रपति सी जिनपिङबीच साइडलाइन वार्ता भएको छ । यी दुई नेताले सन् २०१७ पछि पहिलोपटक आमनेसामने भएर वार्ता गरेका हुन् । तीन घन्टा लामो चलेको उनीहरूको वार्तामा उत्तर कोरिया, ताइवान र कोरियालगायत सुरक्षाजस्ता समसामयिक विषयमा छलफल भएको बताइएको छ ।

सम्मेलनको साइडलाइनमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पनि अमेरिकी राष्ट्रपति जो बाइडेन र फ्रान्सेली राष्ट्रपति इम्यानुअल म्याक्राँेसँग भेट गरे । सो अवसरमा मोदीले युक्रेन युद्ध अन्त्यका लागि जोड दिएका थिए । ‘बितेको शताब्दीमा दोस्रो विश्वयुद्धले संसारमा उथलपुथल ल्यायो । त्यसपछि शान्तिको मार्गमा आउन तत्कालीन नेताहरूले एउटा गम्भीर प्रयन्त गरेका थिए । अब हाम्रो पालो आएको छ,’ मोदीले भने । भारत जी२० को अध्यक्षता लिने तयारीमा छ ।

के हो जी २० ?
जी २० अथवा ग्रुप अफ  ट्वान्टी विभिन्न ठूला देशहरूको एउटा क्लब हो, जसले विश्व अर्थतन्त्रका योजनाबारे छलफल गर्न बैठक राख्छ । जी २० सदस्यहरूको विश्वको जिडिपीमा ८५ प्रतिशत र विश्व व्यापारमा ७५ प्रतिशत हिस्सेदारी छ । यस्तै, विश्वव्यापी जनसंख्याको दुईतिहाइ जनसंख्या जी २० अन्तर्गतका देशमा बस्छन् । युरोपेली युनियन र अन्य १९ देश जी २० का सदस्य छन् । अर्जेन्टिना, अस्ट्रेलिया, ब्राजिल, क्यानडा, चीन, फ्रान्स, जर्मनी, भारत, इन्डोनेसिया, इटाली, जापान, मेक्सिको, रुस, साउदी अरेबिया, दक्षिण अफ्रिका, दक्षिण कोरिया, टर्की, बेलायत र अमेरिका यसका सदस्य हुन् । स्पेनलाई सधैँ अतिथिको रूपमा बोलाइने गरिएको छ । सन् १९९९ को सेप्टेम्बरमा स्थापना गरिएको यो समूहको पहिलो बैठक सन् २००८ मा आयोजना गरिएको थियो ।

के विषयमा  छलफल हुन्छ ?
जी २० नेताहरूले अर्थतन्त्रदेखि जलवायु परिवर्तन, दिगो ऊर्जा, अन्तर्राष्ट्रिय ऋण माफी तथा बहुराष्ट्रिय कर्पोरेसनहरूलाई कर लगाउनेसम्मका अजेन्डामा छलफल गर्नेछन् । जी २० को अध्यक्षता हरेक वर्ष फरक मुलुकले लिने र बैठकका एजेन्डा तय गर्ने गर्छ ।
–एजेन्सी